काठमाडौं । रसुवागढी क्षेत्रमा आएको बाढीका कारण प्रमुख स्थलमार्ग अवरुद्ध भएपछि आन्तरिक हवाई उडानमा यात्रुको चाप बढेको छ। सडकमार्गबाट यात्रा गर्न कठिन भएपछि यात्रुहरू हवाई सेवातर्फ आकर्षित हुँदा टिकट पाउनसमेत समस्या भएको छ।
यात्रुको चाप बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरूले विभिन्न गन्तव्यमा अतिरिक्त उडान थपेका छन्। बुद्ध एयरले भैरहवा, पोखरा र भरतपुरमा नियमित उडानबाहेक थप उडान सञ्चालन गरेको जनाएको छ।
बुद्ध एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णका अनुसार यात्रुको मागलाई ध्यानमा राख्दै बिहीबार र शुक्रबार यी तीनवटै गन्तव्यमा एक–एक अतिरिक्त उडान थप गरिएको छ।
हाल पोखरामा दैनिक १३ वटासम्म, भैरहवामा ९ वटा र भरतपुरमा ५ वटासम्म उडान भइरहेका छन्। अन्य गन्तव्यमा भने यात्रुको चापअनुसार आवश्यक परे उडान थप गर्न सकिने कम्पनीले जनाएको छ।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले पनि यात्रुको मागअनुसार उडान तालिका मिलाएर सेवा दिइरहेको बताए।
उनका अनुसार संकटको अवस्थामा पनि आन्तरिक वायुसेवा कम्पनीहरूले न्यूनतम भाडादरमै सेवा दिइरहेका छन्। भाडादर बढाइएको भन्ने प्रचारप्रति असन्तुष्टि जनाउँदै उनले यात्रुको चाप बढे पनि कम्पनीहरूले थप छुटसहित सेवा दिइरहेको दाबी गरे।
