काठमाडौं। हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानीपख हुस्सु र कुहिरो लागेको छ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो पहाडी र हिमाली भूभागमा आंशिक बदली हुनेछ भने तराईमा मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी, आज राति पनि पहाडी र हिमाली भेगमा आंशिक बदली कायमै रहनेछ भने तराईमा मौसम सामान्यतया सफा रहनेछ। रातिको समयमा कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका साथै उच्च हिमाली भेगका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
