काठमाडौं। नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७.५८ प्रतिशतले बढेको हो।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले ६ अर्ब ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा नाफा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँले बढेको हो।
नाफामा उल्लेख्य वृद्धि भए पनि कम्पनीको सञ्चालन आम्दानी भने मध्यम दरमा बढेको छ। टेलिकमको कुल सञ्चालन आय ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँको तुलनामा ३.१२ प्रतिशत बढी हो।
त्यस्तै, कम्पनीको कुल आय ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आय ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ थियो। कुल आयमा १ अर्ब १ करोड १५ लाख रुपैयाँ अर्थात् २.६५ प्रतिशत वृद्धि भएको छ।
करअघिको नाफा ३४.६६% बढ्यो
समीक्षा अवधिमा नेपाल टेलिकमको करअघिको नाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको ९ अर्ब ८५ करोड २ लाख रुपैयाँको तुलनामा यो ३ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ अर्थात् ३४.६६ प्रतिशत बढी हो।
कम्पनीको ईबीआईटीडीए २० अर्ब ४८ करोड १ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको १८ अर्ब ४९ करोड ६० लाख रुपैयाँको तुलनामा ईबीआईटीडीए १०.७३ प्रतिशतले बढेको हो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ४९ रुपैयाँ २५ पैसा कायम भएको छ।
ब्याज आय घट्यो, जीएसएमले राजस्व धान्यो
टेलिकमको नाफा बढे पनि ब्याज आम्दानीमा भने दबाब देखिएको छ। कम्पनीका अनुसार ब्याजदर क्रमिक रूपमा घट्दा अघिल्लो आर्थिक वर्षको तुलनामा ब्याज आय ८६ करोड १९ लाख रुपैयाँ अर्थात् २२.८८ प्रतिशतले घटेको छ।
अर्कोतर्फ, सञ्चालन आम्दानी बढाउन जीएसएम सेवाको राजस्वले मुख्य योगदान गरेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा जीएसएम सेवातर्फको राजस्व ६४ करोड ५४ लाख रुपैयाँ अर्थात् २.२८ प्रतिशतले बढेको कम्पनीले जनाएको छ।
नेपाल टेलिकमले व्यावसायिक प्रतिफल कम हुने भए पनि राष्ट्रको सञ्चार सेवाको दायित्वअनुसार विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार र गुणस्तर सुधारलाई निरन्तरता दिइरहेको जनाएको छ।
