काठमाडौं: झापाको मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीस्थित नेचर हिमालय टी इन्डस्ट्रिज प्रालिमा मंगलबार आगलागी हुँदा ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी सुवास बुढाथोकीका अनुसार दिउँसो १:५० बजेतिर चिया कारखानाको मेसिनबाट अचानक आगो निस्किएको थियो। आगो फैलिँदा मेसिन र सुकाइरहेको चिया जलेर नष्ट भएको छ।
आगलागीको खबर प्राप्त हुनासाथ ज्यामिरगढी र चारआली प्रहरी चौकीबाट टोली घटनास्थल पुगेको थियो। मेचीनगर र भद्रपुर नगरपालिकाका दमकल, स्थानीयवासी र प्रहरीको सहयोगमा आधा घण्टाभित्रै आगो नियन्त्रणमा लिइएको थियो। समयमै नियन्त्रण गरिएकाले उद्योगमा थप क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।
