काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकले पेश गरेको कर्जा आवेदनको अवस्था अनलाइनबाटै हेर्न सकिने सेवा सुरु गरेको छ। बैंकले ‘लोन एप्लिकेसन ट्र्याकिङ’ सेवा सञ्चालनमा ल्याएको हो।
नयाँ सेवामार्फत ग्राहकले आफ्नो कर्जा आवेदन कुन चरणमा पुगेको छ, मूल्याङ्कन तथा स्वीकृति प्रक्रिया कहाँ पुगेको छ र आवेदनसम्बन्धी पछिल्ला जानकारी के छन् भन्ने विवरण घरमै बसेर हेर्न सक्नेछन्।
यसका लागि ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा गई आफ्नो मोबाइल नम्बर र लोन एप्लिकेसन ट्र्याकिङ आईडी प्रयोग गर्नुपर्नेछ। त्यसपछि कर्जा आवेदनको प्रगति जुनसुकै समय र स्थानबाट हेर्न सकिने बैंकले जनाएको छ।
यसअघि कर्जा आवेदनको अवस्थाबारे जानकारी लिन ग्राहकले सम्बन्धित शाखामा पुग्नुपर्ने वा फोनमार्फत सम्पर्क गर्नुपर्ने अवस्था थियो। नयाँ सेवाले ग्राहकको समय बचत गर्नुका साथै कर्जा प्रक्रियालाई पारदर्शी र सहज बनाउने बैंकको अपेक्षा छ।
कर्जा आवेदन स्वीकृत भएमा सम्बन्धित ग्राहकलाई एसएमएसमार्फत तत्काल जानकारी दिने व्यवस्था पनि गरिएको छ।
बैंकले डिजिटल बैंकिङ र प्रविधिमा आधारित सेवा विस्तारलाई प्राथमिकता दिँदै आएको जनाएको छ। ग्राहकको आवश्यकता र आधुनिक बैंकिङ अभ्यासअनुसार सेवा तथा प्रक्रियालाई सरल, छिटो र ग्राहककेन्द्रित बनाउने उद्देश्यले नयाँ सेवा सुरु गरिएको बैंकको भनाइ छ।
‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै डिजिटल माध्यमबाट सहज, सुरक्षित र आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइरहेको बैंकले जनाएको छ।
