काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आज देशका हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ। देशका बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
त्यस्तै, रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी हिमाली भू-भागमा पनि आंशिक बदली हुने र अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
रातिको समयमा कोशी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
यसैगरी, तराईका भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हल्का हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।
