Logo

चितवनको इच्छाकामना गाउँपालिकाको आम्दानीको मुख्य स्रोत पर्यटन

अ+ अ-

चितवन। चितवनको इच्छाकामना गाउँपालिकाको प्रमुख आम्दानीको स्रोत पर्यटन क्षेत्र रहेको छ । उक्त गाउँपालिका चितवनको एक मात्र गाउँपालिका हो ।

जिल्लाको उत्तरी पहाडी क्षेत्रमा रहेको यो गाउँपालिकाको आन्तरिक आम्दानीको स्रोत नदीजन्य पदार्थ भए पनि यसमा विवाद आउँदा आम्दानी हुन समस्या हुँदै आएको छ । नदीजन्य पदार्थ गिट्टी, ढुङ्गा, बालुवापछि पर्यटन क्षेत्रबाटै आम्दानी हुने गरेको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नदीजन्य सामग्रीमा ठेक्का लाग्न समस्या आउने गरेको छ, आम्दानीको स्रोत यही हो तर यसको कुनै भर छैन । नदीजन्य करबाहेक पालिकाको आम्दानीको स्रोत पर्यटनबाटै हो ।” कुरिनटारमा रहेको मनकामना जाने केबुलकारबाट पालिकाले कर सङ्कलन गर्दै आएको छ ।

यसबाट वार्षिक ६० लाख रुपियाँभन्दा धेरै सङ्कलन हुने गरेको पालिकाका अध्यक्ष गुरुङले बताउनुभयो । पहाडी क्षेत्र भएकाले यहाँका धेरै स्थान पर्यटकीय स्थलका रूपमा विकास गरिएको छ । धार्मिक तथा ऐतिहासिक क्षेत्र आन्तरिक र बाह्य पर्यटकको रोजाइ बनेको छ । उहाँका अनुसार गाउँपालिकाको वडा नं. ६ मा रहेको जलबिरे झरना मुख्य आम्दानीको स्रोत रहेको छ ।

यसबाट पालिकाले वार्षिक ३५ लाख रुपियाँभन्दा धेरै राजस्व सङ्कलन गर्दै आएको छ । यसलाई अझै प्रचारप्रसार गरेर वार्षिक एक करोड रुपियाँ राजस्व उठाउने गरी पालिकाले योजना बनाएको अध्यक्ष गुरुङले बताउनुभयो । १०२ मिटरभन्दा लामो यो झरना नारायणगढबाट मुग्लिङतर्फ २७ किलोमिटर र मुग्लिङबाट नारायणगढतर्फ सात किमीको दुरीमा पर्दछ । सडकबाट एक किमी उकालो बाटो हिँडेपछि झरनामा पुग्न सकिन्छ ।

जलबिरे झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले यहाँ बढी चितवन, नवलपुर, तनहुँ, मकवानपुर, पर्सा, पोखरा, काठमाडौँलगायत सहरबाट पर्यटक आउने गरेको बताउनुभयो ।

शनिबार तथा सार्वजनिक बिदाका दिन धेरै पर्यटन यहाँ आउने गरेका छन् । शनिबार मात्रै पाँच सयभन्दा बढी पर्यटक यहाँ आउने गरेको गुरुङले जानकारी दिनुभयो । जलबिरे झरनामा असोजसम्म पर्यटकको भिड लाग्ने गरेको छ । वडा, गाउँपालिका र समितिमार्फत सरसफाइ व्यवस्थापन र रेखदेखको काम भइरहेको छ । विसं २०६९ देखि जलबिरे झरनामा पर्यटन विकास सुरु भएको गुरुङले बताउनुभयो ।

पालिकाको अर्को आम्दानीको पर्यटकीय क्षेत्र ऐतिहासिक उपरदाङगढी हो । वार्षिक ४० हजारभन्दा बढीले यस स्थानको अवलोकन गर्ने गरेका छन् । यस स्थानबाट पालिकाले २० लाख रुपियाँभन्दा धेरै राजस्व सङ्कलन गर्दै आएको छ । यहाँ दुई दर्जनभन्दा धेरै घरबास सञ्चालनमा रहेका छन् । यहाँ साना ग्रामीण रिसोर्ट सञ्चालनमा छ । गर्मीमा पनि चिसो हुने भएकाले चैतदेखि कात्तिकसम्म यस क्षेत्रमा आन्तरिक पर्यटकको भिड लाग्ने गरेको छ ।

जिल्लाको सबैभन्दा अग्लो चुचुरो सिराइचुली यस पालिकाको वडा नं. १ मा पर्दछ । यसको संरक्षण र प्रवर्धनका लागि गाउँपालिकाले सिँढीसहितको बाटो बनाउने, सरसफाइ गर्ने काम गरिराखेको छ । “यहाँ रेलिङ, फलामे बेन्च, हेर्ने ठाउँ बनाइएको छ । नजिकैको काली र सिद्धबाबा मन्दिरको संरक्षण गर्ने काम भएको छ,” अध्यक्ष गुरुङले भन्नुभयो, “थप निर्माणमा झन्डा राख्ने, स्तम्भ बनाउने, अन्य सानातिना पूर्वाधार बनाउने काम गरिरहेका छौँ । यहाँको सौन्दर्य नबिगार्ने गरी संरचना बनाउने काम गरिरहेका छौँ ।”

यहाँ वार्षिक करिब २० हजार पर्यटक आउने गरेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । यसबाट पनि पालिकाले आम्दानी गर्दै आएको छ । यसै गरी पालिकाको अर्को धार्मिक तथा पर्यटकीय स्थल हो इच्छाकामना मन्दिर । गोरखाको मनकामना, इच्छाकामना र त्रिवेणी वराह दिदीबहिनीका रूपमा परिचित रहेको छ ।  वार्षिक ६० हजारभन्दा बढी पर्यटक मन्दिर दर्शनका लागि आउने गरेको पालिका अध्यक्ष गुरुङले बताउनुभयो । त्यहाँबाट उठेको भेटी गाउँपालिकाको राजस्वमा जम्मा हुने व्यवस्था गरिएको छ ।