नेपालगन्ज । पश्चिम नेपालमा एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले भारतबाट ग्यासको आयात बढाएको छ। निगमले साउनमा असारको तुलनामा १ हजार ३४४ मेट्रिक टन बढी ग्यास आयात गरेको हो।
निगम नेपालगन्जका प्रमुख अजितकुमार पोखरेलका अनुसार असारमा ३ हजार ६३६ मेट्रिक टन ग्यास आयात भएकोमा साउनमा बढाएर ४ हजार ९८० मेट्रिक टन पुर्याइएको छ। यो असारको तुलनामा करिब ९३ हजार ९८० सिलिन्डर बढी हो।
असारको अन्तिम सातादेखि बजारमा अभावको गुनासो आएपछि आयात बढाइएको पोखरेलले बताए। उनका अनुसार भारतबाट नियमित आपूर्ति भइरहेकाले आयातमा समस्या छैन।
निगमका अनुसार साउनमा भेरी ग्यासले २ हजार ८३९, मनकामना ग्यासले ९११, नेपाल कर्णाली ग्यासले ३२९ र राप्ती ग्यासले ८९९ मेट्रिक टन ग्यास आयात गरेका छन्।
नेपालगन्ज क्षेत्रमा मात्रै साउनमा २७७ बुलेट अर्थात् ३ लाख ५१ हजार ७९० सिलिन्डर ग्यास आयात भएको निगमले जनाएको छ। आयातको पछिल्लो परिमाणले बजारको माग धान्न पर्याप्त हुने निगमको दाबी छ।
बाँके, बर्दिया, दाङसँगै कर्णालीका जिल्लामा समेत आपूर्ति सहज बनाउन निगमले आयात र वितरणमा ध्यान दिएको जनाएको छ।
यसैबीच, बाँकेमा ग्यासको उपलब्धता र वितरण अवस्थाबारे जिल्ला प्रशासन कार्यालयले अनुगमन जारी राखेको छ। प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार जिल्लामा अहिले ग्यासको अभाव छैन।
तर व्यवसायीहरूले भने उद्योगबाट मागअनुसार ग्यास नपाएको गुनासो गरेका छन्। नेपालगन्जकी ग्यास व्यवसायी गीता रेग्मीले मासिक ३ हजार ५०० सिलिन्डर पाउँदै आएकोमा पछिल्लो समय २ हजार ४०० सिलिन्डर मात्रै पाउन थालेको बताइन्।
