मोहेद अल्ट्राडको जीवनकथा केवल एक अर्बपतिको सफलताको विवरण होइन। यो शिक्षा, आत्मविश्वास, जोखिम, व्यावसायिक दूरदृष्टि र निरन्तर मेहनतले मानिसको जीवन कसरी बदल्न सक्छ भन्ने उदाहरण हो।
सिरियाको मरुभूमिमा अत्यन्त कठिन परिस्थितिमा बाल्यकाल बिताएका उनी फ्रान्स पुगेर उच्च शिक्षा हासिल गर्न सफल भए। त्यसपछि प्रविधि र उद्योगको क्षेत्रमा आफ्नो क्षमता प्रमाणित गर्दै अन्तर्राष्ट्रिय व्यवसायीका रूपमा स्थापित भए।
उनको यात्रामा एउटा विशेष पक्ष छ। उनले जन्मको परिस्थिति आफ्नो भविष्यको सीमा बन्न दिएनन्। अवसरको अभावलाई बहाना बनाउनुको सट्टा ज्ञान र सीप हासिल गर्ने आधार बनाए।
जागिरबाट प्राप्त अनुभवलाई व्यावसायिक अवसरमा बदले। आर्थिक जोखिम उठाएर एउटा संकटग्रस्त औद्योगिक व्यवसाय अधिग्रहण गरे र त्यसलाई विश्वका विभिन्न देशमा फैलिएको अन्तर्राष्ट्रिय समूहमा रूपान्तरण गरे।
आज उनको नाम फ्रान्सेली उद्योग तथा उद्यमशीलताको क्षेत्रमा स्थापित छ। तर यो स्थानसम्म पुग्न उनले तय गरेको बाटो सहज थिएन।
मरुभूमिको बालक र अधुरो जन्मकथा
मोहेद अल्ट्राडको जन्मकथा नै असाधारण छ। उनको जन्मको यकिन मिति, महिना र वर्षसमेत आधिकारिक रूपमा प्रमाणित छैन। सिरियाको घुमन्ते बेदुइन समुदायमा जन्मिएका उनी त्यस्तो परिवेशमा हुर्किए, जहाँ बालबालिकाको औपचारिक शिक्षाभन्दा परिवारको परम्परागत जीवनशैलीलाई प्राथमिकता दिइन्थ्यो। परिवारका लागि भेडाबाख्रा चराउनु र घुमन्ते जीवनलाई निरन्तरता दिनु नै उनको भविष्य ठानिएको थियो।
उनको परिवारको पृष्ठभूमि पनि सामान्य थिएन। आमा अत्यन्त कम उमेरकी थिइन्। बेदुइन समुदायका प्रभावशाली व्यक्तिबाट आमाले भोगेको हिंसा र त्यसले परिवारमा पारेको असरबारे अल्ट्राडले विभिन्न अन्तर्वार्तामा खुलेर बताएका छन्।
उनका अनुसार आमाको मृत्युपछि चार वर्षको उमेरमा उनलाई हजुरबा–हजुरआमाको जिम्मा लगाइएको थियो। त्यसपछि हजुरआमाले नै उनको पालनपोषण गरिन्।
बाल्यकालमा उनले भोगेको सबैभन्दा ठूलो समस्या गरिबी मात्र थिएन, शिक्षाबाट वञ्चित हुनु पनि थियो। हजुरआमाको बुझाइमा गोठालो बन्ने व्यक्तिका लागि विद्यालय शिक्षा आवश्यक थिएन।
तर अल्ट्राडको सोच फरक थियो। उनी पढ्न चाहन्थे। अक्षर चिन्ने र किताब पढ्ने तीव्र इच्छाले उनलाई आफैँ सिक्ने बाटोतर्फ डोर्यायो।
उनले औपचारिक विद्यालयको अवसर नपाए पनि आफैँ पढ्न र लेख्न सिके। आफ्नो परिवेशले निर्धारण गरेको भविष्य स्वीकार गर्न उनी तयार थिएनन्। यही स्वभावले उनको जीवनको दिशा परिवर्तन गर्यो।
पछि उनी सिरियाकै रक्का नजिकै अर्का आफन्तसँग बस्न पुगे। त्यहाँबाट उनले औपचारिक शिक्षाको यात्रा अघि बढाए। अध्ययनमा असाधारण क्षमता देखाएका उनले आफ्नो क्षेत्रमै उत्कृष्ट स्थान हासिल गरे। माध्यमिक तहको अध्ययन पूरा गरेपछि फ्रान्समा उच्च शिक्षा हासिल गर्न सिरियाली सरकारबाट छात्रवृत्ति पाए। यही छात्रवृत्ति उनको जीवनको सबैभन्दा निर्णायक अवसर बन्यो।
उनको जन्मको मितिबारेको अनिश्चितता पनि रोचक छ। बेदुइन समुदायको घुमन्ते जीवनमा जन्मदर्ता गर्ने चलन थिएन। त्यसैले फ्रान्समा नयाँ जीवन सुरु गर्दा उनले आफ्नो जन्मवर्ष आफैँ निर्धारण गर्नुपर्यो। सन् १९४८ लाई जन्मवर्षका रूपमा रोजे। जन्मदिनसमेत परिवारका सदस्यले पछि ९ मार्च तय गरिदिएका थिए। उनको जीवनको सुरुवात नै कागजी अभिलेखभन्दा संघर्ष र अनिश्चितताबाट भएको थियो।
भाषा नबुझ्ने देशमा नयाँ सपना
सन् १९६९ नोभेम्बरमा करिब १७ वर्षको उमेरमा उनी फ्रान्सको मोन्टपेलियर पुगे। सिरियाको मरुभूमिमा हुर्किएको एक किशोरका लागि युरोपको जीवन बिल्कुलै फरक थियो। त्यहाँको भाषा, समाज, संस्कृति र रहनसहन सबै नयाँ थिए। उनी फ्रान्सेली भाषा बोल्न जान्दैनथे। आर्थिक अवस्था पनि सहज थिएन। नयाँ देशमा टिक्न र आफ्नो पहिचान बनाउन उनलाई ठूलो संघर्ष गर्नुपर्यो।
अल्ट्राडले एउटा अन्तर्वार्तामा फ्रान्स पुग्दाको अनुभव सुनाउँदै त्यहाँको चिसो मौसम र मानिसहरूको व्यवहारले आफूलाई निराश बनाएको बताएका छन्। उनले सोचेका थिए, फ्रान्स स्वतन्त्रता, समानता र अवसरको सुन्दर देश हुनेछ। तर वास्तविकतामा आफूले अपेक्षा गरेजस्तो सहज वातावरण पाएनन्।
त्यसपछि उनले एउटा महत्त्वपूर्ण निष्कर्ष निकाले। देशले आफूअनुसार बदलिने प्रतीक्षा गर्नुको सट्टा आफू नै देशको वातावरणअनुसार बदलिनुपर्ने रहेछ। भाषा सिक्नुपर्ने, संस्कृति बुझ्नुपर्ने र समाजमा आफ्नो स्थान बनाउनुपर्ने उनले महसुस गरे।
यो सोच उनको जीवनको अर्को महत्त्वपूर्ण मोड बन्यो।
उनले मोन्टपेलियर विश्वविद्यालयबाट भौतिकशास्त्र र गणितमा स्नातक तहको अध्ययन पूरा गरे। त्यसपछि कम्प्युटर विज्ञानमा उच्च अध्ययन गर्दै पेरिसको आठौँ विश्वविद्यालयबाट विद्यावारिधि हासिल गरे।
बाल्यकालमा विद्यालय जानसमेत नपाएका व्यक्ति केही वर्षको अन्तरालमा उच्च शिक्षाको शिखरमा पुगेका थिए। उनको शैक्षिक यात्राले प्रतिभा र अवसरबीचको सम्बन्धलाई पनि प्रस्ट पार्छ। प्रतिभा जन्मजात हुन सक्छ, तर त्यसलाई परिणाममा बदल्न अवसर खोज्ने र निरन्तर मेहनत गर्ने क्षमता चाहिन्छ।
अल्ट्राडको शैक्षिक उपलब्धि केवल व्यक्तिगत सफलता थिएन। उनी जुन सामाजिक र आर्थिक परिवेशबाट आएका थिए, त्यहाँबाट युरोपको उच्च शिक्षासम्म पुग्नु आफैँमा ठूलो उपलब्धि थियो।
उनले आफ्नो विगतलाई कमजोरीका रूपमा होइन, आफूलाई अघि बढाउने प्रेरणाका रूपमा लिए।
उनको एउटा भनाइले यही सोचलाई अभिव्यक्त गर्छ। उनले आफ्नो जीवनको प्रारम्भिक अवस्थाबारे भनेका छन्, आफूले कुनै ठूलो सपना देखेका थिएनन्, तर आफ्नो नियतिलाई स्वीकार नगर्ने महत्त्वाकांक्षा भने थियो।
इन्जिनियरदेखि उद्यमी बन्ने मोड
उच्च शिक्षा पूरा गरेपछि अल्ट्राडले फ्रान्समै व्यावसायिक जीवन सुरु गरे। सन् १९७६ तिर उनी अल्काटेल र थम्सनजस्ता प्रविधिसम्बन्धी प्रतिष्ठित संस्थामा इन्जिनियरका रूपमा काम गर्न थाले। कम्प्युटर विज्ञानको ज्ञान, प्राविधिक सीप र नयाँ प्रविधिप्रतिको रुचिले उनलाई उद्योगको व्यावहारिक पक्ष बुझ्ने अवसर दियो।
तर उनी जागिरमै सीमित हुन चाहँदैनथे। आफ्नो ज्ञानलाई स्वतन्त्र व्यावसायिक सम्भावनामा बदल्ने सोच विकास हुँदै थियो। केही साथीहरूसँग मिलेर उनले सूचना प्रविधिसम्बन्धी नयाँ व्यवसाय पनि सुरु गरे। पोर्टेबल कम्प्युटर र सूचना प्रविधिसँग सम्बन्धित काममा उनी संलग्न भए। पछि उक्त व्यवसाय बिक्रीबाट उनले उल्लेख्य रकम प्राप्त गरे।
सन् १९८० मा उनले फ्रान्सेली पत्रिका ले मोन्दमा प्रकाशित एउटा विज्ञापन देखे। अबुधाबीको सरकारी तेल कम्पनीमा सूचना प्रविधि क्षेत्रमा काम गर्ने अवसर थियो। मध्यपूर्व फर्किने अवसरका रूपमा उनले त्यसलाई लिए र अबुधाबी नेसनल आयल कम्पनीमा काम सुरु गरे।
अबुधाबीमा उनले तेल उद्योगका लागि सञ्चार तथा सूचना प्रविधिसम्बन्धी काम गरे। समुद्रमा रहेका तेल उत्खनन केन्द्रहरूसँग सञ्चार सम्पर्क स्थापित गर्ने प्राविधिक काममा उनी संलग्न थिए। त्यहाँको औद्योगिक विकास, निर्माण गतिविधि र श्रमिकहरूको कार्यपरिस्थितिले उनको व्यावसायिक दृष्टिकोणमा नयाँ आयाम थप्यो।
उनले निर्माण क्षेत्रमा प्रयोग हुने अस्थायी संरचना र मचानको अवस्था नजिकबाट देखे। विशेषगरी तेल उद्योग र निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको सुरक्षामा पर्याप्त ध्यान नदिइएको अवस्था उनलाई खट्किएको थियो। कमजोर संरचनाका कारण श्रमिकले ज्यानसमेत गुमाउनुपर्ने घटनाले उनलाई निर्माण सुरक्षाको महत्त्व बुझायो।
त्यस समयसम्म उनी सूचना प्रविधिका विशेषज्ञ थिए। तर अब उनको ध्यान औद्योगिक उत्पादन, निर्माण सामग्री र श्रमिक सुरक्षासँग सम्बन्धित व्यवसायमा पनि जान थालेको थियो।
अबुधाबीमा प्राप्त अनुभवले उनलाई एउटा व्यावसायिक सम्भावना देखायो। निर्माण क्षेत्र जहाँ विस्तार हुन्छ, त्यहाँ सुरक्षित मचान, निर्माण उपकरण र औद्योगिक संरचनाको आवश्यकता पनि बढ्छ। यो आवश्यकता कुनै एउटा देशमा मात्र सीमित हुँदैन। संसारभर निर्माण, ऊर्जा, तेल तथा औद्योगिक गतिविधि चलिरहँदा यस्ता उपकरणको बजार रहिरहन्छ।
पछि यही बुझाइ उनको व्यावसायिक सफलताको आधार बन्यो।
एक फ्रान्कमा किनेको संकटग्रस्त उद्योग
सन् १९८५ मा अल्ट्राड फ्रान्स फर्किए। त्यसबेला उनीसँग इन्जिनियरिङको अनुभव थियो, सूचना प्रविधिको ज्ञान थियो र व्यवसाय सञ्चालनको प्रारम्भिक अनुभव पनि थियो। तर निर्माण सामग्री उत्पादन गर्ने उद्योगको प्रत्यक्ष अनुभव भने थिएन।
फ्रान्सको फ्लोरेन्साक क्षेत्रमा छुट्टी मनाउन पुगेका बेला एक छिमेकीमार्फत उनले आर्थिक संकटमा परेको मचान उत्पादन गर्ने एउटा सानो उद्योग बिक्रीमा रहेको जानकारी पाए। उक्त उद्योग ऋणको बोझले थिचिएको थियो। व्यवसाय सञ्चालन गर्न कठिन भइरहेको थियो। सामान्य लगानीकर्ताका लागि त्यो आकर्षक अवसर थिएन।
तर अल्ट्राडले त्यसमा सम्भावना देखे।
उनले अबुधाबीमा चिनजान भएका बेलायती साथी रिचर्ड अल्ककसँग मिलेर उक्त उद्योग किन्ने निर्णय गरे। सार्वजनिक विवरणअनुसार उनीहरूले नाममात्रको एक फ्रान्सेली फ्रान्कमा उद्योगको स्वामित्व लिएका थिए। अल्ट्राडको त्यसमा ९० प्रतिशत हिस्सा थियो। उद्योगको सम्पत्तिसँगै त्यसका दायित्वसमेत स्वीकार गर्नुपर्ने अवस्था थियो।
यो निर्णय सामान्य व्यावसायिक खरिद थिएन।
एकातिर आर्थिक संकटमा परेको उद्योग थियो, अर्कोतिर उत्पादन प्रक्रियाको पर्याप्त अनुभव नभएको नयाँ मालिक। उद्योग चलाउन लगानी चाहिन्थ्यो। पुराना ऋण र दायित्व व्यवस्थापन गर्नुपर्थ्यो।
कर्मचारीको विश्वास जित्नुपर्थ्यो। बजारमा प्रतिस्पर्धा गर्नुपर्ने चुनौती पनि थियो।
तर अल्ट्राडले उद्योगको संकटलाई अन्तिम अवस्था मानेनन्। उनले यसको बजार सम्भावना हेरे। निर्माण, तेल प्रशोधन केन्द्र, विमानस्थल, ऊर्जा आयोजना र अन्य औद्योगिक संरचनामा मचानको आवश्यकता पर्ने भएकाले यसको माग निरन्तर रहने उनको बुझाइ थियो।
उनले उद्योगको व्यवस्थापन सुधार्न थाले। खर्च नियन्त्रण, उत्पादन प्रक्रियाको पुनर्संरचना, जिम्मेवारी बाँडफाँट र कर्मचारीको कामप्रतिको प्रतिबद्धतालाई प्राथमिकता दिए। आफ्नो कमाइको ठूलो हिस्सा व्यवसायमा लगानी गरे। कर्मचारीलाई पनि व्यवसायको भविष्यप्रति विश्वास दिलाए।
अल्ट्राडले आफूले पाँच वर्षमा कमाएको सबै रकम उक्त व्यवसायमा लगानी गरेको कर्मचारीलाई बताएको उल्लेख गरेका छन्। यसले कर्मचारीमा पनि नयाँ मालिकले उद्योगको भविष्यप्रति गम्भीर विश्वास राखेको सन्देश दिएको थियो। उनी केवल मालिकका रूपमा होइन, जोखिम बाँड्ने साझेदारका रूपमा प्रस्तुत हुन चाहन्थे।
उनको व्यवस्थापन शैलीले विस्तारै परिणाम दिन थाल्यो। एक वर्षभित्र उद्योगले सानो नाफा कमाउन थाल्यो। त्यसपछि स्पेन र इटालीमा सहायक व्यवसाय विस्तार गर्ने प्रक्रिया सुरु भयो। एउटा ऋणग्रस्त सानो उद्योगको पुनर्जीवनले अन्तर्राष्ट्रिय व्यवसायको जग बसाल्यो।
यहीँबाट अल्ट्राडको जीवनमा एउटा महत्त्वपूर्ण परिवर्तन आयो। अब उनी केवल जागिरे इन्जिनियर थिएनन्। उनी जोखिम उठाएर उद्योगलाई नयाँ जीवन दिन सक्ने उद्यमी बनिसकेका थिए।
सानो उद्योगबाट अन्तर्राष्ट्रिय विस्तार
अल्ट्राडले व्यवसाय विस्तार गर्दा एउटै उत्पादनमा निर्भर रहने रणनीति अपनाएनन्। निर्माण क्षेत्रमा प्रयोग हुने उपकरण, मचान, सिमेन्ट मिसाउने मेसिन र अन्य औद्योगिक सामग्रीको उत्पादन तथा वितरणलाई क्रमशः विस्तार गर्दै लगे।
सन् १९८९ मा उनले सिमेन्ट मिसाउने मेसिन उत्पादन गर्ने अल्ट्राड सेन्ट डेनिस अधिग्रहण गरे। यसले व्यवसायलाई मचान उत्पादनभन्दा फराकिलो निर्माण उपकरणको क्षेत्रमा पुर्यायो। सन् १९९० को दशकमा फ्रान्सभित्र बजार विस्तारसँगै युरोपका अन्य मुलुकमा पनि व्यवसाय फैलाउने रणनीति अघि बढ्यो।
अल्ट्राडको सफलताको एउटा विशेषता थियो, बजारमा पहिले नै स्थापित ठूला उद्योगसँग प्रतिस्पर्धा गर्नुभन्दा सम्भावना भएका साना तथा मध्यम उद्योगलाई अधिग्रहण गरेर तिनलाई नयाँ व्यवस्थापन र बजारसँग जोड्नु। उनले विभिन्न देशका उद्योगको क्षमता पहिचान गरे। उत्पादन, वितरण, ग्राहक सम्बन्ध र व्यवस्थापनलाई एकीकृत गर्दै गए।
सन् १९९७ तिर युरोपमा सहायक संस्था स्थापना र लक्षित अधिग्रहणमार्फत विस्तारको गति तीव्र भयो। सन् २००६ मा बेल्जियमको बालियाउलाई अधिग्रहण गरेपछि औद्योगिक सेवाको क्षेत्रमा प्रवेश थप बलियो बन्यो। यसले निर्माण उपकरण उत्पादन गर्ने व्यवसायलाई औद्योगिक मर्मतसम्भार, प्राविधिक सेवा र व्यवस्थापनसँग जोड्यो।
सन् २०१५ मा नेदरल्यान्ड्सको हर्टेल अधिग्रहण गरियो। त्यसपछि सन् २०१६ मा फ्रान्सको प्रेजियोसो लिंजबर्ग र सन् २०१७ मा बेलायतको केप समूह अधिग्रहण गरियो। यी अधिग्रहणले व्यवसायको आकार र अन्तर्राष्ट्रिय पहुँच दुवैमा ठूलो परिवर्तन ल्याए। दुई वर्षको अवधिमा समूहको आकार तीन गुणासम्म बढेको उसको व्यावसायिक इतिहासमा उल्लेख छ।
अल्ट्राडले विस्तारका लागि अधिग्रहणलाई मात्र माध्यम बनाएनन्।
नयाँ बजार, नयाँ सेवा र नयाँ प्रविधि थप्दै व्यवसायको संरचना परिवर्तन गरे। तेल तथा ग्यास उद्योग, ऊर्जा उत्पादन, आणविक ऊर्जा, जहाज निर्माण, औद्योगिक प्रशोधन, निर्माण र नवीकरणीय ऊर्जासम्म सेवा विस्तार भयो।
सन् २०२१ मा मात्र समूहले ११ वटा व्यवसाय अधिग्रहण गरेको थियो। ती अधिग्रहणबाट थपिएको आम्दानी करिब १.७ अर्ब युरो रहेको समूहको इतिहासमा उल्लेख छ। सन् २०२३ मा स्पेन र इटालीका उद्योग अधिग्रहण भए।
सन् २०२४ मा नर्वेको बेरेनबर्गलाई पूर्ण रूपमा आफ्नो स्वामित्वमा ल्याउने प्रक्रिया पूरा भयो। सन् २०२५ मा बेलायतका स्टोर्क र हेरास मोबाइल फेन्सिङ एन्ड सेक्युरिटीसँग सम्बन्धित व्यवसाय थपिए।
यो विस्तार केवल कम्पनीहरूको संख्या बढाउने अभियान थिएन। फरक देशका उद्योग, श्रमिक, प्राविधिक क्षमता र बजारलाई एउटै व्यावसायिक संरचनामा जोड्ने प्रयास थियो। अल्ट्राडले यही रणनीतिबाट आफ्नो व्यक्तिगत नेतृत्वलाई अन्तर्राष्ट्रिय औद्योगिक व्यवसायको पहिचानमा रूपान्तरण गरे।
विश्वका ५१ देशमा फैलिएको व्यावसायिक उपस्थिति
चार दशकअघि एक फ्रान्सेली गाउँमा ऋणग्रस्त सानो उद्योग किनेर व्यवसाय सुरु गरेका अल्ट्राडको नेतृत्वमा आज अन्तर्राष्ट्रिय औद्योगिक समूह सञ्चालनमा छ। सन् २०२५ को वार्षिक प्रतिवेदनअनुसार उनको समूह ५१ भन्दा बढी देशमा फैलिएको छ। त्यसमा ६४ हजार ४९८ कर्मचारी कार्यरत छन्। औद्योगिक सेवा र निर्माण उपकरण उत्पादन तथा वितरण यसका प्रमुख व्यावसायिक क्षेत्र हुन्।
उनको व्यवसायको विशेषता एउटै उद्योग वा उत्पादनमा सीमित नहुनु हो। निर्माण क्षेत्रमा प्रयोग हुने मचान र उपकरणदेखि तेल तथा ग्यास उद्योगका जटिल संरचनाको मर्मतसम्भारसम्म यसको कार्यक्षेत्र फैलिएको छ। ऊर्जा उत्पादन, आणविक ऊर्जा, जहाज निर्माण, औद्योगिक प्रशोधन, वातावरण र नवीकरणीय ऊर्जासँग सम्बन्धित क्षेत्रमा पनि समूहले सेवा प्रदान गर्छ।
यसले अल्ट्राडको व्यावसायिक सोचलाई स्पष्ट पार्छ। बजारको एउटा क्षेत्रमा सफलता पाएपछि त्यही क्षेत्रमा मात्र सीमित रहनुभन्दा त्यससँग सम्बन्धित अन्य आवश्यकताहरू पहिचान गरेर नयाँ बजार सिर्जना गर्न सकिन्छ भन्ने उनको रणनीति थियो।
उदाहरणका लागि निर्माण क्षेत्रमा मचान उत्पादन गर्ने व्यवसायसँग औद्योगिक मर्मतसम्भारको सम्बन्ध जोड्न सकिन्छ। ठूला उद्योगलाई संरचना निर्माणका लागि उपकरण मात्र होइन, त्यसको निरीक्षण, मर्मत, सुरक्षा र प्राविधिक व्यवस्थापन पनि आवश्यक पर्छ। यही आवश्यकतालाई व्यावसायिक अवसरमा बदल्दै उनले उत्पादन र सेवाबीचको सम्बन्ध विस्तार गरे।
यसले समूहलाई निर्माण क्षेत्रको उतारचढावमा मात्र निर्भर हुनुपर्ने अवस्था कम गर्यो। विभिन्न उद्योग र देशमा फैलिएको बजारले व्यावसायिक जोखिम बाँड्न सहयोग पुर्यायो। कुनै एउटा क्षेत्रमा आर्थिक गतिविधि सुस्त हुँदा अर्को क्षेत्रमा प्राप्त अवसरले व्यवसायलाई निरन्तरता दिन सक्ने आधार तयार भयो।
उनको व्यवसायको आकार बुझ्न एउटा तथ्य पर्याप्त छ। सन् २०१४ मै समूहको आम्दानी करिब एक अर्ब अमेरिकी डलर पुगेको थियो र त्यसका विश्वभर ११० सहायक संस्था तथा करिब सात हजार कर्मचारी थिए। त्यसपछि भएका अधिग्रहण र बजार विस्तारले व्यवसायलाई अझ ठूलो बनाउँदै लग्यो।
अन्तर्राष्ट्रिय धनाढ्यहरूको सूचीमा पनि अल्ट्राडको नाम स्थापित छ। फोर्ब्सको २५ नोभेम्बर २०२६ को वास्तविक समयको सम्पत्ति अनुमानअनुसार उनको व्यक्तिगत सम्पत्ति करिब ६.२ अर्ब अमेरिकी डलर छ। यो बजार मूल्यांकनमा आधारित अनुमान हो, नगद सम्पत्ति होइन।
सम्पत्तिभन्दा मानिसलाई प्राथमिकता
अल्ट्राडको व्यावसायिक सफलताको चर्चा गर्दा उनको व्यवस्थापन दर्शन पनि महत्त्वपूर्ण हुन्छ। उनी व्यवसायलाई केवल लगानी, उत्पादन, बिक्री र नाफाको हिसाबले हेर्दैनन्। कर्मचारी, उनीहरूको क्षमता, प्रतिबद्धता र सामूहिक प्रयासलाई सफलताको आधार मान्छन्।
उनको विचारमा उद्यमीले एक्लै व्यवसाय निर्माण गर्न सक्दैन। व्यवसायमा संलग्न प्रत्येक व्यक्तिको योगदानले मात्रै संस्था बलियो हुन्छ। कर्मचारीले आफ्नो व्यक्तिगत प्रतिबद्धता र श्रम लगानी नगरेसम्म कुनै पनि व्यावसायिक योजना सफल हुन नसक्ने उनको मान्यता छ।
अल्ट्राड समूहको व्यवस्थापन दर्शनमा पाँचवटा मूल्यमान्यतालाई विशेष महत्त्व दिइएको छ। विनम्रता, साहस, सम्मान, आत्मीयता र एकता। यी मूल्यलाई संस्थागत संस्कृतिको आधारका रूपमा व्याख्या गरिएको छ।
विनम्रताले सिक्ने र गल्तीबाट सुधार गर्ने संस्कारलाई जोड दिन्छ। साहसले कठिन निर्णय लिन र जोखिम उठाउन प्रेरित गर्छ। सम्मानले कर्मचारी, ग्राहक र साझेदारसँगको सम्बन्धलाई बलियो बनाउँछ। आत्मीयता र एकताले फरक देश तथा संस्कृतिका मानिसलाई एउटै उद्देश्यमा जोड्ने काम गर्छ।
यो दर्शन उनको आफ्नै जीवन अनुभवसँग पनि जोडिन्छ। बाल्यकालमा शिक्षा र अवसरबाट वञ्चित भएका उनले ज्ञान हासिल गर्ने अवसर पाएपछि आफ्नो जीवन परिवर्तन गरे।
त्यसैले संस्थामा पनि मानिसको क्षमता विकास र सामूहिक सहभागितालाई महत्त्व दिन्छन्।
सन् २०१७ मा प्रकाशित एक अन्तर्वार्तामा उनले आफ्नो समूहको मानवतावादी व्यावसायिक दृष्टिकोणबारे चर्चा गरेका थिए। कर्मचारीलाई व्यवसायको उपलब्धिमा सहभागी गराउने र नाफाको केही हिस्सा निश्चित मापदण्डअनुसार कर्मचारीलाई फर्काउने अभ्यासबारे पनि उनले बताएका थिए।
अल्ट्राडको विचारमा व्यवसायको सफलता केवल मालिकको सम्पत्तिमा भएको वृद्धिले मापन गर्नु पर्याप्त हुँदैन। त्यसले कर्मचारीको जीवन, ग्राहकको आवश्यकता र समाजमा सिर्जना गरेको मूल्यलाई पनि समेट्नुपर्छ।
उनले सन् २०२५ को वार्षिक प्रतिवेदनमा समूहको चार दशक लामो यात्राबारे लेख्दै सफलताको आधार कर्मचारी, ग्राहकसँगको विश्वास, परिवर्तनसँग अनुकूलन र निरन्तर नयाँपनलाई मानेका छन्। उनका अनुसार कठिन समय पार गर्न संस्थाको लचिलोपन र त्यसमा काम गर्ने मानिसको योगदान निर्णायक हुन्छ।
व्यवसायसँगै साहित्य र खेलकुदमा पनि पहिचान
अल्ट्राडलाई केवल उद्योगपति भनेर चिनाउनु उनको व्यक्तित्वको एउटा पक्ष मात्र हो। उनी साहित्यकार, उपन्यासकार र निबन्धकार पनि हुन्। व्यवसायको व्यस्तताबीच उनले साहित्यलाई आफ्नो अभिव्यक्तिको माध्यम बनाएका छन्।
उनका प्रकाशित कृतिमध्ये ‘बदावी’ विशेष चर्चित छ। यो कृति उनको आफ्नै बाल्यकाल, बेदुइन जीवन र सामाजिक परिवेशसँग जोडिएको छ। मरुभूमिमा जन्मिएको बालकले भोगेको अभाव, परिवारको सम्बन्ध, पहिचान र स्वतन्त्रताको खोजलाई यसमा प्रस्तुत गरिएको छ। उनको साहित्यिक यात्राले व्यवसायीको पहिचानभन्दा बाहिर पनि उनको सोच र अनुभवलाई बुझ्ने अवसर दिन्छ।
फ्रान्सेली शिक्षासम्बन्धी निकायले उनको पुस्तकलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न सिफारिस गरेको विवरण पनि सार्वजनिक अन्तर्वार्तामा आएको छ। यसले उनको जीवनकथा साहित्यिक र शैक्षिक दृष्टिले समेत चासोको विषय बनेको देखाउँछ।
खेलकुदमा पनि उनको रुचि गहिरो छ। उनी फ्रान्सको मोन्टपेलियर हेरो रग्बी क्लबका अध्यक्ष हुन्। व्यवसायबाट प्राप्त स्रोत र व्यवस्थापकीय अनुभवलाई खेलकुद क्षेत्रमा पनि प्रयोग गरेका छन्। रग्बी फ्रान्समा लोकप्रिय खेल हो र मोन्टपेलियर क्लब राष्ट्रिय प्रतियोगिताको शीर्ष तहमा प्रतिस्पर्धा गर्ने टोलीमध्ये पर्छ।
खेलकुदप्रतिको उनको लगाव केवल मनोरञ्जनमा सीमित छैन। खेलकुदले अनुशासन, सामूहिकता, नेतृत्व, प्रतिस्पर्धा र कठिन परिस्थितिमा एकजुट भएर अघि बढ्ने संस्कार विकास गर्ने उनको दृष्टिकोणसँग मेल खान्छ। व्यवसायमा जस्तै खेलकुदमा पनि व्यक्तिगत प्रतिभाभन्दा सामूहिक प्रदर्शनलाई महत्त्व दिनुपर्ने मान्यता उनको नेतृत्व शैलीमा देखिन्छ।
सन् २०१४ मा उनलाई फ्रान्सको प्रतिष्ठित सम्मान ‘लेजिओँ द अनर’ को अधिकृत पदक प्रदान गरिएको थियो। त्यसको एक वर्षपछि सन् २०१५ मा उनले विश्व उद्यमी वर्षको सम्मान प्राप्त गरे।
विश्वका ५३ देशका ६५ राष्ट्रिय विजेताबीचबाट उनलाई उक्त सम्मान प्रदान गरिएको थियो। यस सम्मानले उनको व्यक्तिगत संघर्ष, व्यावसायिक विस्तार र लामो समयसम्म व्यवसायलाई निरन्तर वृद्धि गराउने क्षमताको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्यो।
उक्त सम्मान प्राप्त गरेपछि उनले आफ्नो सफलताको श्रेय एक्लै लिन चाहेनन्। आफ्नो कथा अरूलाई पनि आफ्नो नियति परिवर्तन गर्न सकिन्छ भन्ने सन्देश दिने माध्यम बनोस् भन्दै सम्मान सबैलाई समर्पित गरेको बताएका थिए।
सफलताको यात्रामा देखिएको विवाद
अल्ट्राडको जीवन र व्यावसायिक यात्रालाई केवल उपलब्धिको सूचीका रूपमा प्रस्तुत गर्दा उनको सार्वजनिक व्यक्तित्वको अर्को महत्त्वपूर्ण पक्ष छुट्न सक्छ। व्यवसाय, खेलकुद र सार्वजनिक जीवनमा सक्रिय रहँदा उनी विवादमा पनि तानिएका छन्।
विशेषगरी फ्रान्सेली रग्बी महासंघका तत्कालीन अध्यक्ष बर्नार्ड लापोर्टसँग जोडिएको प्रकरणले उनको प्रतिष्ठामा प्रश्न उठाएको थियो।
सन् २०१७ मा लापोर्ट र अल्ट्राडबीच भएको आर्थिक सम्झौता तथा फ्रान्सेली रग्बी महासंघका निर्णयमा अल्ट्राडको व्यावसायिक हितलाई प्राथमिकता दिइएको आरोप यस प्रकरणको केन्द्रमा थियो।
पेरिसको अदालतले सन् २०२२ डिसेम्बर १३ मा अल्ट्राडलाई सक्रिय भ्रष्टाचार, प्रभावको दुरुपयोग र संस्थागत सम्पत्तिको दुरुपयोगसम्बन्धी कसुरमा दोषी ठहर गर्दै १८ महिना निलम्बित कैद, ५० हजार युरो जरिवाना र अयोग्यतासम्बन्धी सजाय सुनाएको थियो। उनले उक्त फैसलाविरुद्ध पुनरावेदन गरेका छन्। त्यसैले यो मुद्दाको अन्तिम कानुनी टुङ्गो लागिसकेको छैन।
सन् २०२६ सेप्टेम्बरमा हुने भनिएको पुनरावेदन सुनुवाइ पनि सरेर सन् २०२७ मार्चमा पुगेको छ। यसले उनको व्यावसायिक र सार्वजनिक जीवनमा सफलतासँगै जवाफदेहिताको प्रश्न पनि जोडिएको देखाउँछ।
यो प्रकरणले एउटा महत्त्वपूर्ण कुरा स्मरण गराउँछ। ठूलो आर्थिक सफलता र अन्तर्राष्ट्रिय पहिचान हासिल गरेको व्यक्तिको व्यावसायिक नेतृत्व पनि पारदर्शिता, नैतिकता र कानुनी जवाफदेहिताको कसौटीमा परीक्षण हुनुपर्छ। उद्यमशीलताको सफलताले सार्वजनिक जीवनका प्रश्नबाट उन्मुक्ति दिँदैन।
नियति बदल्ने अठोटको कथा
मोहेद अल्ट्राडको जीवनलाई फर्केर हेर्दा उनको सफलताको सुरुवात कुनै ठूलो पुँजी, पारिवारिक विरासत वा व्यावसायिक पहुँचबाट भएको थिएन। उनीसँग न पर्याप्त आर्थिक स्रोत थियो, न शिक्षित परिवारको पृष्ठभूमि, न व्यवसाय सञ्चालनको लामो अनुभव। तर उनीसँग एउटा महत्त्वपूर्ण क्षमता थियो, परिस्थितिलाई आफ्नो भविष्यको अन्तिम निर्णय मान्न अस्वीकार गर्ने क्षमता।
बाल्यकालमा विद्यालय जान नपाएका उनले आफैँ पढ्न सिके। त्यसपछि छात्रवृत्ति प्राप्त गरेर फ्रान्स पुगे। नयाँ भाषा र समाजसँग संघर्ष गर्दै उच्च शिक्षा हासिल गरे। इन्जिनियरका रूपमा काम गरे, सूचना प्रविधिको व्यवसाय सुरु गरे र अन्ततः ऋणग्रस्त उद्योग अधिग्रहण गरेर अन्तर्राष्ट्रिय व्यवसाय निर्माण गरे।
उनको यात्राबाट तीनवटा व्यावसायिक पाठ विशेष रूपमा बुझ्न सकिन्छ।
पहिलो, अवसरको प्रतीक्षा मात्र गरेर हुँदैन, अवसर पहिचान गर्न सक्ने दृष्टिकोण पनि चाहिन्छ। अल्ट्राडले आर्थिक संकटमा परेको उद्योगमा अरूले जोखिम देख्दा सम्भावना देखे। बजारको आवश्यकता बुझेर निर्णय गरे।
दोस्रो, व्यवसाय विस्तारका लागि समयअनुसार आफूलाई बदल्न सक्नुपर्छ। उनले मचान उत्पादनबाट सुरु गरेको व्यवसायलाई निर्माण उपकरण, औद्योगिक सेवा, ऊर्जा र अन्य क्षेत्रमा विस्तार गरे। बजारको परिवर्तनसँगै व्यवसायको स्वरूप पनि परिवर्तन गर्दै लगे।
तेस्रो, दीर्घकालीन सफलता सामूहिक क्षमतामा निर्भर हुन्छ। कर्मचारीको सहभागिता, व्यवस्थापनको विश्वास र फरक देशका मानिसलाई एउटै उद्देश्यमा जोड्ने क्षमता उनको व्यवसाय विस्तारको महत्त्वपूर्ण आधार बन्यो।
सन् २०१५ मा विश्व उद्यमी वर्षको सम्मान प्राप्त गर्दा अल्ट्राडले आफ्नो जीवनकथाबाट अरूले पनि आफ्नो भाग्य बदल्न सकिन्छ भन्ने सन्देश पाऊन् भन्ने चाहना व्यक्त गरेका थिए। यो भनाइ उनको जीवनको सारसँग मेल खान्छ।
उनले मरुभूमिमा जन्मिएको बालकको पहिचानलाई आफ्नो सीमितता बन्न दिएनन्।
अभावबाट शिक्षा, शिक्षाबाट सीप, सीपबाट उद्यम र उद्यमबाट अन्तर्राष्ट्रिय पहिचानसम्मको यात्रा तय गरे।
आज उनको सम्पत्ति अर्बौं डलरमा मूल्यांकन हुन्छ। उनको नेतृत्वमा निर्माण भएको व्यावसायिक संरचनामा हजारौँ मानिसले रोजगारी पाएका छन्। तर उनको सफलताको सबैभन्दा रोचक पक्ष भनेको एउटा सानो, ऋणग्रस्त उद्योगमा देखेको सम्भावनालाई चार दशकसम्म निरन्तर विस्तार गर्न सक्नु हो।
मोहेद अल्ट्राडको कथा त्यसैले केवल धनी बन्ने कथा होइन। यो जन्मको परिस्थिति, सामाजिक पृष्ठभूमि र आर्थिक अभावले मानिसको अन्तिम गन्तव्य निर्धारण गर्दैन भन्ने उदाहरण हो। तर त्यसका लागि सपना देख्नु मात्र पर्याप्त हुँदैन। ज्ञान हासिल गर्नुपर्छ, जोखिम उठाउनुपर्छ, गल्तीबाट सिक्नुपर्छ र समयसँगै आफूलाई बदल्न सक्नुपर्छ।
मरुभूमिमा गोठालो बन्ने भविष्य देखाइएका बालकले विश्वव्यापी औद्योगिक व्यवसायको नेतृत्वसम्म पुग्नुको आधार यही अठोट थियो।
