काठमाडौँ । तिब्बततर्फबाट आएको भोटेकोशी नदीको भीषण बाढीको प्रभाव चितवनको मुग्लिङसम्म पर्न सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले पृथ्वी राजमार्गसहित त्रिशूली नदी आसपासका करिडोर सडक तत्काल बन्द गरी आवागमन रोक्न सरकारलाई आग्रह गरेको छ। बाढीको बहाव बढ्दै गएकाले नदी तटीय क्षेत्र तथा सडकमा जोखिम बढेको महाशाखाको भनाइ छ।
भोटेकोशीको बाढीका कारण रसुवा र नुवाकोटका तटीय क्षेत्रमा ठूलो क्षति पुगेको जनाइएको छ। त्यसको प्रभाव क्रमशः तल्लो तटीय क्षेत्रमा समेत पर्न सक्ने भन्दै मुग्लिङसम्म विशेष सतर्कता अपनाउन भनिएको छ।
त्रिशूली नदीसँग जोडिएका सबै तटीय क्षेत्र जोखिममा रहेकाले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा रहन र नदी आसपासमा नजान आग्रह गरिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायलाई तत्काल आवश्यक सुरक्षा तथा उद्धार तयारी गर्नसमेत आग्रह गरिएको छ।
