महोत्तरी । महोत्तरीका विभिन्न संघसंस्था तथा विभिन्न व्यक्तिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज राहत रकम दाखिला गरेका छन्। भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतका लागि ७५ वर्षीया देवकुमारीले २० हजार, योग प्रशिक्षक सुमित्रा भट्टराईले ५१ रुपैंयाँ र बर्दिबास–१ देउराली कीर्तन महिला समूहले ३० हजार रुपैंयाँ दाखिला गरेका छन्।
त्यसैगरी, बर्दिबास–१० खयरमाराका सामाजिक अगुवा पोषण थापाले ५० हजार रुपैंयाँ, नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ, मधेस प्रदेशले १० लाख ७९ हजार रुपैंयाँ, बर्दिबास उद्योग वाणिज्य संघले आठ लाख रुपैंयाँ, भङ्गाहा नगरपालिकाले १५ लाख रुपैयाँ कोषमा दाखिला गरेका छन्। यसैगरी गौशाला, बर्दिबास र औरही नगरपालिकाले क्रमशः १० लाख रुपैंयाँ, १२ लाख ५० हजार रुपैंयाँ र पाँच लाख रुपैंयाँ कोषमा पठाउने संस्थागत निर्णय गरेका छन्।
