काठमाडौं: कास्कीको मादी गाउँपालिका-१ स्थित पर्यटकीय गाउँ सिक्लेसमा शनिबार एकै दिन १ हजार ५ सय ३२ जना पर्यटक पुगेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार भ्रमण गर्नेहरूमा ७ सय ९६ पुरुष र ७ सय ३६ महिला रहेका छन्।
वडाध्यक्ष देविजंग गुरुङका अनुसार कुल पर्यटक मध्ये १ हजार ५ सय २७ जना आन्तरिक र ५ जना विदेशी पर्यटक हुन्। पर्यटकको चाप बढेसँगै वडा कार्यालय र एक्यापले प्राकृतिक सौन्दर्य जोगाउन आग्रह गरेका छन्।
जथाभावी फोहोर नफाल्न, तोकिएको स्थानमा मात्र फोहोर विसर्जन गर्न र वातावरण संरक्षणमा जिम्मेवार बन्न स्थानीय प्रशासनले अनुरोध गरेको छ। वडाध्यक्ष गुरुङले पर्यटकको चाप बढेकाले होटल वा होमस्टे पहिले नै बुक गरेर मात्र यात्रा गर्न सुझाव दिएका छन्। उनले भने, ‘पर्यटकको चाप बढेको छ। यत्तिकै आउँदा होटल नपाइन सक्छ, आउनुपूर्व नै होटल बुक गर्नुहोला।’ सिक्लेससँगै नजिकै रहेको ताङतिङ, घान्द्रुक र ल्वाङमा पनि पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ।
विशेषगरी शुक्रबार र शनिबार यी क्षेत्रमा पर्यटकको भीड लाग्ने गरेको स्थानीय व्यवसायीहरू बताउँछन्। सरकारले सातामा दुई दिन बिदा दिने व्यवस्था गरेसँगै पर्यटकीय क्षेत्रमा घुम्न जानेहरूको संख्यामा वृद्धि भएको हो।
