काठमाडौं: भारतको चेम्बर अफ ट्रेड एण्ड इन्डस्ट्री (सीटीआई) ले सुन खरिद घटाउन प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको आग्रहप्रति आभार व्यक्त गरेको छ। मोदीको सुझावका कारण सुन व्यापारी, गहना व्यवसायी र लगानीकर्ता ठूलो आर्थिक नोक्सानीबाट जोगिएको संस्थाको दाबी छ।
सीटीआईले आइतबार मोदीलाई लेखेको पत्रमा सुनको मूल्य प्रतिकिलो १ करोड ९० लाख भारतीय रुपैयाँबाट घटेर १ करोड २५ लाख रुपैयाँमा झरेको उल्लेख छ। यसअनुसार प्रतिकिलो ६५ लाख भारतीय रुपैयाँले मूल्य घटेको छ। मोदीको सुझाव नमानेर ठूलो परिमाणमा सुन खरिद गरेको भए व्यापारीले सोही बराबरको घाटा बेहोर्नुपर्ने अवस्था आउने सीटीआईले जनाएको छ।
सीटीआईका अनुसार सुन व्यापारीले महिनौंका लागि स्टक राख्ने भएकाले महँगो मूल्यमा खरिद गर्दा ठूलो क्षति हुन सक्थ्यो। यसअघि मोदीको सुझावको विरोध गर्ने व्यापारीले समेत अहिले त्यसको फाइदा स्वीकार गरेको पत्रमा उल्लेख छ। संस्थाले सुनको मूल्य घट्दा विवाहको सिजनमा रहेका परिवारलाई समेत राहत मिलेको जनाएको छ। भारतमा यस विवाहको मौसममा ५२ लाख विवाह हुने अनुमान गरिएको छ।
यसअघि शनिबार लखनउमा आयोजित एक कार्यक्रममा मोदीले एक वर्षसम्म अत्यावश्यक नभएसम्म सुन नकिन्न गरेको अपिल स्मरण गरेका थिए। उनले भने, ‘एक वर्षसम्म आवश्यक नभएसम्म सुन नकिन्न मैले देशवासीलाई आग्रह गरेको थिएँ। मैले कम सुन किन्न आग्रह गरेँ, देशवासीले कम सुन किने। अहिले मानिसहरू मलाई तपाईंको सुझाव मानेर हाम्रो पैसा बच्यो भनिरहेका छन्।’
मोदीले १० मे, २०२६ मा पश्चिम एसियाको द्वन्द्व र कच्चा तेलको मूल्य बढिरहेका बेला विदेशी मुद्रा बचाउन नागरिकलाई सात वटा सुझाव दिएका थिए। उनले सुन खरिद घटाउने, विदेश यात्रा सीमित गर्ने, घरबाट काम गर्ने, इन्धन बचाउने, स्वदेशी उत्पादन प्रयोग गर्ने, खाना पकाउने तेलको खपत घटाउने र प्राकृतिक खेतीलाई प्रोत्साहन गर्ने सुझाव दिएका थिए। यद्यपि, विपक्षी दलका नेताहरूले यी सुझावमार्फत सरकारले आर्थिक भार सर्वसाधारणमाथि थोपर्न खोजेको आरोप लगाउँदै आएका छन्।
