काठमाडौँ। जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त काठमाडौँको बालुवाटारस्थित पाँचतारे लक्जरी बुटिक हेरिटेज होटल ‘वर्णवास म्युजियम होटल’ आगामी अक्टोबरभित्र पुनः सञ्चालनमा आउने भएको छ ।
आन्दोलनपछि पूर्ण रूपमा बन्द भएको होटलको पुनर्निर्माण तथा रेनोभेसनको काम अहिले भइरहेको र अक्टोबरभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको सञ्चालक राजेन्द्र बजगाईंले बताउनुभयो ।
२०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा होटलमा तोडफोडपछि आगजनी भएको थियो । स्थानीयको सहयोगमा आगो तत्काल नियन्त्रणमा लिइएकाले भवन पूर्ण रूपमा जलेर ध्वस्त हुनबाट जोगिएको थियो । तर आगजनीपछिको बीमा प्रक्रिया लामो हुँदा पुनर्निर्माणमा समय लागेको बजगाईंले बताउनुभयो ।
उहाँका अनुसार होटलको भौतिक क्षति मात्रै ३० देखि ३५ करोड रुपैयाँ बराबर भएको प्रारम्भिक अनुमान छ । पुनर्निर्माणको काम जारी रहेकाले वास्तविक खर्च भने अझै यकिन भइसकेको छैन । होटल करिब एक वर्ष बन्द हुँदा व्यवसायिक क्षति ३० करोड रुपैयाँभन्दा बढी भएको उहाँले बताउनुभयो ।
दुई रोपनी क्षेत्रफलमा फैलिएको वर्णवास होटल २०८० माघदेखि सञ्चालनमा आएको थियो । नक्साल र बालुवाटारको बीचमा रहेको होटललाई संग्रहालयसहितको सांस्कृतिक होटलका रूपमा विकास गरिएको छ ।
साढे नौ तलाको होटललाई नेपालको हिमाल, पहाड र तराई झल्काउने तीन तहमा विभाजन गरिएको छ । तीनै तहमा विभिन्न आदिवासी तथा समुदायका रहनसहन, संस्कृति, कला र परम्परा झल्काउने सामग्री राखिएका छन् ।
सञ्चालक बजगाईंका अनुसार होटलको अवधारणा पर्यटकलाई बस्ने सुविधा दिनमा मात्र सीमित छैन । नेपाली संस्कृति, कला, हस्तकला, खानपान, संगीत, जात्रा–पर्व र जीवनशैलीलाई एउटै अनुभवमार्फत विश्वसामु चिनाउने उद्देश्यले ‘वर्णवास म्युजियम होटल’ निर्माण गरिएको हो ।
“पर्यटक नेपाल हेर्न मात्र होइन, नेपाली संस्कृति र जीवनशैलीलाई नजिकबाट अनुभव गर्न आउने वातावरण बनाउन खोजिएको हो,” बजगाईंले भन्नुभयो ।
होटलका कोठा ३४ देखि ४० वर्गमिटरसम्मका छन् भने सबैभन्दा ठूलो कोठा ६० वर्गमिटरको छ । प्रत्येक तलामा एउटा–एउटा ठूला कोठा रहेका छन् । भवनको माथिल्लो भागलाई सगरमाथाको आकृतिमा डिजाइन गरिएको छ ।
होटलमा प्रवेश गर्नेबित्तिकै काठमाडौँ उपत्यका तथा नेवारी संस्कृतिसँग सम्बन्धित कला र सामग्री देख्न सकिने बजगाईंले बताउनुभयो ।
उहाँका अनुसार नेपालले विश्वस्तरीय होटल पूर्वाधारसँगै अन्यत्र नपाइने मौलिक नेपाली अनुभव विकास गर्न सके पर्यटनलाई रोजगारी, विदेशी मुद्रा आर्जन र अन्तर्राष्ट्रिय पहिचानको प्रमुख आधार बनाउन सकिन्छ । त्यसका लागि दीर्घकालीन राष्ट्रिय रणनीति र दूरदर्शी नेतृत्व आवश्यक रहेको उहाँको भनाइ छ ।
