काठमाडौं। नेपाल सरकारले अमेरिकी सहयोगमा सञ्चालित मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को कार्यान्वयन अवधि थप एक वर्ष बढाउन अमेरिकासमक्ष प्रस्ताव पठाउने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को हालै बसेको बैठकले एमसीसी–कम्प्याक्टको समयसीमा एक वर्ष विस्तारका लागि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई अनुरोध गर्ने प्रस्ताव पारित गरेको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन्। सरकारको निर्णयपछि अब अर्थ मन्त्रालयले औपचारिक रूपमा एमसीसीलाई पत्राचार गर्ने तयारी गरेको छ। त्यसपछि अवधि थपसम्बन्धी प्रस्ताव एमसीसी बोर्डमा प्रस्तुत हुनेछ।
एमसीसीअन्तर्गत नेपालमा विद्युत् प्रसारण लाइन निर्माण तथा सडक स्तरोन्नतिका आयोजना सञ्चालनमा छन्। कार्यक्रमअन्तर्गत ३१५ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माण र सडक सुधारका काम अघि बढाइएको छ।
सन् २०२३ को अगस्टमा कार्यान्वयन चरणमा प्रवेश गरेको एमसीसी नेपाल कम्प्याक्ट पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको थियो। परियोजनाको समयसीमा थप गर्न एमसीए–नेपालले गत मे महिनाको मध्यतिर अर्थ मन्त्रालयमा प्रस्ताव पठाउँदै नेपाल सरकारका तर्फबाट एमसीसीलाई औपचारिक अनुरोध गर्न आग्रह गरेको थियो। उक्त प्रस्ताव अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको थियो।
एमसीसीले परियोजना कार्यान्वयनका लागि नेपाललाई ५५ करोड अमेरिकी डलर अनुदान उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। नेपाल सरकारले पनि १९ करोड ७० लाख अमेरिकी डलर योगदान गर्ने योजना रहेको छ। दुवै पक्षको योगदानसहित परियोजनाको कुल बजेट ७४ करोड ७० लाख अमेरिकी डलर रहेको छ।
एमसीए–नेपालका स्रोतका अनुसार अवधि थपिए पनि नेपाल सरकारलाई अतिरिक्त आर्थिक भार पर्ने छैन। एमसीसीअन्तर्गतका मुख्य आयोजना विद्युत् प्रसारण प्रणाली विस्तार तथा पूर्व–पश्चिम महेन्द्र राजमार्गको एक खण्ड स्तरोन्नतिसँग सम्बन्धित छन्।
सरकारले अवधि विस्तारको प्रस्ताव अघि बढाएपछि अब त्यसलाई एमसीसी बोर्डले अनुमोदन गर्नुपर्नेछ। बोर्डको आगामी बैठक डिसेम्बर ८ मा बस्ने तय भएको र उक्त बैठकमा नेपालको परियोजना अवधि थपसम्बन्धी प्रस्ताव प्रस्तुत हुन सक्ने सम्भावना रहेको स्रोतले जनाएको छ। सरकारको निर्णय भए पनि बोर्डबाट स्वीकृति प्राप्त भएपछि मात्रै अवधि विस्तार लागू हुनेछ।
गत अक्टोबरमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अमेरिका भ्रमणका क्रममा पनि परियोजनाको समयसीमा विस्तारबारे छलफल भएको थियो। त्यस क्रममा एमसीसीका कम्प्याक्ट अपरेसनका निमित्त उपाध्यक्ष ज्यासन स्मलले अर्थमन्त्रीसँग भेट गरेका थिए। उक्त भेटमा परियोजना समय थप गरेर भए पनि सफलतापूर्वक सम्पन्न गर्ने विषयमा छलफल भएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।
एमसीसीअन्तर्गत हालसम्म हासिल भएको उपलब्धिमध्ये ४०० केभी न्यू बुटवल सबस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्ने १८ किलोमिटर सीमापार प्रसारण लाइन खण्डको निर्माण सम्पन्न भएको छ। एमसीए–नेपालका अनुसार गत भदौको अन्तिमतिर सम्पन्न उक्त काम विद्युत् सञ्जाल सुदृढीकरण तथा सीमापार विद्युत् व्यापार विस्तारका लागि महत्वपूर्ण उपलब्धि हो।
