धनकुटा। धनकुटाका खेतबारी यतिबेला सयपत्री फूलले ढकमक्क ढाकिएका छन्। पहेँलपुर र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि निकै बढाएका छन्। तिहार नजिकिएसँगै यतिबेला फूल किसानहरू फूल टिप्ने, माला बनाउने र उत्पादित फूललाई बजारसम्म पुर्याउने चटारोमा व्यस्त छन्।
नेपाली समाजमा तिहार भन्नेबित्तिकै फूल, माला, दियो र देउसीभैलोको चाड भनेर बुझिन्छ। घरका झ्यालढोका सजाउनदेखि दाजुभाइको गलामा लगाइदिने भाइटिकाको मालासम्म फूलकै अथाह महत्व हुन्छ।
बजारको यही मागलाई ठूलो अवसरमा बदल्दै धनकुटाका किसानहरू पछिल्लो समय व्यावसायिक फूल खेतीतर्फ आकर्षित हुँदै आएका छन् र यस वर्ष पनि खेती गरेका छन्।
छथर जोरपाटी गाउँपालिका-६ मजुवाका किसान खगेन्द्र पौडेलका लागि त यतिबेला आफ्नै खेतबारी व्यस्तताको मुख्य केन्द्र बनेको छ । उनले सञ्चालन गर्दै आएको ‘श्री पौडेल कृषि फर्म’ मा १० रोपनी जमिनमा लगाइएको सयपत्री फूल अहिले बिक्रिका लागि तयार भएको छ र धमाधम फूल टिप्ने काम भइरहेको छ।
करिब तीन महिनाअघि रोपेका बिरुवाहरू अहिले सुन्दर फूलले भरिएका छन् । ढकमक्क फुलेका फूल टिप्ने र ग्राहकको मागअनुसार विभिन्न बजारमा पठाउने कामले यतिबेला उनलाई भ्याइनभ्याइ भएको छ ।
उनले आफ्नो फर्ममा उत्पादित फूल स्थानीय बजारदेखि धनकुटा सदरमुकाम, धरान, विराटनगर, बुटवलदेखि संघीय राजधानी काठमाडौँसम्म पठाइरहनुभएको छ। जिल्लाभित्र र बाहिरबाट आएको अत्यधिक मागअनुसार फूल पुर्याउनसमेत कतिपय अवस्थामा कठिन भइरहेको पौडेलले बताए।
यस वर्ष आफ्नो फर्मबाट करिब १० टन फूल उत्पादन गर्ने लक्ष्य रहेको उनले जनाए। अहिले बजारमा फूल प्रतिकिलो तीन सयदेखि चार सय रुपैयाँसम्ममा बिक्री भइरहेको पौडेलले जानकारी दिए। उनले कतिपय ठाउँमा किलोग्रामको हिसाबले र कतिपय ठाउँमा मुठाका आधारमा फूल बिक्री गर्दै आएको बताए।
विशेषगरी तिहारलाई नै लक्षित गरेर फूल खेती गर्दा बजारको माग निकै राम्रो हुने भए पनि उत्पादन प्रक्रियामा भने विभिन्न चुनौतीहरू रहेको किसानहरूको अनुभव छ।
तिहार आउन करिब १०० दिनअघि रोप्नुपर्ने फूलमा लेकाली क्षेत्रमा ढुसी लाग्ने र पातमा छिर्का बस्ने जस्ता समस्या देखिने गरेको पौडेलले आफ्नो अनुभव सुनाए । यस्ता विभिन्न प्राविधिक समस्याका बाबजुद पनि यस वर्ष बजारमा फूलको माग र मूल्य दुवै बढेकाले आफू उत्साहित भएको उनले बताए।
त्यस्तै, धनकुटा नगरपालिका-७ का अर्का किसान प्रविण पोख्रेल पनि यस वर्ष फूल खेतीबाट राम्रो आम्दानी गर्ने आशामा रहेका छन्। एक रोपनी जमिनमा लगाएको फूल खेतीबाट यस वर्ष करिब दुई लाख रुपैयाँसम्म आम्दानी गर्ने आफ्नो लक्ष्य रहेको उनले सुनाए।
विगतका वर्षहरूमा भारतीय फूलको अनियन्त्रित आयात र बजारमा पाइने कृत्रिम मालाका कारण नेपाली किसानले स्वदेशी बजारमै प्रतिस्पर्धा गर्न निकै कठिन भएको पोख्रेलले दुखेसो पोखे।
स्वदेशी किसानको उत्पादनले उचित बजार र मूल्य पाउनका लागि सरकारले भारतीय फूल र कृत्रिम फूलको अनियन्त्रित आयात तथा प्रयोगलाई कडाइका साथ नियन्त्रण गर्नुपर्ने माग उनले गरे।
पोख्रेलले गत वर्ष भारतीय फूल नआउँदा किसानले उत्पादन गरेको फूल सहज रुपमा बिक्री भएको स्मरण गराउँदै यो वर्ष पनि सरकारले सोही अनुसार काम गरिदिए किसानलाई सहज हुने बताए।
उनले अचम्मको कुरा, बिचौलियाहरू गाउँमै फूल किन्ने गरि आएको भएपनि आफू भने सिधै उपभोक्तालाई बिक्री गर्ने तयारीमा रहेको र त्यसका लागि समन्वय गरिरहेको जनाए।
गाउँको बारीदेखि सहरको बजारसम्म धनकुटाको फूल
धनकुटामा उत्पादित सुगन्धित फूल अहिले स्थानीय बजारमा मात्र सीमित छैन। यो छिमेकी जिल्लाहरूसँगै तराईका विभिन्न ठूला सहर हुँदै काठमाडौं र बुटवलजस्ता टाढाका सहरसम्म पुग्ने गरेको छ। यसले फूल खेतीलाई बिस्तारै धनकुटाका किसानको मुख्य आयआर्जनको माध्यम बनाउँदै लगेको छ।
कृषि ज्ञान केन्द्र धनकुटाको तथ्यांकअनुसार जिल्लामा हाल कम्तीमा ५१ रोपनी क्षेत्रफलमा व्यावसायिक फूल खेती भइरहेको छ । यस वर्ष जिल्लाभर करिब छ मेट्रिक टन फूल उत्पादन हुने प्रारम्भिक अनुमान गरिएको ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लाका किसानले न्यूनतम ५० हजार रुपैयाँदेखि ३५ लाख रुपैयाँसम्मको फूल उत्पादन गरी बिक्री गर्दै आएका छन् । ज्ञान केन्द्रमा फूल किसानलाई नै लक्षित गरी छुट्टै विशेष कार्यक्रम नभए पनि आवश्यक प्राविधिक सहयोग र सल्लाह भने उपलब्ध गराउँदै आएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख गोविन्दप्रसाद आचार्यले बताए।
फूल खेतीप्रति किसानको बढ्दो आकर्षण र उत्साह देखिनु यस क्षेत्रको कृषिका लागि सकारात्मक पक्ष भएको उनको भनाइ छ । आचार्यका अनुसार ज्ञान केन्द्रको आधिकारिक तथ्यांकभन्दा पनि बढी मात्रामा धनकुटामा फूल उत्पादन हुने र बाहिर जाने अनुमान रहेको छ।
कृत्रिम मालाको मोहले स्वदेशी किसानलाई चुनौती
पछिल्लो समय धनकुटामा व्यावसायिक फूल खेती विस्तार हुँदै गए पनि नेपाली किसानले बजारमा अझै पनि विभिन्न चुनौतीहरूको सामना गर्नुपरेको छ ।
विशेषगरी, सिमानाकाबाट भारतीय फूलको अवैध वा अनियन्त्रित आयात र बजारमा जताततै पाइने कृत्रिम मालाको बढ्दो प्रयोगले स्थानीय उत्पादनको बिक्री र मूल्यमा प्रत्यक्ष असर पार्ने गरेको किसानको साझा गुनासो छ ।
अहिले तिहारमा मात्र होइन, अन्य साना-ठूला चाडपर्व, विवाह, पूजाआजा तथा विभिन्न मेला महोत्सवमा समेत प्लास्टिकका कृत्रिम मालाको प्रयोग डरलाग्दो गरी बढ्दै गएको छ। हेर्दा आकर्षक देखिने, सस्तो र लामो समय टिक्ने भएकाले कृत्रिम मालाप्रति सामान्य उपभोक्ताको आकर्षण बढेको देखिन्छ।
तर, यसको विकल्पका रुपमा स्थानीयस्तरमै उत्पादन भएका प्राकृतिक र सुगन्धित फूलको प्रयोग बढाउनसके किसानको आम्दानी बढ्नुका साथै स्थानीय उत्पादनले उचित बजार पाउने किसान खगेन्द्र पौडेलले बताए ।
प्राकृतिक फूलको प्रयोगले गाउँको कृषि उत्पादनलाई सिधै प्रोत्साहन गर्नुका साथै स्थानीय अर्थतन्त्रमा समेत ठूलो योगदान पुर्याउने सरोकारवालाको भनाइ छ। वातावरणीय दृष्टिले पनि प्लास्टिकका कृत्रिम मालाको प्रयोग घटाउँदै प्राकृतिक फूललाई प्राथमिकता दिनु आजको आवश्यकता रहेको किसान प्रविण पोख्रेलले बताए। रासस
