काठमाडौं। साउन महिनामा धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सात कम्पनीका कुल ५४ करोड १५ लाख १४ हजार ३८२ कित्ता सेयर तथा सामूहिक लगानी कोषका इकाइ सूचीकृत भएका छन्।
नेप्सेका अनुसार साउनमा सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको साधारण सेयर, नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर, माउन्ट एभरेस्ट पावरको सेयर तथा चारवटा सामूहिक लगानी कोषका इकाइ सूचीकृत भएका हुन्।
यस अवधिमा सिद्धार्थ इक्विटी फन्डका १२ करोड ५० लाख इकाइ, सानिमा इक्विटी फन्ड–२ का १२ करोड ५० लाख इकाइ, एलएस होराइजन–१२ का १५ करोड इकाइ र रिलायबल समृद्धि योजना–२ का १२ करोड ५० लाख इकाइ नेप्सेमा थपिएका छन्।
नेप्सेमा सूचीकृत भएका यी सामूहिक लगानी कोषका इकाइको दोस्रो बजार कारोबार सूचीकरण भएको दोस्रो दिनदेखि सुरु भएको छ।
साउनमा थपिएका नयाँ धितोपत्रसँगै नेप्सेमा सूचीकृत कम्पनी तथा सामूहिक लगानी कोषका इकाइको संख्या र बजारमा उपलब्ध सेयरको परिमाणसमेत बढेको छ।
