काठमाडौं। सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट १०७ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ।
प्रधानमन्त्री कार्यालयमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ‘र्यापीड क्रेडिट फ्यासिलिटी’ अन्तर्गत उक्त ऋण स्वीकृत गर्ने निर्णय गरेको हो।
सञ्चार मन्त्री विक्रम तिमलसिनाका अनुसार यो ऋण निर्ब्याजी र सहुलियतपूर्ण रहेको छ। बैठकले चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर बराबरको अनुदान पनि स्वीकार गर्ने निर्णय गरेको छ।
मन्त्री तिमलसिनाले यो अनुदान रकम भोटेकोशी बाढीसँग सम्बन्धित रहेको जानकारी दिए। साथै, मन्त्रिपरिषद् बैठकले देशभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गाको लगत तयार गर्न नापजाँचसम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको छ।
