काठमाडौं- शिखर पावर डेभलपमेन्ट कम्पनीको आइपीओमा आवेदन खुलेको छ। कम्पनीले आइतबारदेखि सर्वसाधारण लगानीकर्ताको लागि सेयर निष्कासन गरेको हो।
कम्पनीले सर्वसाधारणको लागि १८ करोड ४२ लाख ६० हजार रुपैयाँ बराबरको १८ लाख ४२ हजार ६०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याएको छ। त्यसैगरी, कम्पनीले कर्मचारीहरुका लागि ४४ हजार ४०० कित्ता छुट्याएको छ।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट गरिसकेको छ।
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्कासन बन्द छिटोमा फागुन २६ गते हुनेछ भने ढिलोमा चैत १ गते हुनेछ।
आइपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।