सफलताको परम्परागत परिभाषामा ठूलो कम्पनी, अर्बौँको कारोबार, व्यक्तिगत सम्पत्ति र बजारमाथिको नियन्त्रण पर्छ।
व्यवसायीहरू आफ्नो कम्पनीको मूल्य बढाउन, बजार विस्तार गर्न र सम्पत्ति पुस्तान्तरण गर्न प्रतिस्पर्धा गर्छन्। तर अमेरिकाका एक व्यवसायीले भने जीवनभर निर्माण गरेको करिब तीन अर्ब अमेरिकी डलर मूल्यको व्यवसाय आफ्नै परिवारको व्यक्तिगत सम्पत्तिका रूपमा नराख्ने निर्णय गरे।
उनले कम्पनीको स्वामित्व संरचना नै परिवर्तन गरेर त्यसको भविष्य वातावरण संरक्षणसँग जोडिदिए।
यो निर्णय कुनै आर्थिक संकट, ऋणको दबाब वा व्यावसायिक असफलताका कारण गरिएको थिएन। विश्वव्यापी पहिचान बनाइसकेको, नाफा कमाइरहेको र बजारमा बलियो स्थान ओगटेको व्यवसायको संस्थापकले स्वेच्छाले लिएको निर्णय थियो। उनको बुझाइमा पृथ्वीको संरक्षणभन्दा ठूलो व्यावसायिक सफलता अर्को हुन सक्दैन।
ती व्यवसायी हुन् इभोन चुइनार्ड। उनी अमेरिकी आउटडोर पहिरन तथा उपकरण निर्माता कम्पनी प्याटागोनियाका संस्थापक हुन्।
पहाड चढ्ने उपकरण आफैँ बनाएर बेच्ने एक साधारण पर्वतारोहीबाट सुरु भएको उनको यात्रा विश्वव्यापी व्यवसाय निर्माण, वातावरणीय अभियान र परम्परागत पुँजीवादलाई चुनौती दिने स्वामित्व संरचनासम्म पुगेको छ।
उनको कथा केवल सफल उद्यमीको जीवनकथा होइन। व्यवसायले नाफा कमाएपछि त्यसको जिम्मेवारी के हुन्छ, सम्पत्ति कसको हितमा प्रयोग हुनुपर्छ र वातावरण संरक्षणलाई कम्पनीको मूल व्यावसायिक उद्देश्य बनाउन सकिन्छ कि सकिँदैन भन्ने प्रश्नको व्यावहारिक उदाहरण पनि हो।
पहाडको मोहबाट व्यवसायसम्म
इभोन चुइनार्डको जन्म सन् १९३८ नोभेम्बर ९ मा अमेरिकाको मेन राज्यस्थित लुइस्टनमा भएको थियो। उनका परिवार फ्रान्सेली भाषिक पृष्ठभूमिका थिए।
बाल्यकालमै परिवार क्यालिफोर्नियाको बर्ब्याङ्कमा बसाइँ सरेपछि उनको जीवनको अधिकांश समय त्यहीँ बित्यो। सामान्य आर्थिक अवस्था भएको परिवारमा हुर्किएका चुइनार्डलाई परम्परागत व्यावसायिक जीवनभन्दा प्रकृति, पहाड र साहसिक गतिविधिमा बढी रुचि थियो।
किशोरावस्थामा उनी बाजपालनसँग सम्बन्धित क्लबमा आबद्ध भएका थिए। त्यही क्रममा चट्टानमा उक्लने र डोरीको सहायताले तल झर्ने अभ्याससँग परिचित भए।
सन् १९५३ तिर सुरु भएको पर्वतारोहणप्रतिको आकर्षण क्रमशः उनको जीवनको मुख्य रुचि बन्यो। पछि उनले अमेरिकाका विभिन्न पहाडी क्षेत्रमा पर्वतारोहण गरे। विशेषगरी योसेमिटी उपत्यकाका ठूला चट्टानमा आरोहण गर्ने क्रममा उनलाई प्रयोग गरिने उपकरणको गुणस्तर र उपयोगिताबारे चासो बढ्यो।
त्यतिबेला पर्वतारोहणमा प्रयोग हुने पिटोन फलामबाट बनाइन्थ्यो। चट्टानको चिरामा ठोकेर डोरी अड्याउन प्रयोग गरिने यी उपकरण बलियो हुनुपर्ने भए पनि बारम्बार प्रयोग गर्दा बिग्रिने समस्या थियो।
चुइनार्डलाई उपलब्ध उपकरणको गुणस्तरले सन्तुष्ट बनाउन सकेन। बजारमा पाइने उपकरणभन्दा बलियो, टिकाउ र पुनः प्रयोग गर्न मिल्ने उपकरण बनाउन सकिन्छ भन्ने उनलाई लाग्यो।
सन् १९५७ मा उनले एउटा कबाडी पसलबाट पुरानो कोइलाबाट चल्ने भट्टी, निहाई, हथौडा र अन्य उपकरण किने। आफ्नै प्रयासमा फलामको काम सिक्न थाले। पुरानो कृषि उपकरणको ब्लेड प्रयोग गरेर पिटोन बनाउन सुरु गरे। उनले बनाएका पिटोन सामान्य फलामका उपकरणभन्दा बलिया थिए। तिनलाई पटकपटक प्रयोग गर्न सकिन्थ्यो।
सुरुमा आफ्नै पर्वतारोहणका लागि बनाएका उपकरण साथीहरूलाई पनि मन पर्न थाले। उनीहरूले पनि त्यस्तै उपकरण माग्न थालेपछि चुइनार्डले बिक्री गर्न सुरु गरे।
उनले आफ्ना अभिभावकको घरपछाडिको सानो ठाउँमा काम गर्थे। एक घण्टामा दुईवटा पिटोन बनाउन सक्ने उनी प्रतिगोटा १.५० अमेरिकी डलरमा बिक्री गर्थे।
Patagonia को आधिकारिक कम्पनी इतिहास अनुसार, उनले आफ्नै गाडीबाट विभिन्न स्थानमा पुगेर उपकरण बेच्थे। बिक्रीबाट प्राप्त हुने आम्दानी ठूलो थिएन। तर उनलाई व्यवसायबाट तत्काल धेरै पैसा कमाउनुभन्दा आफ्नो रुचिलाई निरन्तरता दिनु महत्त्वपूर्ण थियो।
उनको उत्पादनको माग बढ्दै गएपछि व्यक्तिगत कामले मात्र धान्न नसक्ने अवस्था आयो। यसले सानो घरेलु उत्पादनलाई व्यवस्थित व्यवसायमा रूपान्तरण गर्ने बाटो खोल्यो।
सामान्य उपकरणबाट उद्योग
चुइनार्डको व्यवसाय विस्तारमा पर्वतारोही तथा इन्जिनियर टम फ्रस्टको प्रवेश महत्त्वपूर्ण बन्यो। सन् १९६५ मा उनीहरू साझेदार बनेर चुइनार्ड इक्विपमेन्ट स्थापना गरे। फ्रस्टको इन्जिनियरिङ ज्ञान र चुइनार्डको व्यावहारिक अनुभवले उपकरणको डिजाइन तथा उत्पादनमा नयाँ सम्भावना खोल्यो।
उनीहरूले पर्वतारोहणका लागि आवश्यक उपकरणलाई बलियो, हलुका, सरल र उपयोगी बनाउने काम गरे। बजारमा उपलब्ध उत्पादनको नक्कल गर्नेभन्दा प्रयोगकर्ताले भोगिरहेका समस्याको समाधान खोज्नु उनीहरूको प्राथमिकता थियो। पर्वतारोहणमा आफैँ सहभागी हुने भएकाले उपकरणको वास्तविक आवश्यकता उनीहरूले नजिकबाट बुझेका थिए।
व्यवसाय विस्तार हुँदै गएपछि उनीहरूले उत्पादनका लागि मेसिन प्रयोग गर्न थाले। हातले बनाइने उपकरण क्रमशः व्यवस्थित उत्पादन प्रणालीमा प्रवेश गरे। क्याराबिनर, आइस एक्स, क्र्याम्पोनलगायतका उपकरणको डिजाइनमा सुधार गर्दै कम्पनीले अमेरिकी पर्वतारोहण बजारमा बलियो स्थान बनायो।
सन् १९७० सम्म आइपुग्दा चुइनार्ड इक्विपमेन्ट अमेरिकामा पर्वतारोहणका उपकरण आपूर्ति गर्ने सबैभन्दा ठूलो कम्पनी बनेको थियो। तर यही सफलताभित्र एउटा गम्भीर समस्या पनि लुकेको थियो।
कम्पनीले उत्पादन गर्ने पिटोनले पर्वतारोहणका क्रममा चट्टानमा क्षति पुर्याइरहेको थियो। एउटै चिरामा पटकपटक फलामका उपकरण ठोक्दा चट्टानको प्राकृतिक स्वरूप बिग्रिन्थ्यो। आरोहीहरूलाई सुरक्षित बनाउने उपकरणले उनीहरूकै प्रिय प्राकृतिक सम्पदालाई नष्ट गरिरहेको थियो।
यो समस्या चुइनार्ड र फ्रस्टका लागि सामान्य व्यावसायिक चुनौती थिएन। उनीहरूले आफ्नो उत्पादनले वातावरणमा पारिरहेको असर स्वीकार गर्नुपर्यो। बजारमा सफल भइरहेको उत्पादन बन्द गर्ने निर्णय आर्थिक दृष्टिले जोखिमपूर्ण थियो। तर उनीहरूले त्यही बाटो रोजे।
सन् १९७२ मा सार्वजनिक गरिएको कम्पनीको क्याटलगमा पिटोनको प्रयोग घटाउन र त्यसको विकल्पका रूपमा हातले चट्टानको चिरामा राख्न तथा निकाल्न मिल्ने एल्युमिनियम चक प्रयोग गर्न आग्रह गरिएको थियो।
यसलाई क्लिन क्लाइम्बिङको अवधारणासँग जोडियो।
यो निर्णयले कम्पनीको व्यवसायमा तत्काल प्रभाव पार्न सक्ने भए पनि उनीहरूले वातावरणलाई प्राथमिकता दिए। बिक्री भइरहेका उत्पादन आफैँले बन्द गरेर विकल्प अघि सार्नु चुइनार्डको व्यावसायिक दर्शनको महत्त्वपूर्ण मोड बन्यो।
प्याटागोनियाको कम्पनी इतिहास ले यसलाई कम्पनीको वातावरणीय प्रतिबद्धताको पहिलो ठूलो कदमका रूपमा उल्लेख गरेको छ। यसले चुइनार्डलाई नाफा कमाउने व्यवसायीभन्दा उत्पादनको सामाजिक र वातावरणीय असरप्रति जिम्मेवार उद्यमीका रूपमा स्थापित गर्न थाल्यो।
कपडाबाट विश्वव्यापी बजार
पर्वतारोहण उपकरणको व्यवसायसँगै चुइनार्डले कपडाको बजारमा पनि सम्भावना देखिरहेका थिए। सन् १९७० मा स्कटल्यान्डको पर्वतारोहण यात्राका क्रममा उनले रग्बी खेलाडीले लगाउने बलियो कपडा किनेका थिए।
त्यसको कलरले पर्वतारोहणका क्रममा डोरी र उपकरणले घाँटीमा पार्ने दबाब कम गर्ने उनको अनुभव भयो। अमेरिकामा फर्किएपछि उनले त्यही कपडा प्रयोग गर्न थाले। साथीहरूले पनि त्यस्तो कपडा कहाँ पाइन्छ भनेर सोध्न थाले।
यही सामान्य अनुभवले नयाँ बजारको ढोका खोल्यो। कम्पनीले बेलायतबाट रग्बी सर्ट आयात गरेर बिक्री गर्न थाल्यो। त्यसपछि अन्य बाहिरी गतिविधिमा प्रयोग हुने कपडा तथा सामग्रीको व्यापार पनि विस्तार भयो।
सन् १९७२ सम्म कम्पनीले बेलायतका रग्बी सर्ट, स्कटल्यान्डका वर्षात् प्रतिरोधी कपडा र अस्ट्रियाका ऊनी पञ्जालगायतका सामग्री बिक्री गरिरहेको थियो। पर्वतारोहण उपकरणमा सीमित व्यवसाय क्रमशः आउटडोर पहिरन तथा जीवनशैलीसँग जोडिएको बजारमा प्रवेश गर्दै थियो।
सन् १९७३ मा प्याटागोनिया ब्रान्डको सुरुवात भयो। यसले पर्वतारोहणका लागि आवश्यक कपडा र उपकरणलाई एउटै ब्रान्डअन्तर्गत बजारमा ल्याउने आधार तयार गर्यो। पछि कम्पनीले उच्च गुणस्तरका ज्याकेट, ट्राउजर, फ्लीस, पञ्जा, झोला र अन्य सामग्री उत्पादन गर्न थाल्यो।
यस क्रममा चुइनार्डले उत्पादनको गुणस्तर र डिजाइनमा विशेष ध्यान दिए। सस्तो उत्पादन धेरै बेच्नेभन्दा लामो समयसम्म प्रयोग गर्न सकिने सामग्री बनाउनु उनको प्राथमिकता थियो। बजारमा टिकाउ उत्पादनको माग बढ्दै जाँदा प्याटागोनियाले आफ्नो पहिचान विस्तार गर्यो।
सन् १९७५ मा कम्पनीले बेलायतबाट आयात गरिने रग्बी सर्टको प्रतिमहिना तीन हजार थान आपूर्ति गर्ने गरी अर्डर गरेको विवरण उपलब्ध छ। कपडाको व्यवसाय विस्तार हुँदै गएपछि चुइनार्ड र फ्रस्टबीच कम्पनीको भावी दिशालाई लिएर मतभेद देखियो। फ्रस्टले कपडाको व्यवसाय र खुद्रा पसल विस्तार गर्ने योजनाप्रति असहमति जनाएपछि उनीहरूको नौ वर्ष लामो साझेदारी अन्त्य भयो।
तर चुइनार्ड रोकिएनन्। उनले कपडाको व्यवसायलाई अलग पहिचान दिँदै प्याटागोनियालाई विस्तार गर्ने काम जारी राखे। सन् १९७० को दशकको मध्यतिर सुरु भएको यो ब्रान्ड क्रमशः अन्तर्राष्ट्रिय बजारमा चिनिन थाल्यो।
नाफाभन्दा वातावरण प्राथमिकता
प्याटागोनियाको व्यावसायिक विस्तारसँगै चुइनार्डको ध्यान उत्पादनले वातावरणमा पार्ने प्रभावतर्फ केन्द्रित हुँदै गयो। उनी आफैँ पर्वतारोही भएकाले प्रकृतिमा हुने सानो परिवर्तन पनि नजिकबाट महसुस गर्थे। व्यवसाय विस्तार गर्ने क्रममा प्राकृतिक स्रोतको प्रयोग, उत्पादन प्रक्रिया र त्यसबाट निस्कने फोहोरले वातावरणमा पार्ने असरबारे अध्ययन गर्न थाले।
उनको बुझाइमा वातावरण संरक्षणलाई कम्पनीको विज्ञापन वा सामाजिक उत्तरदायित्वको एउटा कार्यक्रमका रूपमा मात्र सीमित गर्नु पर्याप्त थिएन। उत्पादन बनाउने तरिका, कच्चा पदार्थ छनोट, आपूर्ति शृङ्खला र उपभोक्ताले सामान प्रयोग गर्ने अवधिसम्म वातावरणीय जिम्मेवारी जोडिनुपर्थ्यो।
सन् १९८५ मा प्याटागोनियाले आफ्नो वार्षिक बिक्रीको एक प्रतिशत वातावरण संरक्षणमा काम गर्ने संस्थालाई उपलब्ध गराउने प्रतिबद्धता अघि बढायो। पछि यही अवधारणा ‘वान पर्सेन्ट फर द प्लानेट’ अभियानसँग जोडियो।
यसले व्यवसायले नाफा कमाएपछि केही रकम दान गर्ने सामान्य अभ्यासभन्दा फरक रूपमा बिक्रीको निश्चित हिस्सा वातावरण संरक्षणका लागि छुट्याउने बाटो खोल्यो।
यसको अर्को महत्त्वपूर्ण उदाहरण सन् १९९० को दशकमा देखियो। कम्पनीले कपडा उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको वातावरणीय प्रभावबारे अध्ययन गर्दा परम्परागत कपास खेतीमा प्रयोग हुने रासायनिक विषादी र कीटनाशकले गम्भीर असर पारिरहेको निष्कर्ष निकाल्यो।
त्यतिबेला प्याटागोनियाको कपडा व्यवसायको महत्त्वपूर्ण हिस्सा कपासमा आधारित थियो। परम्परागत कपासको प्रयोग तत्काल बन्द गर्नु कम्पनीका लागि सहज थिएन। जैविक कपासको उत्पादन सीमित थियो। किसान, प्रशोधन उद्योग र आपूर्तिकर्तासँग नयाँ सम्बन्ध निर्माण गर्नुपर्ने अवस्था थियो।
तर चुइनार्डले जोखिम लिए। सन् १९९४ मा कम्पनीले आफ्नो सम्पूर्ण कपासमा आधारित पहिरनलाई सन् १९९६ सम्म शतप्रतिशत जैविक कपासमा रूपान्तरण गर्ने निर्णय गर्यो।
यो निर्णय कार्यान्वयन गर्न कम्पनीले किसानसँग प्रत्यक्ष सम्बन्ध बनायो। कपास प्रशोधन गर्ने उद्योगलाई जैविक उत्पादन छुट्टै प्रशोधन गर्न सहमत गराउनुपर्यो। उत्पादनको स्रोत पहिचान गर्न र प्रमाणीकरणको व्यवस्था मिलाउनुपर्यो।
सन् १९९६ को वसन्त ऋतुको उत्पादन शृङ्खलासम्म कम्पनीले आफ्नो कपासमा आधारित पहिरनलाई जैविक कपासमा रूपान्तरण गर्यो। तर यो प्रक्रिया आर्थिक रूपमा महँगो र समय लाग्ने थियो।
आपूर्ति अभावका कारण कम्पनीले आफ्ना कपासका उत्पादनको संख्या १६६ बाट घटाएर ६६ मा झार्नुपरेको थियो। बजार अनुसन्धानले उपभोक्ताले जैविक कपडाका लागि सीमित मात्र बढी मूल्य तिर्न तयार रहेको देखाएपछि कम्पनीले नाफाको मार्जिनसमेत घटाउनुपर्यो।
यसको असर तत्काल देखिएन। उत्पादन बिक्री पुरानै स्तरमा फर्किन करिब दुई वर्ष लाग्यो। तर कम्पनीले आफ्नो वातावरणीय प्रतिबद्धताबाट पछि हटेन।
प्याटागोनियाको जैविक कपाससम्बन्धी विवरण अनुसार, यो निर्णयले कम्पनीको आपूर्ति शृङ्खला नै परिवर्तन गर्न बाध्य बनाएको थियो।
चुइनार्डका लागि यो केवल नयाँ कपडा उत्पादन गर्ने निर्णय थिएन, व्यवसाय सञ्चालनको पुरानो तरिकामाथि पुनर्विचार गर्ने कदम थियो।
उनको यही सोचले कम्पनीको व्यावसायिक संस्कृतिलाई समेत प्रभावित गर्यो। कर्मचारीलाई काम र व्यक्तिगत जीवनबीच सन्तुलन कायम गर्न प्रोत्साहित गर्ने, प्रकृतिसँग नजिक रहने र उपभोक्तालाई आवश्यकताभन्दा बढी सामान खरिद गर्न प्रेरित नगर्ने अभ्यासले प्याटागोनियालाई अन्य पहिरन कम्पनीभन्दा फरक बनायो।
सन् २००५ मा उनले Let My People Go Surfing: The Education of a Reluctant Businessman पुस्तक प्रकाशित गरे। पुस्तकमा उनले आफ्नो व्यावसायिक अनुभव, नेतृत्व शैली, वातावरणीय जिम्मेवारी र व्यवसाय सञ्चालनको दर्शन प्रस्तुत गरेका छन्। व्यवसायी बन्ने रहर नभएको व्यक्तिले कसरी व्यवसाय निर्माण गर्यो र त्यही व्यवसायलाई सामाजिक तथा वातावरणीय उद्देश्यसँग जोड्यो भन्ने विषय पुस्तकको मुख्य आधार हो।
चुइनार्डले व्यवसायलाई केवल नाफा कमाउने संयन्त्रका रूपमा हेरेनन्। उत्पादनको गुणस्तर, कर्मचारीको हित, वातावरणीय प्रभाव र ग्राहकको दीर्घकालीन विश्वासलाई व्यवसायको सफलतासँग जोड्ने प्रयास गरे। यही सोचले प्याटागोनियालाई आउटडोर पहिरनको बजारमा अलग पहिचान दिलायो।
विश्वव्यापी ब्रान्ड र जिम्मेवारी
प्याटागोनिया विस्तार हुँदै जाँदा कम्पनीले उत्पादनको गुणस्तर र वातावरणीय प्रतिबद्धतालाई आफ्नो ब्रान्ड पहिचानको मुख्य आधार बनायो। पर्वतारोहण, सर्फिङ, स्किइङ, माछा मार्ने तथा अन्य बाहिरी गतिविधिका लागि आवश्यक पहिरन र उपकरण उत्पादन गर्ने कम्पनीले अन्तर्राष्ट्रिय बजारमा ग्राहकको विश्वास प्राप्त गर्यो।
कम्पनीले उत्पादनलाई लामो समयसम्म प्रयोग गर्न सकिने बनाउने, बिग्रिएमा मर्मत गर्ने र पुराना सामग्री पुनः प्रयोगमा ल्याउने कार्यक्रमलाई पनि प्राथमिकता दियो। ‘वोर्न वेयर’ कार्यक्रममार्फत पुराना कपडा मर्मत गर्ने, प्रयोग गरिएका सामग्री पुनः बिक्री गर्ने र नयाँ उत्पादनको आवश्यकता घटाउने प्रयास गरियो।
यो अभ्यासले पहिरन उद्योगमा तीव्र रूपमा विस्तार भइरहेको फास्ट फेसनको अवधारणाभन्दा फरक व्यावसायिक सोच प्रस्तुत गर्यो। फास्ट फेसनमा छिटोछिटो नयाँ डिजाइन बजारमा ल्याएर उपभोक्तालाई बारम्बार नयाँ कपडा खरिद गर्न प्रोत्साहित गरिन्छ। तर प्याटागोनियाले टिकाउ उत्पादन, मर्मत र पुनः प्रयोगलाई व्यावसायिक रणनीतिसँग जोड्यो।
कम्पनीले आफ्नो उत्पादन शृङ्खलामा वातावरणीय तथा श्रमसम्बन्धी मापदण्ड लागू गर्ने प्रयास पनि गर्यो। सन् २०११ मा प्रमाणित बी कर्पोरेसन बनेको प्याटागोनिया सन् २०१२ मा क्यालिफोर्नियाको पहिलो कानुनी बेनिफिट कर्पोरेसनमध्ये एक बन्यो। यस व्यवस्थाले कम्पनीलाई सेयरधनीको आर्थिक हितसँगै सामाजिक तथा वातावरणीय उद्देश्यलाई पनि कानुनी रूपमा ध्यान दिन सक्ने आधार प्रदान गर्यो।
कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०२३ र २०२४ को बेनिफिट कर्पोरेसन प्रतिवेदनअनुसार, सन् २०२३ को मूल्यांकनमा प्याटागोनियाले बी कर्पको प्रभाव मूल्यांकनमा २०० मध्ये १६६ अंक प्राप्त गरेको थियो। कम्पनीले प्रत्येक वर्ष आफ्नो वार्षिक बिक्रीको एक प्रतिशत वातावरण संरक्षण र दिगोपनका क्षेत्रमा काम गर्ने गैरनाफामूलक संस्थालाई उपलब्ध गराउने प्रतिबद्धता पनि कायम राखेको छ।
यसको अर्थ प्याटागोनियाले वातावरण संरक्षणलाई कुनै एकपटकको अभियानमा सीमित गरेको छैन। कम्पनीको सञ्चालन, उत्पादन र संस्थागत संरचनामै वातावरणीय उद्देश्यलाई समावेश गर्ने प्रयास गरेको छ।
तर चुइनार्डको व्यावसायिक दर्शन आलोचनामुक्त भने छैन। कपडा उत्पादन आफैँमा ऊर्जा, पानी, कच्चा पदार्थ र ढुवानीमा निर्भर उद्योग हो।
वातावरणमैत्री उत्पादनको प्रयास गरे पनि आपूर्ति शृङ्खलाबाट हुने उत्सर्जन र प्राकृतिक स्रोतको उपयोग पूर्ण रूपमा हटाउन सम्भव छैन।
सन् २०२५ मा नेसनल जियोग्राफिकसँगको कुराकानीमा चुइनार्डले प्याटागोनियालाई पूर्ण रूपमा दिगो कम्पनी भन्न नसकिने धारणा व्यक्त गरेका थिए। उनको भनाइमा प्राकृतिक स्रोत प्रयोग गरेर व्यवसाय चलाउँदा त्यसको वातावरणीय लागत स्वीकार गर्नुपर्छ र त्यसलाई कम गर्न निरन्तर काम गर्नुपर्छ।
यही आत्मस्वीकारोक्तिले उनको व्यावसायिक दृष्टिकोणलाई थप स्पष्ट पार्छ। वातावरण संरक्षणको दाबी गर्नु र उत्पादनको वास्तविक वातावरणीय प्रभाव घटाउनु फरक कुरा हुन्। उनले कम्पनीलाई पूर्ण रूपमा समस्यारहित देखाउनेभन्दा त्यसको असर कम गर्ने दिशामा अघि बढाउन खोजे।
तीन अर्बको स्वामित्व हस्तान्तरण
चुइनार्डको जीवनको सबैभन्दा चर्चित व्यावसायिक निर्णय सन् २०२२ सेप्टेम्बर १४ मा सार्वजनिक भयो। उनले आफ्नो परिवारसँग मिलेर प्याटागोनियाको सम्पूर्ण स्वामित्व दुईवटा संस्थालाई हस्तान्तरण गर्ने घोषणा गरे। यो निर्णयले विश्वव्यापी व्यवसाय क्षेत्रमा ठूलो चर्चा सिर्जना गर्यो।
त्यतिबेला प्याटागोनियाको अनुमानित मूल्य करिब तीन अर्ब अमेरिकी डलर थियो। कम्पनी बिक्री गरेर व्यक्तिगत सम्पत्ति आर्जन गर्ने, सेयर बजारमा सूचीकृत गर्ने वा परिवारका सदस्यलाई उत्तराधिकारी बनाउने विकल्प उनको अगाडि थिए। तर उनले यी परम्परागत विकल्प रोजेनन्।
बरु कम्पनीको स्वामित्वलाई वातावरण संरक्षणसँग जोडिने कानुनी संरचनामा हस्तान्तरण गरे। यसको ९८ प्रतिशत गैरमताधिकारयुक्त सेयर ‘होल्डफास्ट कलेक्टिभ’ नामक संस्थाको स्वामित्वमा गयो। बाँकी दुई प्रतिशत मताधिकारयुक्त सेयर भने ‘प्याटागोनिया पर्पस ट्रस्ट’ को स्वामित्वमा राखियो।
यी दुई संस्थाको भूमिका फरक छ। होल्डफास्ट कलेक्टिभले कम्पनीबाट प्राप्त हुने लाभांश वातावरणीय संकट न्यूनीकरण, जैविक विविधताको संरक्षण र समुदायको हितमा प्रयोग गर्ने उद्देश्य राख्छ। पर्पस ट्रस्टले भने कम्पनीको मूल उद्देश्य र संस्थापकले स्थापित गरेका मूल्यलाई भविष्यमा पनि कायम राख्ने जिम्मेवारी पाएको छ।
यस संरचनाको महत्त्वपूर्ण पक्ष के हो भने कम्पनीले आफ्नो व्यवसाय सञ्चालन गर्न आवश्यक रकम पुनः लगानी गरेपछि बाँकी रहने नाफा वातावरण संरक्षणका लागि वितरण गर्ने व्यवस्था गरिएको छ।
प्याटागोनियाले उक्त समयमा वार्षिक करिब १० करोड अमेरिकी डलरसम्म लाभांश वितरण हुन सक्ने अनुमान सार्वजनिक गरेको थियो। वास्तविक रकम भने कम्पनीको व्यावसायिक अवस्थाअनुसार फरक पर्न सक्छ।
यसको अर्थ चुइनार्डले तीन अर्ब डलर बराबरको नगद रकम कुनै संस्थालाई दान गरेका होइनन्। उनले कम्पनीको स्वामित्व नै दुई संस्थामा हस्तान्तरण गरेका हुन्। कम्पनीको सञ्चालन भने यथावत् राखिएको छ। कर्मचारी, उत्पादन, बजार र व्यवस्थापनको संरचना एकैपटक विस्थापित गरिएको थिएन।
चुइनार्डले आफ्नो आधिकारिक पत्रमा लेखेका थिए, “पृथ्वी अब हाम्रो एकमात्र सेयरधनी हो।” उनको यो अभिव्यक्ति कम्पनीको नयाँ स्वामित्व संरचनाको प्रतीक बन्यो।
उनले आफ्नो पत्रमा व्यवसायबाट प्रकृतिको सम्पत्ति निकालेर व्यक्तिगत धनमा रूपान्तरण गर्ने परम्परागत अभ्यासको सट्टा व्यवसायले सिर्जना गरेको सम्पत्ति प्रकृति जोगाउन प्रयोग गर्ने निर्णय गरेको स्पष्ट पारेका थिए।
यो निर्णयले कम्पनीको भविष्यलाई परिवारको व्यक्तिगत सम्पत्तिसँग मात्र जोडेर नराखी वातावरणीय उद्देश्यसँग जोडिदियो। कम्पनी नाफामुखी व्यवसायकै रूपमा सञ्चालन हुने भए पनि त्यसको अन्तिम आर्थिक लाभको प्रयोग गर्ने दिशा परिवर्तन भयो।
प्याटागोनियाको सन् २०२२ को आधिकारिक घोषणाअनुसार, ९८ प्रतिशत गैरमताधिकारयुक्त सेयर होल्डफास्ट कलेक्टिभ र दुई प्रतिशत मताधिकारयुक्त सेयर पर्पस ट्रस्टको स्वामित्वमा रहने व्यवस्था गरिएको हो। चुइनार्ड परिवार भने पर्पस ट्रस्टको संरक्षक भूमिकामा रह्यो र कम्पनीको सञ्चालक समितिमा पनि निरन्तरता पायो।
अर्बौँको कारोबार, फरक व्यावसायिक दर्शन
प्याटागोनियाको व्यावसायिक सफलता केवल वातावरणीय अभियानमा सीमित छैन। कम्पनीले आउटडोर पहिरन र उपकरणको विश्वव्यापी बजारमा बलियो पहिचान बनाएको छ। यसको उत्पादन उच्च गुणस्तर, टिकाउपन, डिजाइन र वातावरणीय प्रतिबद्धताका कारण चिनिन्छ।
सन् २०२५ मा प्रकाशित नेसनल जियोग्राफिकको विस्तृत प्रोफाइलले प्याटागोनियाको वार्षिक बिक्री एक अर्ब अमेरिकी डलरको आसपास रहेको उल्लेख गरेको छ। कम्पनी निजी स्वामित्वमा रहेकाले सार्वजनिक सेयर बजारमा सूचीकृत कम्पनीजस्तो विस्तृत वित्तीय विवरण नियमित रूपमा सार्वजनिक गर्दैन। त्यसैले यसलाई सार्वजनिक रूपमा उपलब्ध विवरणका आधारमा बुझ्नु उचित हुन्छ।
चुइनार्डको व्यक्तिगत सम्पत्तिको मूल्यांकन र कम्पनीको मूल्यांकन पनि एउटै विषय होइनन्। सन् २०२२ मा कम्पनीको अनुमानित मूल्य करिब तीन अर्ब डलर रहेको चर्चा भए पनि त्यो रकम उनको व्यक्तिगत बैंक खातामा रहेको सम्पत्ति थिएन। स्वामित्व हस्तान्तरणपछि कम्पनीबाट व्यक्तिगत लाभ लिने पुरानो संरचना नै परिवर्तन भयो।
उनको सफलताको अर्को महत्त्वपूर्ण पक्ष नेतृत्व शैली हो।
उनी परम्परागत अर्थमा कार्यालयमा बसेर व्यवसाय सञ्चालन गर्ने व्यवस्थापकभन्दा उत्पादन, प्रकृति र वास्तविक उपभोक्ता अनुभवमा बढी केन्द्रित उद्यमीका रूपमा परिचित छन्।
उनले कर्मचारीलाई व्यक्तिगत जीवन, परिवार र प्रकृतिसँग समय बिताउने अवसर दिनुपर्ने मान्यता अघि सारे। कामको समय र जीवनको गुणस्तरबीच सन्तुलन कायम राख्ने अभ्यास प्याटागोनियाको संस्थागत संस्कृतिको हिस्सा बन्यो।
चुइनार्डको नेतृत्वमा कम्पनीले उत्पादनको गुणस्तरलाई प्राथमिकता दिँदै दीर्घकालीन ग्राहक सम्बन्ध निर्माण गर्यो। वातावरण संरक्षणको प्रतिबद्धताले पनि ब्रान्डको छुट्टै पहिचान बनायो। यसले कम्पनीलाई केवल कपडा बेच्ने व्यवसायबाट सामाजिक तथा वातावरणीय उद्देश्यसहित सञ्चालन हुने अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा विकास गर्न सहयोग पुर्यायो।
सन् २०२२ मा स्वामित्व हस्तान्तरणपछि पनि उनी कम्पनीबाट पूर्ण रूपमा अलग भएका छैनन्। उनी सञ्चालक समितिमा रहेर कम्पनीको उद्देश्य र दीर्घकालीन दिशामा सक्रिय छन्। सन् २०२५ मा नेसनल जियोग्राफिकसँगको कुराकानीमा उनले स्वामित्व हस्तान्तरणपछि कम्पनीको काममा झन् बढी सक्रिय भएको बताएका थिए।
व्यवसायको नयाँ परिभाषा
इभोन चुइनार्डको व्यावसायिक यात्रालाई हेर्दा उनको सफलता एउटै उत्पादन वा एउटा कम्पनीमा सीमित देखिँदैन। उनको सबैभन्दा ठूलो विशेषता बजारमा देखिएको समस्या पहिचान गर्नु, त्यसको व्यावहारिक समाधान खोज्नु र व्यवसायको सफलतालाई दीर्घकालीन जिम्मेवारीसँग जोड्नु हो।
उनले सुरुमा पर्वतारोहणका लागि राम्रो उपकरण बनाउन खोजेका थिए। तर आफ्नै उत्पादनले चट्टानमा क्षति पुर्याएको थाहा पाएपछि सफल भइरहेको उत्पादन बन्द गर्ने जोखिम लिए। कपडाको बजारमा प्रवेश गर्दा गुणस्तर र टिकाउपनलाई प्राथमिकता दिए। परम्परागत कपासले वातावरणमा पार्ने असर थाहा पाएपछि आपूर्ति शृङ्खला नै परिवर्तन गरे। अन्ततः कम्पनीको स्वामित्वसमेत वातावरण संरक्षणको उद्देश्यसँग जोडिदिए।
उनको यो यात्राले व्यवसाय सञ्चालनमा नाफा र जिम्मेवारीलाई एकअर्काका विरोधीका रूपमा हेर्नु आवश्यक छैन भन्ने सन्देश दिन्छ। व्यवसायले आम्दानी गर्नुपर्छ, लगानीकर्तालाई प्रतिफल दिनुपर्छ र रोजगारी सिर्जना गर्नुपर्छ। तर त्यसो गर्दा प्रकृति र समाजमाथि पर्ने असरलाई बेवास्ता गर्न मिल्दैन भन्ने उनको मान्यता छ।
उनको प्रसिद्ध पुस्तक Let My People Go Surfing मा प्रस्तुत व्यावसायिक दर्शन पनि यही सोचमा आधारित छ। उनले व्यवसायलाई जीवनको अन्तिम लक्ष्यभन्दा आफूले विश्वास गरेको उद्देश्य हासिल गर्ने माध्यमका रूपमा हेरेका छन्।
चुइनार्डको निर्णय सबै कम्पनीले हुबहु लागू गर्न सक्ने मोडल नहुन सक्छ। प्रत्येक व्यवसायको स्वामित्व संरचना, आर्थिक अवस्था र कानुनी व्यवस्था फरक हुन्छ।
तर कम्पनीको उद्देश्य, नाफाको प्रयोग र सामाजिक जिम्मेवारीबारे पुनर्विचार गर्न भने यसले विश्वव्यापी व्यवसाय जगत्लाई प्रेरित गरेको छ।
नेपालको सन्दर्भमा पनि उनको यात्रा अर्थपूर्ण छ। यहाँ कृषि, पर्यटन, जलविद्युत्, वन पैदावार, कपडा र उत्पादनमूलक उद्योगमा लगानी बढाउने चर्चा भइरहन्छ। तर उत्पादनको आर्थिक लाभसँगै प्राकृतिक स्रोतको संरक्षण, स्थानीय समुदायको हित, रोजगारीको गुणस्तर र दीर्घकालीन व्यावसायिक जिम्मेवारीलाई जोड्ने अभ्यास अझै विस्तार गर्नुपर्ने देखिन्छ।
कम्पनी ठूलो हुनु, कारोबार बढ्नु र संस्थापक अर्बपति बन्नु मात्रै सफलताको अन्तिम मापदण्ड होइन भन्ने उनको यात्राले देखाउँछ। व्यवसायले समाज र प्रकृतिलाई के योगदान गर्यो भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
चुइनार्डले आफ्नो जीवनभरको कमाइलाई व्यक्तिगत सम्पत्तिको रूपमा सुरक्षित राख्नेभन्दा आफूले विश्वास गरेको उद्देश्यलाई निरन्तरता दिने संरचना बनाए। पहाड चढ्न आवश्यक उपकरण बनाउने एउटा सानो कार्यशालाबाट सुरु भएको यात्रा तीन अर्ब डलर मूल्यको कम्पनीको स्वामित्व पृथ्वीको संरक्षणसँग जोड्ने निर्णयसम्म पुग्यो।
उनको सफलताको सबैभन्दा ठूलो विशेषता यही हो। उनले व्यवसायबाट सम्पत्ति मात्र बनाएनन्, सम्पत्तिको उद्देश्यसमेत बदल्ने प्रयास गरे।
