काठमाडौं । नेपालले आठ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ। नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाका अनुसार आवश्यक दस्तावेजीकरणसहित मान्यता प्रक्रियाको काम अघि बढिरहेको छ।
सगरमाथा आरोही संघको २५औँ वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष शेर्पाले थप ६ हिमालले अन्तर्राष्ट्रिय मान्यता पाए नेपालमा आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या २० पुग्ने बताए।
उनका अनुसार हाल अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त आठ हजार मिटरभन्दा अग्ला हिमाल १४ वटा छन्। थप ६ वटा शिखरले मान्यता पाए नेपालमा मात्रै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल हुनेछन्।
‘अहिले हामी आठ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमालको अन्तर्राष्ट्रिय मान्यताका लागि काम गरिरहेका छौँ। यो कार्य अन्तिम चरणमा पुगेको छ र दस्तावेजीकरणको काम भइरहेको छ,’ शेर्पाले भने।
उनका अनुसार नेपाल पर्वतारोहण संघले नेपाल सरकारले जारी गर्ने हिमाल तथा आरोहणयोग्य चुचुरोको सूची तयार पार्नसमेत प्राविधिक सहयोग गर्दै आएको छ। संघले अहिले थप १०० वटा हिमाल तथा चुचुरोको प्रस्तावना तयार पार्ने काम समेत गरिरहेको उनले जानकारी दिए।
नेपालको पर्वतीय पर्यटनलाई विश्वकै प्रमुख गन्तव्यका रूपमा विकास गर्न सरकार, पर्वतारोहणसम्बन्धी संघसंस्था तथा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको शेर्पाले बताए। सगरमाथा आरोही संघ र नेपाल पर्वतारोहण संघबीच लामो समयदेखि सहकार्य रहँदै आएको उल्लेख गर्दै उनले दुवै संस्थाको सम्बन्ध नङ र मासुजस्तै रहेको बताए।
यसअघि पर्यटन विभागले आफ्नो पिक प्रोफाइलमा ल्होत्से सार ८,४०० मिटर र ल्होत्से सेन्टर ८,४१० मिटरलाई समावेश गरिसकेको छ।
त्यस्तै, ताप्लेजुङस्थित कञ्चनजंघा क्षेत्रमा चारवटा नयाँ शिखरसमेत पहिचान गरिएको छ। तीमध्ये कञ्चनजंघा सेन्टर ८,४७३ मिटर, कञ्चनजंघा साउथ ८,४७६ मिटर, यालुङखाङ ८,५०५ मिटर र यालुङखाङ वेस्ट ८,०७७ मिटर रहेका छन्।
यीमध्ये थप शिखरलाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिलाउने प्रक्रिया सफल भए नेपालको पर्वतीय पर्यटनको अन्तर्राष्ट्रिय पहिचान थप विस्तार हुने अपेक्षा गरिएको छ। साथै, नयाँ हिमाल तथा चुचुरो आरोहणका लागि खुला हुँदा पर्वतारोहण गतिविधि, पर्यटन आम्दानी र स्थानीय अर्थतन्त्रमा समेत थप अवसर सिर्जना हुने देखिन्छ।
