काठमाडौं: गत अक्टोबर ११ मा बुढीगण्डकी नदीमा आएको बाढीका कारण क्षतिग्रस्त मनास्लु र त्सुम उपत्यकाका पदमार्गहरू पुनः सञ्चालनमा आएका छन्। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अनुसार आंशिक मर्मतपछि मनास्लु सर्किट र त्सुम उपत्यका दुवै पदयात्रा मार्ग खुला गरिएको हो।
पदयात्रीहरू अब माछाखोलासम्म सवारीसाधनमार्फत पुगेर आफ्नो यात्रा सुरु गर्न सक्नेछन्। यारु बगरको जोखिमपूर्ण खण्डमा करिब १० मिनेटको वैकल्पिक नयाँ पदमार्ग निर्माण गरिएको छ। मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले पदयात्रा अनुमतिपत्र जारी गर्ने प्रक्रिया खुला रहेको जनाएको छ।
मनास्लु लार्केपास पदयात्रा मार्ग माछाखोलादेखि खोरलबेसी, जगत, फिलिम र न्याकफेदी हुँदै सामागाउँ र धर्मशालासम्म पूर्ण रूपमा सञ्चालनमा आएको टानले जनाएको छ। त्यस्तै, त्सुम उपत्यका पदमार्ग पनि स्थानीय समुदायको सक्रियतामा मर्मत गरिएको छ। स्थानीय बासिन्दाले सार्दीखोला आसपासको पदमार्ग मर्मत गर्नुका साथै चारवटा नयाँ काठे पुल निर्माण गरेपछि छेकम्पार र मु गुम्बातर्फको बाटो खुलेको हो।
टानले चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा र स्थानीय युवा अगुवा सेराप गुरुङसँगको समन्वयमा यो जानकारी पुष्टि गरेको छ। यद्यपि, पदमार्गको अवस्था ठाउँअनुसार फरक हुन सक्ने भएकाले यात्राका क्रममा सावधानी अपनाउन र स्थानीय बासिन्दासँग पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र अघि बढ्न टानले पदयात्री तथा सहयोगी टोलीलाई आग्रह गरेको छ।

