काठमाडौं। स्पेनमा बढ्दो घरभाडा र आवासको मूल्यको विरोधमा बुधबार देशव्यापी आमहडताल भएको छ।
सन् २०१२ पछि पहिलोपटक आयोजना गरिएको यस हडतालमा करिब ४० लाख श्रमिक सहभागी भएको श्रमिक सङ्गठनहरूले जनाएका छन्।
स्पेनका दुई ठूला श्रमिक सङ्गठन यूजीटी र सीसीओओको समर्थनमा सुरु भएको यो प्रदर्शनमा भाडावाल सङ्घहरू पनि सहभागी भएका छन्।
प्रदर्शनकारीहरूले घरभाडामा भएको अस्वाभाविक वृद्धि, घरबाट निकालिने समस्या र सर्वसाधारणको आवासमा पहुँचको अवस्था अन्त्य गर्न माग गरेका छन्।
राजधानी म्याड्रिड र बार्सिलोनाका विभिन्न क्षेत्रमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए। म्याड्रिडको ग्रान भिया क्षेत्रका ठूला पसलहरू बन्द भएका छन् भने औद्योगिक क्षेत्रमा पनि हडतालको प्रभाव परेको छ।
श्रमिक सङ्गठनका अनुसार बन्दरगाह र अटोमोबाइल उद्योगमा हडतालको सहभागिता ९० प्रतिशत पुगेको छ। नाभारास्थित फक्सवागन र बार्सिलोनास्थित सिटका कारखानामा उत्पादन कार्य ठप्प भएको सङ्गठनहरूको दाबी छ। स्पेनको केन्द्रीय बैंकका अनुसार देशमा करिब ७ लाख ५० हजार घरको अभाव छ र सन् २०२८ सम्म यो सङ्ख्या १० लाख नाघ्ने अनुमान गरिएको छ। स्पेनमा औसत मासिक घरभाडा १ हजार १ सय ७६ युरो पुगेको छ, जुन युवाहरूको औसत मासिक तलबको झन्डै ९९ प्रतिशत हो।
हडतालका क्रममा प्रहरी र प्रदर्शनकारीबीच केही स्थानमा झडपसमेत भएको छ। प्रहरीले ४० जनालाई पक्राउ गरेको छ भने प्रहरी कारबाहीमा २० जना प्रदर्शनकारी घाइते भएको श्रमिक सङ्गठनहरूले बताएका छन्। स्पेनमा कुल २ करोड ३० लाख श्रमिक छन्। हडताल आयोजकले दिनको अन्त्यसम्म सहभागीको सङ्ख्या ५० लाख पुग्न सक्ने अपेक्षा गरेको सीएनएनले उल्लेख गरेको छ।
