काठमाडौं । रसुवाको रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान भोटेकोशी नदीमा आएको अकस्मात् बाढीले करिब ५०० भन्दा बढी सवारीसाधन बगाएको प्रारम्भिक अनुमान गरिएको छ । बाढीले भन्सारको वारिपारि पार्किङ गरिएका व्यवसायीका गाडीसमेत बगाएको बताइएको छ ।
रसुवा भन्सार कार्यालयका अनुसार भन्सार परिसर तथा आसपासमा रहेका करिब ५०० सवारीसाधन बाढीको चपेटामा परेका छन् । भन्सार क्षेत्रमा अहिले कुनै पनि सवारीसाधन बाँकी नरहेको प्रारम्भिक जानकारी आएको छ ।
बाढीले रसुवागढी भन्सारको संरचनामै ठूलो क्षति पुर्याएको छ । तिब्बततर्फबाट आएको अप्रत्याशित बाढीले भन्सार परिसर, यार्ड तथा आसपासका संरचनामा क्षति पुर्याएको हो ।
भन्सार क्षेत्रमा विभिन्न ब्रान्डका नयाँ सवारीसाधन राखिएका थिए । बीवाईडी, एमजी, वुलिङ, ओमोडा एन्ड जेको तथा नामीलगायत ब्रान्डका गाडीसमेत बाढीले बगाएको प्रारम्भिक विवरण छ ।
नेपालका लागि एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिल क्षेत्रीका अनुसार भन्सारको वारिपारि दुवैतर्फ रहेका सवारीसाधनमा क्षति पुगेको अनुमान गरिएको छ ।
उनका अनुसार केही दिनदेखि उक्त क्षेत्रमा गाडी ओहोरदोहोर गर्न रोक लगाइएकाले ठूलो संख्यामा सवारीसाधन भन्सार परिसर तथा आसपासमै रोकिएका थिए । त्यसैकारण बाढी आउँदा वारिपारि रहेका धेरै गाडी एकैपटक जोखिममा परेको क्षेत्रीले बताए ।
तर कति सवारीसाधनमा क्षति पुग्यो भन्ने यकिन विवरण भने तत्काल भन्न सकिने अवस्था छैन । बाढीपछि भन्सार क्लियरिङ एजेन्टसँग समेत सम्पर्क हुन नसकेको क्षेत्रीले बताए ।
‘यति नै गाडीमा क्षति पुग्यो भनेर अहिले यकिन गर्न सकिने अवस्था छैन,’ क्षेत्रीले भने, ‘अहिलेसम्म भन्सार क्लियरिङ एजेन्टसँग पनि सम्पर्क हुन सकेको छैन ।’
उता अर्थ मन्त्रालयका अनुसार बाढीले रसुवागढी भन्सार कार्यालयको संरचनामा ठूलो क्षति पुर्याएको छ । कार्यालयमा कार्यरत कर्मचारीसँग सम्पर्क गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ ।
बाढीको त्रासपछि धेरै कर्मचारीले मोबाइल फोन तथा व्यक्तिगत सामानसमेत छाडेर सुरक्षित स्थानतर्फ भागेको बताइएको छ । त्यसकारण कार्यालयको अवस्था, कर्मचारीको स्थिति र भन्सारमा रहेको सामान तथा सवारीसाधनको क्षतिको पूर्ण विवरण संकलन गर्न समय लाग्ने अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
रसुवागढी भन्सार कार्यालयमा ३६ जनाको दरबन्दी रहेकोमा दुई जना कर्मचारी बिदामा रहेको सचिवालयले जनाएको छ । भन्सारको यार्डमा रहेका सबै सवारीसाधन बाढीले बगाएको प्रारम्भिक विवरण आएको छ ।
भोटेकोशीमा आएको बाढीले रसुवाको सीमावर्ती क्षेत्रमा ठूलो क्षति पुर्याएपछि भन्सार सञ्चालनसमेत प्रभावित भएको छ । अहिले प्राथमिकता कर्मचारीको अवस्था यकिन गर्ने, प्रभावित क्षेत्रको क्षति विवरण संकलन गर्ने र उद्धार तथा राहत कार्यलाई अघि बढाउनेतर्फ केन्द्रित गरिएको छ ।
बाढीको वास्तविक क्षति भने प्रभावित क्षेत्रमा पहुँच सहज भएपछि मात्रै यकिन हुने देखिएको छ । विशेषगरी भन्सार यार्डमा रहेका सयौँ नयाँ सवारीसाधन बगेको घटनाले व्यवसायीको करोडौँ रुपैयाँ बराबरको सम्पत्तिमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।
