काठमाडौं: आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म लक्ष्यभन्दा ४ प्रतिशत बढी राजस्व संकलन गरेको छ। कार्यालयले यस अवधिमा वार्षिक लक्ष्यको १०४ प्रतिशत राजस्व संकलन गर्न सफल भएको जनाएको छ। चालु आर्थिक वर्षमा ८ अर्ब ५४ करोड ८७ लाख ८६ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकामा कात्तिक मसान्तसम्म २ अर्ब ३६ करोड ५ लाख २९ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
संकलित राजस्वमध्ये आयकरतर्फ १ अर्ब २६ करोड ८२ लाख ४९ हजार र मूल्य अभिवृद्धि करतर्फ ५४ करोड ९० लाख ९६ हजार रुपैयाँ रहेको कार्यालयले जानकारी दिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष राजस्व संकलनमा वृद्धि भएको छ। गत वर्षको सोही अवधिमा १ अर्ब ६१ करोड ८९ लाख ६६ हजार रुपैयाँ संकलन भएको थियो।
आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानाले करदातालाई आर्थिक ऐन, २०८३ अनुसार उपलब्ध गराइएको कर छुट सुविधाको सदुपयोग गर्न आग्रह गरेका छन्। कर छुट सुविधा लिने अन्तिम म्याद पुस मसान्तसम्म तोकिएको छ। कास्की र स्याङ्जा कार्यक्षेत्र रहेको उक्त कार्यालयमा आयकरतर्फ ९० हजार, मूल्य अभिवृद्धि करतर्फ १५ हजार १ सय २० र अन्तःशुल्कतर्फ ५ हजार ५ सय ९६ करदाता दर्ता छन्। व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या २ लाख ५२ हजार २ सय ५२ पुगेको छ।
राष्ट्रिय कर दिवस तथा कर सप्ताह-२०८३ को अवसरमा कार्यालयले सबैभन्दा बढी कर तिर्ने टेम्पल ट्री रिसोर्ट, एक्सेस कन्स्ट्रक्सन प्रालि र कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सम्मान गरेको छ। कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमारसिंह गुरुङले राजस्व लक्ष्य प्राप्तिका लागि कर प्रशासन र करदाता दुवैको जिम्मेवारी महत्त्वपूर्ण हुने बताए। पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले कर प्रशासन थप व्यवसायमैत्री हुनुपर्नेमा जोड दिइन्।
