काठमाडौं। बाँकेको कोहलपुर नगरपालिकाले अब आफ्नै कार्यालयबाट स्थायी लेखा नम्बर (प्यान) दर्ता सेवा सुरु गरेको छ।
यसअघि प्यान दर्ताका लागि व्यवसायीहरू नेपालगञ्जस्थित आन्तरिक राजस्व कार्यालय पुग्नुपर्ने बाध्यता थियो।
कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यका अनुसार स्थानीय व्यवसायीलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले यो व्यवस्था मिलाइएको हो।
सेवा सञ्चालनका लागि कोहलपुर नगरपालिका, कोहलपुर उद्योग वाणिज्य सङ्घ र आन्तरिक राजस्व कार्यालय नेपालगञ्जबीच त्रिपक्षीय सम्झौता भएको छ। सम्झौतापत्रमा तीनवटै संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा हस्ताक्षर भएको नगरप्रमुख आचार्यले जानकारी दिए।
नयाँ व्यवस्थाले स्थानीय व्यवसायीहरूको समय र खर्च बचत हुने विश्वास लिइएको छ। कोहलपुर उद्योग वाणिज्य सङ्घले पनि स्थानीय तहमै सेवा उपलब्ध भएपछि प्यान दर्ता प्रक्रिया थप सरल र सहज हुने जनाएको छ।
