काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि खटिएका हेलिकप्टरलाई इन्धन अभाव हुन नदिन नेपाल आयल निगमले हवाई इन्धनसहितको ट्यांकर परिचालन गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकप्टरको प्रयोग बढेपछि तत्काल आवश्यक पर्ने हवाई इन्धन उपलब्ध गराउन काठमाडौंस्थित निगमबाट ट्यांकर नुवाकोटको त्रिशूलीतर्फ पठाइएको अर्थ मन्त्रालयले जनाएको छ ।
बाढीका कारण सडक तथा अन्य यातायात सम्पर्क प्रभावित भइरहेका बेला उद्धारमा खटिएका हेलिकप्टरलाई निरन्तर सञ्चालन गर्न आवश्यक इन्धनको व्यवस्था मिलाइएको हो । इन्धनसहितको ट्यांकर त्रिशूली पुगेपछि त्यहाँबाट उद्धार तथा खोजी कार्यमा खटिएका हेलिकप्टरलाई आवश्यकताअनुसार हवाई इन्धन उपलब्ध गराइनेछ ।
बुधबार बिहान रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ । बाढीले जनधन तथा भौतिक संरचनामा क्षति पुर्याएको र क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ ।
बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकाय तथा अन्य उद्धार टोली परिचालन गरिएका छन् । सडक तथा स्थलमार्गबाट पुग्न कठिन भएका क्षेत्रमा हेलिकप्टरमार्फत खोज तथा उद्धारलाई प्राथमिकता दिइएको छ ।
उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक स्रोतसाधन तत्काल परिचालन गर्ने काम भइरहेको सरकारले जनाएको छ । प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायबीच समन्वय भइरहेको छ ।
