सन् १९७५ डिसेम्बरको एक दिन।
हार्भर्ड विश्वविद्यालयका दुई युवा एउटा पत्रिकाको आवरण हेर्दै थिए।
पत्रिकाको नाम थियो- पपुलर इलेक्ट्रोनिक्स।
त्यसको १२औं अंकको आवरणमा एउटा नयाँ मेसिन थियो-अल्टेयर ८८००।
आजको दृष्टिले हेर्दा त्यो मेसिन सामान्य लाग्न सक्छ। न सुन्दर स्क्रिन, न आकर्षक डिजाइन, न आजको कम्प्युटरजस्तो क्षमता। तर त्यस दिन बिल गेट्स र उनका साथी पल एलेनले त्यसमा एउटा यस्तो भविष्य देखे, जुन संसारका अधिकांश मानिसले अझै कल्पना पनि गरेका थिएनन्।
कम्प्युटर अब केवल विश्वविद्यालय, सेना वा ठूला अनुसन्धान संस्थाको वस्तु रहनेवाला थिएन। यो व्यक्तिगत बन्ने थियो। मानिसको टेबलमा पुग्ने थियो। र संसारसँग मानिसको सम्बन्ध बदल्ने थियो।
त्यो पत्रिकाले गेट्स र एलेनलाई एउटा प्रश्न सोधेजस्तो भयो-यदि कम्प्युटर सबैको हातमा पुग्ने हो भने त्यसलाई चलाउने भाषा कसले बनाउने?
उनीहरूसँग उत्तर थियो। तर एउटा समस्या पनि थियो। उनीहरूले त्यो उत्तर अझै बनाइसकेका थिएनन्। तैपनि उनीहरूले अल्टेयर बनाउने कम्पनीलाई फोन गरेर भने-हामीसँग तपाईंको कम्प्युटरका लागि प्रोग्रामिङ भाषा तयार छ।
वास्तवमा तयार थिएन। अब तयार पार्नुपर्ने थियो।
त्यसपछि सुरु भयो हतार, निद्राहीन रात र कोडका असंख्य लाइनहरूबीचको एउटा दौड। केही हप्तापछि उनीहरूले बनाएको प्रोग्रामले काम गर्यो।
त्यही प्रोग्राम थियो-अल्टेयर बेसिक।
त्यही क्षणबाट एउटा कम्पनीको जन्म भयो। त्यो कम्पनीको नाम हो-माइक्रोसफ्ट। पचास वर्षपछि गेट्सले त्यस सुरुआती प्रोग्रामलाई सम्झँदै लेखे-त्यो आफूले लेखेको “सबैभन्दा रमाइलो कोड” मध्ये एक थियो।
उनको आफ्नै स्मरणमा माइक्रोसफ्टको कथा कुनै ठूलो लगानी, विशाल कार्यालय वा विस्तृत व्यापार योजनाबाट सुरु भएको थिएन। एउटा पत्रिकाको आवरणले अवसर देखायो, दुई युवाले त्यसलाई अरूभन्दा छिटो बुझे र आफूले बनाइनसकेको उत्पादन बनाउने जोखिम लिए।
आज बिल गेट्सको कथा केवल माइक्रोसफ्टको कथा होइन।
यो भविष्यलाई अरूभन्दा अगाडि देख्ने क्षमताको कथा हो। यो प्रविधि र व्यापारको सम्बन्ध बुझ्ने कथासमेत हो। यो निर्मम प्रतिस्पर्धाको कथा पनि हो। र, सबैभन्दा रोचक कुरा-यो जीवनको दोस्रो भागमा आफूले कमाएको विशाल सम्पत्तिलाई फेरि संसारका समस्यामाथि खर्च गर्ने मानिसको कथा हो।
किनभने बिल गेट्सको जीवनलाई दुई भागमा विभाजन गर्न सकिन्छ।
पहिलो-संसारलाई कम्प्युटर प्रयोग गर्न सिकाउने मानिस।
दोस्रो-संसारका सबैभन्दा कठिन समस्याहरू समाधान गर्न पैसा, विज्ञान र प्रविधि प्रयोग गर्ने मानिस।
दुवै यात्रामा एउटा कुरा भने समान छ। गेट्सलाई सधैँ एउटा प्रश्नले पछ्यायो- यदि कुनै समस्या समाधान गर्न सकिन्छ भने, किन त्यसलाई समाधान नगर्ने?
हार्भर्डभन्दा ठूलो एउटा अवसर
बिल गेट्स कुनै परम्परागत अर्थमा गरिबीबाट उठेका उद्यमी थिएनन्। सन् १९५५ अक्टोबर २८ मा अमेरिकाको सियाटलमा जन्मिएका विलियम हेनरी गेट्स तृतीय-जसलाई संसारले पछि बिल गेट्सका नामले चिन्यो-साधारण अर्थमा कहिल्यै साधारण बालक थिएनन्।
परिवार शिक्षित थियो। बुबा प्रतिष्ठित वकिल थिए। आमा सामाजिक संस्थामा सक्रिय थिइन्। घर सम्पन्न थियो, अनुशासित थियो र महत्वाकांक्षी पनि। जेठी दिदी क्रिस्टियान र कान्छी बहिनी लिब्बीसँग हुर्किएका गेट्सलाई बाल्यकालदेखि नै एउटा कुरा सिकाइएको थियो-प्रतिस्पर्धा गर, उत्कृष्ट बन्न खोज।
गर्मीमा परिवारको समुद्री किनारस्थित घरमा हुने खेलकुद प्रतियोगितादेखि घरभित्र खेलिने बोर्ड खेलसम्म गेट्सको स्वभाव उस्तै थियो। उनलाई हार मन पर्दैनथ्यो। ‘रिस्क’ र ‘मोनोपोली’जस्ता खेलमा उनी असाधारण रुचि राख्थे। खेल उनको मनोरञ्जन मात्र थिएन; त्यो रणनीति, प्रतिस्पर्धा र जितको अभ्यास थियो। तर गेट्सको संसार खेलमै सीमित थिएन।
सानैदेखि गेट्स अत्यन्तै जिज्ञासु, बहस गर्ने र कहिलेकाहीँ आमाबुबाका लागि निकै कठिन बच्चा थिए। उनी आफैंले आफ्नो नयाँ संस्मरण सोर्स कोड मा आफूलाई असाधारण तर कहिलेकाहीँ सम्हाल्न गाह्रो बच्चाका रूपमा वर्णन गरेका छन्।
उनी किताबमा हराउने बालक थिए। विश्वकोशका बाक्ला पुस्तक पल्टाउँदै घण्टौँ बिताउन सक्थे। कुनै विषयले चासो जगायो भने उनी त्यसमा असाधारण रूपमा डुब्थे। यही गहिरो एकाग्रता पछि उनको सबैभन्दा ठूलो शक्ति बन्यो। तर यही स्वभावले उनका आमाबुबालाई चिन्तित पनि बनायो।
करिब ११-१२ वर्षको उमेर पुग्दा उनी कहिलेकाहीँ अत्यन्तै एक्लै बस्ने, सामाजिक संकेत नबुझ्ने र आफ्नो रुचिको विषयमा असाधारण रूपमा डुब्ने गर्थे। पढाइमा उनी उत्कृष्ट थिए, तर परम्परागत अर्थमा सजिलो बच्चा थिएनन्।
धेरै दशकपछि आफ्नै संस्मरण सोर्स कोड : माई बिगिनिङ्स मा गेट्सले बाल्यकाललाई फर्केर हेर्दै स्वीकार गरेका छन् कि आज आफू बच्चा भएको भए सम्भवतः उनलाई अटिज्म स्पेक्ट्रमसँग सम्बन्धित कुनै निदान दिइन सक्थ्यो।
उनले लेखेका छन्, उनका आमाबुबासँग आफ्ना छोराले किन केही विषयमा यस्तो गहिरो आसक्ति राख्छ, किन सामाजिक संकेत छुटाउँछ वा किन कहिलेकाहीँ अरूलाई असर नपरेझैँ कठोर व्यवहार गर्छ भन्ने बुझ्ने कुनै मार्गदर्शिका थिएन। तर उनका आमाबुबाले उनलाई ‘सुधार्न’ मात्र खोजेनन्।
उनीहरूले उनको संसारलाई विस्तार गर्ने प्रयास गरे। निजी विद्यालय पठाए। खेलकुदमा सहभागी गराए। सामाजिक सीप विकास गर्न सहयोग गरे। र सायद, अनजानमै उनीहरूले उनलाई यस्तो ठाउँमा पठाए जहाँ उनको जीवनको वास्तविक भेट हुन बाँकी थियो। त्यो ठाउँ थियो-लेकसाइड स्कूल।
१३ वर्षको उमेरमा एउटा मेसिनसँग भेट
लेकसाइड स्कूलमा पुगेपछि बिल गेट्सको जीवनले अचानक नयाँ मोड लियो। विद्यालयको ‘मदर्स क्लब’ ले पुराना सामान बेचेर उठाएको रकमबाट विद्यार्थीका लागि कम्प्युटर प्रयोग गर्ने समय किनेको थियो।
त्यस समय कम्प्युटर आजको जस्तो हरेक घरमा हुने वस्तु थिएन। कम्प्युटर विशाल, महँगा र अत्यन्त सीमित संस्थाको पहुँचमा थिए। विद्यालयमा एउटा टेलिटाइप टर्मिनल राखियो। टाइपराइटरजस्तो देखिने त्यो मेसिनले टाढा रहेको ठूलो कम्प्युटरसँग सम्पर्क गर्न सक्थ्यो।
१३ वर्षीय गेट्सका लागि त्यो केवल एउटा मेसिन थिएन। त्यो एउटा नयाँ संसारको ढोका थियो।
उनी त्यसमा यति मोहित भए कि खाली समयको अधिकांश हिस्सा कम्प्युटर टर्मिनलअगाडि बिताउन थाले। चाँडै उनले ‘बेसिक’ नामको प्रोग्रामिङ भाषा सिक्न थाले।
उनको पहिलो उल्लेखनीय प्रोग्राम थियो-टिक-ट्याक-टो खेल। मानिसले कम्प्युटरसँग खेल्न सक्ने गरी उनले एउटा प्रोग्राम बनाए।
पछि उनले त्यस अनुभवबारे लेखे, “यसलाई बनाउन खोज्दा मैले धेरै गल्ती गरेँ। टिक-ट्याक-टो त यति सरल खेल हो कि बच्चाले पनि चाँडै सिक्छन्। तर एउटा मेसिनलाई त्यो खेल खेलाउन सक्नु मेरो लागि विजयजस्तै थियो।”
त्यो विजय सानो थियो। तर त्यसले एउटा बालकलाई आफ्नो जीवनको उद्देश्य भेटाइदियो। उनले पछि सम्झेका छन्-कम्प्युटरले मानसिक लापरबाहीलाई तुरुन्तै सजाय दिन्थ्यो।

एउटा सानो चिन्ह गलत राख्दा प्रोग्राम नै बन्द हुन सक्थ्यो। त्यसैले कोडिङले उनलाई समस्या साना भागमा विभाजन गर्न, तर्कसँग सोच्न र विवरणमा ध्यान दिन सिकायो।
कम्प्युटरप्रतिको गेट्सको आकर्षण सामान्य थिएन। त्यो समय कम्प्युटर प्रयोग गर्न पैसा लाग्थ्यो। प्रत्येक मिनेट मूल्यवान् थियो। गेट्स र उनका केही साथीहरूले कम्प्युटर प्रणालीका कमजोरी खोजेर अतिरिक्त प्रयोग समय निकाल्ने प्रयास गरे। अन्ततः उनीहरू समातिए।
विद्यालयले उनीहरूको कम्प्युटर प्रयोग गर्ने सुविधा खोस्यो। तर कथाको रोचक मोड यहीँ थियो। केही समयपछि उनीहरूलाई फेरि कम्प्युटरमा फर्किन दिइयो-यसपटक प्रयोगकर्ताका रूपमा होइन, समस्या समाधानकर्ताका रूपमा।
उनीहरूले प्रणालीमा रहेका त्रुटि पत्ता लगाउने काम गर्न थाले। भविष्यको संसारकै ठूलो सफ्टवेयर कम्पनी बनाउने व्यक्ति त्यसबेला कम्प्युटर प्रणालीका कमजोरी खोज्दै थिए।
गेट्सका लागि नियम तोड्नु अन्तिम उद्देश्य थिएन। उनी बुझ्न चाहन्थे-मेसिन कसरी काम गर्छ? र यदि त्यसमा कमजोरी छ भने, त्यसलाई कसरी पत्ता लगाउन सकिन्छ?
यो गुण पछि उनको सम्पूर्ण व्यापारिक जीवनको आधार बन्यो। बिल गेट्स समस्यालाई ठूलो रूपमा हेर्थे। तर समाधानलाई साना टुक्रामा विभाजन गर्थे।
उनका लागि कम्प्युटर एउटा मेसिन मात्र थिएन। यो सोच्ने नयाँ तरिका थियो।
पल एलेन : त्यो साझेदारी, जसले इतिहास बदल्यो
लेकसाइडमै गेट्सको भेट उनीभन्दा दुई वर्ष जेठा एक विद्यार्थी पल एलेनसँग भयो। दुवैको साझा भाषा कम्प्युटर थियो।
एलेन र गेट्स विद्यालयपछि घण्टौँ कम्प्युटर प्रोग्रामिङमा बिताउँथे। उनीहरू साथी थिए, तर उत्तिकै प्रतिस्पर्धी पनि। को सही? को बढी जान्दछ? कसले कम्प्युटर ल्याब चलाउने? यस्ता विवाद उनीहरूबीच सामान्य थिए।
एक पटक विवाद यति बढ्यो कि एलेनले गेट्सलाई कम्प्युटर ल्याबमै प्रवेश गर्न नदिएको उल्लेखसमेत पाइन्छ।
तर उनीहरूको मतभेदभन्दा ठूलो कुरा थियो-दुवैको साझा विश्वास।
कम्प्युटर भविष्य थियो। र त्यो भविष्य केवल विश्वविद्यालयका वैज्ञानिक वा ठूला कम्पनीका लागि सीमित रहनेवाला थिएन। उनीहरूलाई लाग्थ्यो, कम्प्युटर कुनै दिन सबैको जीवनमा पुग्नेछ।
त्यो विश्वास त्यसबेला धेरैलाई हास्यास्पद लाग्न सक्थ्यो। तर इतिहासले अन्ततः उनीहरूकै पक्ष लियो।
१५ वर्षमै पहिलो व्यवसाय
सन् १९७०।
बिल गेट्स १५ वर्षका थिए।
पल एलेनसँग मिलेर उनले एउटा कम्पनीजस्तो प्रयोग सुरु गरे-‘ट्राफ-ओ-डाटा’। यसको उद्देश्य थियो सडकमा चल्ने सवारीको आवागमनसम्बन्धी तथ्यांक संकलन र विश्लेषण गर्नु। आजको भाषामा भन्नुपर्दा, यो तथ्यांकलाई उपयोगी व्यावसायिक सूचनामा बदल्ने प्रारम्भिक प्रयास थियो।
व्यवसायले संसार बदल्ने सफलता पाएन। तर यसले गेट्स र एलेनलाई एउटा महत्त्वपूर्ण पाठ दियो-प्रविधि बनाउनु र त्यसलाई बजारमा बेच्नु दुई फरक कुरा हुन्। यही अनुभवले पछि माइक्रोसफ्टको व्यवसायिक मोडेल निर्माणमा अप्रत्यक्ष भूमिका खेल्यो।
गेट्सका आमाबुबा भने छोराको यो प्रविधि मोहलाई जीवनको अन्तिम गन्तव्य ठान्दैनथे। उनीहरू चाहन्थे—छोरा विद्यालय पूरा गरोस्, विश्वविद्यालय जाओस् र सम्भवतः पिताजस्तै वकिल बनोस्।
गेट्सले प्रवेश परीक्षामा १६०० मध्ये १५९० अंक ल्याए। उनका लागि हार्भर्ड विश्वविद्यालयको ढोका खुल्यो। सन् १९७३ मा उनले लेकसाइड स्कूलबाट स्नातक गरे र हार्भर्ड पुगे।
परिवारले सोचेको थियो-अब शायद उनी वकिल बन्ने बाटोतिर अघि बढ्नेछन्। तर गेट्सको वास्तविक कक्षा विश्वविद्यालयको कक्षाकोठा थिएन।
त्यो कम्प्युटर ल्याब थियो।
हार्भर्ड : डिग्रीभन्दा ठूलो भविष्य
सन् १९७३ मा बिल गेट्स हार्भर्ड विश्वविद्यालय पुगे। प्रवेश परीक्षामा १६०० मध्ये १५९० अंक ल्याएका उनी आफ्ना पुस्ताका असाधारण प्रतिभाशाली विद्यार्थीमध्ये एक थिए। वकिल पिता र सामाजिक रूपमा प्रभावशाली आमाको परिवारबाट आएका गेट्सका लागि हार्भर्ड स्वाभाविक गन्तव्य थियो। परिवारले सम्भवतः कानुनतिरको भविष्य देखेको थियो। तर गेट्स आफैंलाई आफ्नो भविष्यबारे त्यति स्पष्टता थिएन।
कम्तीमा सुरुवातमा।
हार्भर्डमा उनी आफूलाई बनिसकेको मानिसभन्दा अझै खोजीमा रहेको युवकका रूपमा सम्झन्छन्। कक्षाकोठाको औपचारिक अनुशासनभन्दा उनलाई जटिल समस्या बढी आकर्षक लाग्थे। साथीहरू सामाजिक जीवनमा व्यस्त हुँदा गेट्स घण्टौँ कम्प्युटर केन्द्रमा बिताउन सक्थे। उनी आफूलाई “सामान्य” बनाउनभन्दा आफूलाई रुचि लागेको समस्याको गहिराइमा जान रुचाउँथे।
उनको एउटा विशेषता थियो-प्रतिस्पर्धा।
गेट्सलाई कुनै कुरा केवल बुझ्नु पर्याप्त थिएन। उनी त्यसमा सबैभन्दा राम्रो हुन चाहन्थे। गणित होस्, प्रोग्रामिङ होस् वा तर्कको बहस-हार स्वीकार गर्न उनलाई गाह्रो पर्थ्यो। पछि उनीसँग काम गर्ने धेरै मानिसले यही स्वभावलाई उनको शक्ति र कमजोरी दुवैका रूपमा वर्णन गरे।
हार्भर्डका दिनमा गेट्सका साथीहरूका लागि उनी असाधारण बुद्धिमान्, तर कहिलेकाहीँ थकाउने व्यक्ति थिए। उनी तर्क गर्थे, चुनौती दिन्थे र कुनै विचार कमजोर लाग्यो भने त्यसलाई सजिलै स्वीकार गर्दैनथे। उनीसँग भविष्यका सम्भावनाबारे बहस गर्नु रोमाञ्चक पनि हुन सक्थ्यो, कठिन पनि। तर उनको वास्तविक संसार कम्प्युटर थियो।
हार्भर्ड पुगेपछि पनि गेट्सको जीवनशैली खासै बदलिएको थिएन। उनी नियमित विद्यार्थीको अनुशासित तालिकामा बस्ने व्यक्ति थिएनन्। कहिलेकाहीँ थोरै घण्टा मात्र सुत्थे। परीक्षा आउँदा रातभर पढ्थे। तर कम्प्युटर प्रोग्रामिङका लागि भने उनीसँग समयको कुनै सीमा थिएन।
आफ्नो संस्मरणमा उनले किशोरावस्थामा राति कोड लेख्न घरको झ्यालबाट चुपचाप बाहिर निस्कने गरेको उल्लेख गरेका छन्। हार्भर्डमा एक पटक उनी लगातार ३६ घण्टासम्म जागै बसेर प्रोग्रामिङ अध्ययन गरेका थिए। यो केवल महत्वाकांक्षा थिएन। यो लगभग आसक्ति थियो। तर संसार बदल्ने धेरै कथाको सुरुवात यस्तै आसक्तिबाट हुन्छ।

गेट्सले पछि सम्झेका छन् कि कोड लेख्दा उनलाई समयको अनुभूति नै हराउँथ्यो। एउटा जटिल समस्याले उनलाई अरू सबै कुरा बिर्साउन सक्थ्यो। उनी रातभर काम गर्न सक्थे, थोरै सुत्थे र फेरि कम्प्युटर केन्द्र फर्किन्थे।
त्यही स्वभावलाई उनले जीवनभर आफ्नो सबैभन्दा ठूलो शक्ति बनाए-कुनै समस्यामा अरूभन्दा लामो समयसम्म टिकिरहने क्षमता।
पल एलेन, उनका पुराना साथी र भावी व्यावसायिक साझेदार, गेट्सको प्रतिभासँगै उनको तीव्रता पनि राम्ररी बुझ्थे। एलेन गेट्सभन्दा बढी शान्त र विचारशील थिए। गेट्स बढी प्रतिस्पर्धी, अधीर र निर्णयमा छिटो पुग्ने स्वभावका थिए। तर दुवैलाई जोड्ने एउटा विचार थियो-कम्प्युटरको भविष्य।
एउटा पत्रिकाको आवरणले लिएको इतिहासको मोड
हार्भर्डमा पढिरहेका १९ वर्षीय बिल गेट्सको जीवनलाई त्यतिबेला कुनै ठूलो संकटले घेरेको थिएन। उनी अमेरिकाको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयमध्ये एकमा थिए। अगाडि अनेक सम्भावना थिए।
सन् १९७४ को अन्त्यतिर पल एलेनले गेट्सलाई एउटा पत्रिका देखाए।
त्यो थियो-पपुलर इलेक्ट्रोनिक्स। तर उनको पुरानो साथी पल एलेनलाई एउटा पत्रिकाले असाध्यै बेचैन बनायो। एलेन सधैं भविष्य खोज्ने मानिसजस्ता थिए। उनी प्राविधिक पत्रिका, नयाँ चिप र कम्प्युटरका विवरणमा हराउन सक्थे। बिल गेट्सले पछि सम्झिएका छन्-पलको वरिपरि पपुलर इलेक्ट्रोनिक्स, डेटामेसन र अन्य प्राविधिक पत्रिकाका पुराना अंकहरू थुप्रिएका हुन्थे।
एलेनले अरूले सामान्य समाचार देख्ने ठाउँमा सम्भावित भविष्य देख्थे। त्यस दिन उनको हातमा पपुलर इलेक्ट्रोनिक्स पत्रिकाको जनवरी अंक थियो। आवरणमा एउटा अनौठो मेसिन थियो।
अल्टेयर ८८००।
न आजको अर्थमा सुन्दर कम्प्युटर। न स्क्रिन। न किबोर्ड। न कुनै आकर्षक डिजाइन। बत्ती र स्विचले भरिएको एउटा धातुको बाकस। तर बिल गेट्स र पल एलेनका लागि त्यसले एउटा विशाल सम्भावना देखायो।
व्यक्तिगत कम्प्युटर।
त्यो शब्द नै त्यतिबेला लगभग अपरिचित थियो। कम्प्युटर भनेको विश्वविद्यालय, सेना, सरकार वा ठूला कम्पनीका लागि बनेको विशाल र महँगो मेसिन थियो। एउटा व्यक्तिले आफ्नै लागि कम्प्युटर राख्न सक्छ भन्ने विचार नै धेरैका लागि हास्यास्पद थियो।
तर गेट्स र एलेनले फरक कुरा देखे। यदि कम्प्युटर सानो हुँदै गयो भने? यदि यसको मूल्य घट्दै गयो भने? यदि सामान्य मानिसले पनि यसलाई प्रयोग गर्न पाए भने? त्यसपछि अर्को प्रश्न आउँथ्यो- मानिसले त्यसलाई चलाउने कसरी?
उत्तर थियो-सफ्टवेयर। पाँच दशकपछि गेट्सले त्यस क्षणलाई फर्केर हेर्दै लेखे, “हामीले दुई कुरा थाहा पायौँ-व्यक्तिगत कम्प्युटर क्रान्ति अब आउँदै थियो, र हामी सुरुआतमै त्यसको हिस्सा बन्न चाहन्थ्यौँ।”
त्यो एउटा साधारण व्यावसायिक अवसर थिएन। त्यो एउटा दौड थियो। र एलेनले गेट्सलाई झकझक्याउँदै भनेको वाक्य इतिहासमा रह्यो- “हे, यो कुरा हामीबिनै भइरहेको छ।”
त्यो वाक्यले गेट्सलाई झस्कायो। भविष्य सुरु भइसकेको थियो। र उनीहरू ढिलो हुन चाहँदैनथे।
दुवैले अल्टेयर बनाउने अल्बुकर्कस्थित कम्पनी-एमआईटीएसलाई सम्पर्क गर्ने निर्णय गरे।
योजनाअनुसार उनीहरूले कम्पनीका संस्थापक एड रोबर्ट्सलाई भन्नुपर्ने थियो कि उनीहरूसँग अल्टेयरमा चल्ने ‘बेसिक’ प्रोग्रामिङ भाषा तयार छ। तर वास्तविकता अलि असहज थियो। उनीहरूसँग त्यस्तो प्रोग्राम थिएन। उनीहरूसँग अल्टेयर कम्प्युटर पनि थिएन। त्यो मेसिन कस्तो व्यवहार गर्छ भन्ने वास्तविक परीक्षण गर्ने कुनै सम्भावना पनि थिएन।
पाँच दशकपछि गेट्सले यस घटनालाई आफ्नै शैलीमा सम्झिए- “एउटा मात्र समस्या थियो-हामीसँग त्यो थिएन। अब काम सुरु गर्ने बेला भयो।”
पहिले दाबी। पछि उत्पादन।
आजको स्टार्टअप संस्कृतिमा यस्तो व्यवहार असामान्य नदेखिन सक्छ। तर १९७५ मा दुई युवा विद्यार्थीले एउटा कम्पनीलाई फोन गरेर आफूले नबनाएको उत्पादनबारे प्रस्तुति दिने प्रस्ताव गर्नु दुस्साहस थियो। उनीहरूले पहिले अवसर कब्जा गरे। त्यसपछि त्यसलाई वास्तविक बनाउने निर्णय गरे।
उनीहरूले पहिले पत्र पठाए। उत्तर आएन। त्यसपछि फोन गर्ने निर्णय भयो।
पल एलेनका अनुसार फोन कसले गर्ने भन्नेमा पनि उनीहरूबीच छलफल भयो। गेट्सको आवाज अझै किशोरजस्तो सुनिन्थ्यो। एलेन अलि जेठा थिए र दाह्री पनि राख्थे। अन्ततः गेट्सले फोन गरे। तर उनले आफ्नो नाम प्रयोग गरेनन्। उनले आफूलाई पल एलेन भनेर चिनाए।
हार्भर्ड ग्याजेटमा प्रकाशित विवरणअनुसार गेट्सले गहिरो आवाज निकाल्दै भने-अल्टेयरका लागि बेसिक लगभग तयार छ र उनीहरू त्यसको प्रदर्शन गर्न चाहन्छन्।
एमआईटीएसका एड रोबर्ट्स यस्ता दाबी सुन्न अभ्यस्त थिए। उनले सरल जवाफ दिए- पहिलो व्यक्ति, जसले अल्बुकर्क आएर काम गर्ने बेसिक देखाउन सक्छ, उसले सम्झौता पाउनेछ।
फोन राखेपछि गेट्सले एलेनतिर फर्केर भने – “भगवान्, अब हामीले तुरुन्तै काम सुरु गर्नुपर्छ।”
त्यसपछि सुरु भयो एउटा असाधारण दौड।
उनीहरूसँग अल्टेयर थिएन। त्यसैले एलेनले पहिले एउटा अल्टेयर ‘नक्कल’ गर्ने प्रणाली बनाउनुपर्यो। हार्भर्डको आइकेन कम्प्युटर केन्द्रमा रहेको विशाल पीडीपी–१० कम्प्युटरलाई प्रयोग गरेर उनले अल्टेयरको इन्टेल ८०८० चिपको व्यवहार अनुकरण गर्ने प्रयास गरे।
यो प्राविधिक रूपमा जटिल काम थियो। उता गेट्सले बेसिक इन्टरप्रिटर लेख्न थाले। पल एलेनले आफ्नो संस्मरण आइडिया म्यान मा गेट्सको त्यस समयको दृश्य अत्यन्त जीवन्त रूपमा सम्झेका छन्।
उनका अनुसार गेट्स लामो समयसम्म कोठामा यताउता हिँड्थे। कहिलेकाहीँ एउटै ठाउँमा बस्दै अगाडि–पछाडि हल्लिन्थे। त्यसपछि अचानक पहेँलो कागजमा कोडका पंक्ति लेख्न थाल्थे। एलेनले लेखेका छन् कि गेट्सका औँलामा विभिन्न रङका मसीका दाग हुन्थे।
गेट्सको दिमागमा कोड चलिरहेको थियो। उनले पहिले कागजमा समस्या हल गर्थे। त्यसपछि मात्र कम्प्युटरमा लेख्थे।
पाँच दशकपछि पनि गेट्सले यही कोडलाई आफ्नो जीवनको “सबैभन्दा राम्रो” वा “सबैभन्दा रमाइलो” कोडमध्ये एक भनेर सम्झिएका छन्।
उनका शब्दमा – “त्यो मैले आजसम्म लेखेको सबैभन्दा उत्कृष्ट कोड थियो।”
यो केवल एउटा विद्यार्थी परियोजना थिएन। यो उनीहरूको पहिलो वास्तविक उत्पादन थियो।
समय अत्यन्त कम थियो। गेट्सले हार्भर्डको कम्प्युटर प्रयोगशालामा कोड लेखिरहेका थिए। एलेनले कम्प्युटरको संरचना अनुकरण गर्ने प्रणाली तयार पारिरहेका थिए। दुवैले लगभग छुट्टाछुट्टै काम गर्दै एउटै घडीविरुद्ध दौडिरहेका थिए।
सबैभन्दा ठूलो समस्या अन्तिम चरणमा थियो। उनीहरूले बनाएको प्रोग्राम वास्तविक अल्टेयर कम्प्युटरमा कहिल्यै चलाइएको थिएन। सिद्धान्तमा सबै ठीक थियो। तर वास्तविक मेसिनले सिद्धान्तको सम्मान गर्नुपर्छ भन्ने कुनै ग्यारेन्टी थिएन।
एलेन तयार भएको टेप लिएर अल्बुकर्कतर्फ उडे। विमानभित्रै उनलाई एउटा समस्या सम्झना आयो। कार्यक्रम सुरु भएपछि कम्प्युटरलाई निश्चित निर्देशन दिनुपर्ने एउटा महत्वपूर्ण भाग छुटेको थियो।
यो विवरण एलेनले पछि आफ्नै संस्मरणमा उल्लेख गरेका छन्। उनले विमानमै त्यस समस्याको समाधान सोच्न थाले। अल्बुकर्क पुगेपछि उनले अन्तिम समयमा आवश्यक कोड थपे।
अब उनी एउटा यस्तो कम्प्युटरको अगाडि थिए, जसमा उनीहरूको सफ्टवेयर पहिले कहिल्यै चलाइएको थिएन।
यदि असफल भयो भने? महिनौँको काम समाप्त। सम्झौता समाप्त। सायद अवसर पनि समाप्त।
एलेनले टेप मेसिनमा राखे। कार्यक्रम लोड भयो। त्यसपछि- मेसिनले प्रतिक्रिया दियो। प्रोग्राम चल्यो।
त्यो क्षण गेट्स त्यहाँ थिएनन्। तर एलेनका लागि त्यो केवल प्राविधिक सफलता थिएन। दुई किशोरले धेरै वर्षदेखि कल्पना गरेको संसारले पहिलो पटक वास्तविक आकार लिएको क्षण थियो।
एमआईटीएसले उनीहरूलाई काम दियो। र इतिहासको एउटा नयाँ अध्याय सुरु भयो।
हार्भर्डछाडी माइक्रोसफ्ट
पल एलेन अल्बुकर्कमा बसेर एमआईटीएसका लागि काम गर्न थाले। गेट्स भने हार्भर्ड फर्किए। तर अब विश्वविद्यालय पहिलेको जस्तो रहेन।
उनको अगाडि एउटा वास्तविक कम्पनीको सम्भावना थियो। एक वास्तविक ग्राहक। एक वास्तविक उत्पादन। र एउटा यस्तो उद्योग, जुन जन्मिँदै थियो।
सन् १९७५ को अन्त्यतिर गेट्सले हार्भर्ड छाड्ने निर्णय गरे। पछि “हार्भर्ड ड्रपआउट” भन्ने शब्द आधुनिक उद्यमशीलताको एउटा रोमान्टिक प्रतीक बन्यो। तर गेट्सको निर्णय कुनै सामान्य विद्रोह थिएन।
उनले विश्वविद्यालय छाड्दा माइक्रोसफ्ट विशाल कम्पनी थिएन। उनीसँग कुनै अर्बौँ डलरको मूल्यांकन थिएन। न लगानीकर्ताको भीड। न सफलताको ग्यारेन्टी।
उनीसँग एउटा मात्र विश्वास थियो- व्यक्तिगत कम्प्युटर आउनेछ। र त्यस संसारलाई सफ्टवेयर चाहिनेछ।
सन् १९७५ मा गेट्स र एलेनले आफ्नो साझेदारीका लागि एउटा नाम खोजे। ‘माइक्रोकम्प्युटर’ र ‘सफ्टवेयर’। दुई शब्द जोडिए। माइक्रो-सफ्ट।
जुलाई २९, १९७५ मा गेट्सले एलेनलाई लेखेको एउटा पत्रमा यो नाम पहिलो पटक लिखित रूपमा देखिन्छ। केही समयपछि हाइफन हरायो। नाम रह्यो- माइक्रोसफ्ट।
सुरुमा त्यो केवल दुई युवाको साझेदारी थियो। तर त्यस साझेदारीभित्र एउटा असाधारण विभाजन थियो। एलेन भविष्यको प्रविधि खोज्थे। गेट्स त्यस सम्भावनालाई उत्पादन र व्यवसायमा बदल्ने बेचैनी राख्थे।
एकले अवसर देखे। अर्काले त्यसलाई कब्जा गर्ने गति दिए। र दुवैले मिलेर एउटा यस्तो उद्योगको जग राखे, जसले पछि संसारको काम गर्ने तरिका बदल्यो।
बिल गेट्सले पछि त्यो पुरानो पपुलर इलेक्ट्रोनिक्स पत्रिकाको आवरणलाई फर्केर हेर्दै लेखे-
“त्यो पत्रिकाको आवरणले मेरो जीवन बदल्यो।”
सायद अझ सही कुरा के थियो भने – त्यो आवरणले केवल बिल गेट्सको जीवन बदलेन। त्यसले कम्प्युटर उद्योगको केन्द्र कहाँ हुनेछ भन्ने प्रश्नलाई पनि नयाँ उत्तर दियो।
मेसिन बनाउने कम्पनीहरूभन्दा ठूलो शक्ति अब बिस्तारै त्यहाँ सर्दै थियो- त्यो मेसिनलाई के गर्न लगाउने भनेर लेख्ने मानिसहरूतिर।
माइक्रोसफ्ट: गेट्सको परिवर्तनकारी दृष्टि
४ अप्रिल १९७५। बिल गेट्स र पल एलेनले अल्बुकर्क, न्यु मेक्सिकोबाट माइक्रोसफ्ट सुरु गरे। व्यक्तिगत कम्प्युटरको सम्भावना पहिल्याउँदै उनीहरूले कम्प्युटरभन्दा त्यसलाई चलाउने सफ्टवेयरमा भविष्य देखे। अल्टेयर ८८०० का लागि बनाएको बेसिकबाट सुरु भएको यात्रा केही वर्षमै विश्वव्यापी प्रविधि साम्राज्यतर्फ अघि बढ्यो।
१९८१ मा आइबिएमको व्यक्तिगत कम्प्युटरमा एमएस–डस समावेश भएपछि माइक्रोसफ्टको विस्तार तीव्र भयो। विन्डोज, अफिस र १९८६ को शेयर बजार प्रवेशले कम्पनीलाई व्यक्तिगत कम्प्युटिङको केन्द्रमा पुर्यायो। ३० वर्षकै उमेरमा गेट्सले कम्पनीको ठूलो हिस्सा नियन्त्रणमा राखेका थिए र १९८७ मा अर्बपति बने।
तर गेट्सको वास्तविक परीक्षा माइक्रोसफ्टको सफलतापछि आयो। प्रतिस्पर्धाविरोधी मुद्दा, मोबाइलमा पछि पर्नु र नोकियाको असफल अधिग्रहणले कम्पनीको सीमितता देखायो। गेट्सले सञ्चालनबाट पछि हटेपछि पनि माइक्रोसफ्टको अर्को रूपान्तरणको आधार तयार भयो।
सत्य नाडेलाको नेतृत्वमा माइक्रोसफ्ट विन्डोजकेन्द्रित कम्पनीबाट क्लाउड, सदस्यता र एआईमा केन्द्रित प्रविधि कम्पनी बन्यो। एज्योर, माइक्रोसफ्ट ३६५ र कोपाइलटले त्यस परिवर्तनलाई नयाँ उचाइ दिए।
गेट्सको सबैभन्दा ठूलो उपलब्धि माइक्रोसफ्ट स्थापना गर्नु मात्र थिएन। समयसँगै प्रविधिको केन्द्र बदलिन्छ भन्ने कुरा चाँडै बुझ्नु थियो। उनले व्यक्तिगत कम्प्युटिङको लहर पहिचान गरे; माइक्रोसफ्टले त्यसलाई व्यवसायमा बदल्यो। पछिल्ला पुस्ताले क्लाउड र एआईमा त्यही परिवर्तनको सिद्धान्त अघि बढाए।
आर्थिक वर्ष २०२६ मा माइक्रोसफ्टलेकरिब ३.७–३.८ ट्रिलियन डलरको स्तरमा पुग्यो। बिल गेट्स अब कम्पनी सञ्चालनमा छैनन्, तर उनको सबैभन्दा ठूलो विरासत माइक्रोसफ्टको सम्पत्ति होइन-परिवर्तनलाई चिन्न सक्ने दृष्टि हो। विन्डोजले माइक्रोसफ्टलाई विशाल बनायो। क्लाउडले पुनर्जन्म दियो। अब एआईले यसको भविष्य लेख्दैछ।
माइक्रोसफ्टको चार दशकभन्दा लामो यात्राको सबैभन्दा ठूलो पाठ यही हो-सफल कम्पनी त्यो होइन, जसले कहिल्यै गल्ती गर्दैन; सफल कम्पनी त्यो हो, जसले समय बदलिनुअघि आफूलाई बदल्न सक्छ।गेट्सको यात्राको एउटा स्थायी पाठ छ-सफलता बजार जित्नुमा मात्र होइन, अर्को बजार आउनुअघि आफूलाई बदल्नुमा छ।
गेट्सको सबैभन्दा ठूलो शक्ति
धेरै व्यवसायी आजको बजार हेर्छन्। राम्रा व्यवसायी अर्को वर्षको बजार अनुमान गर्छन्। असाधारण व्यवसायी भने बजार बन्नुअघि नै त्यसको पूर्वाधारमाथि नियन्त्रण कसरी बनाउने भन्ने सोच्न थाल्छन्।
बिल गेट्सको असाधारणता यहीँ थियो।
उनले कम्प्युटरलाई एउटा उत्पादनका रूपमा मात्र हेरेनन्। उनले त्यसको वरिपरि बन्ने व्यवसायिक संरचना देखे। कम्प्युटर बढ्नेछन्। तिनलाई सफ्टवेयर चाहिनेछ। सफ्टवेयर चलाउन विकासकर्ता चाहिनेछन्। विकासकर्तालाई साझा प्लेटफर्म चाहिनेछ। र जुन प्लेटफर्ममा धेरै विकासकर्ता र धेरै अनुप्रयोग जम्मा हुन्छन्, त्यसले प्रयोगकर्तालाई पनि आफूतिर तान्नेछ।
यो केवल सफ्टवेयर बेच्ने रणनीति थिएन। यो इकोसिस्टम निर्माण गर्ने रणनीति थियो।
माइक्रोसफ्टले विन्डोजलाई त्यही रूपमा विकास गर्यो-सफ्टवेयरको अन्तिम उत्पादनभन्दा बढी, अरूले आफ्ना उत्पादन बनाउन प्रयोग गर्ने आधारका रूपमा। १९९८ मा गेट्सले विकासकर्ताहरूलाई विन्डोजलाई नयाँ पुस्ताका अनुप्रयोग निर्माण गर्ने प्रमुख प्लेटफर्म बनाउनुपर्नेमा जोड दिएका थिए।
यसको अर्थ व्यापारमा एउटा महत्वपूर्ण परिवर्तन थियो। माइक्रोसफ्टले केवल आफ्ना ग्राहक खोजिरहेको थिएन; उसले आफ्ना लागि हजारौं अप्रत्यक्ष ग्राहक र साझेदार सिर्जना गरिरहेको थियो-विकासकर्ताहरूको रूपमा।
तर यही प्लेटफर्म सोचको अर्को, कम आरामदायी पक्ष पनि थियो।
१९९० को दशकको मध्यतिर इन्टरनेट तीव्र रूपमा फैलिँदा गेट्सले सम्भावित खतरा चाँडै पहिचान गरे। १९९५ को उनको प्रसिद्ध “इन्टरनेट टाइडल वेभ” ज्ञापनमा उनले इन्टरनेटलाई माइक्रोसफ्टका लागि अत्यन्तै महत्वपूर्ण परिवर्तन माने र नेटस्केपको ब्राउजरले विन्डोजको आधारभूत शक्ति कमजोर पार्न सक्ने चेतावनी दिए। अमेरिकी न्याय विभागका अभिलेखहरूले पनि देखाउँछन् कि माइक्रोसफ्टले ब्राउजरलाई केवल एउटा एप्लिकेसन होइन, विन्डोजको विकल्प बन्न सक्ने नयाँ प्लेटफर्मका रूपमा बुझेको थियो।
यहीँ गेट्सको अर्को विशेषता देखिन्छ-प्रतिस्पर्धालाई बजारको सामान्य घटना होइन, संरचनात्मक खतरा मान्ने क्षमता। उनका लागि प्रश्न “आज कसले बढी ब्राउजर बेचिरहेको छ?” मात्र थिएन। प्रश्न थियो-भोलि विकासकर्ताहरूले कुन प्लेटफर्मका लागि लेख्नेछन्?
त्यो प्रश्नको उत्तरले नै शक्ति निर्धारण गर्ने थियो। यही कारण गेट्सको नेतृत्व केवल दूरदृष्टिमा आधारित थिएन; त्यो अत्यन्त आक्रामक प्रतिस्पर्धात्मक अनुशासनमा पनि आधारित थियो। माइक्रोसफ्टका पूर्वकर्मचारी र अनुसन्धानहरूले देखाउने कम्पनी संस्कृति उच्च बौद्धिक माग, निरन्तर समस्या समाधान र विकास प्रक्रियामाथिको गहिरो ध्यानले भरिएको थियो।
त्योभन्दा गहिरो पाठ हो-भविष्यमा बन्ने बजारको केन्द्र कहाँ हुनेछ भनेर पहिल्यै पहिचान गर्नु, त्यस केन्द्र वरिपरि इकोसिस्टम बनाउनु र प्रतिस्पर्धीले त्यही केन्द्र कब्जा गर्न खोज्दा त्यसलाई आफ्नो अस्तित्वको प्रश्नका रूपमा लिनु।
गेट्सले कम्प्युटरको भविष्य मात्र देखेका थिएनन्।
उनले भविष्यको कम्प्युटिङ संरचनामा शक्ति कहाँ जम्मा हुनेछ भन्ने देखेका थिए। र व्यापारमा, धेरैपटक सबैभन्दा ठूलो सम्पत्ति उत्पादन होइन-त्यो उत्पादनमाथि अरूले निर्भर हुनुपर्ने संरचना हुन्छ।
गेट्स र बफेट: फरक संसारका दुई दिमाग
बिल गेट्सको जीवनमा अर्को महत्वपूर्ण व्यक्ति हुन्-वारेन बफेट। दुवै मानिस फरक संसारबाट आएका थिए।
एक सफ्टवेयर र प्रविधिको संसारबाट। अर्का कम्पनीको मूल्य, पूँजी र लगानीको संसारबाट। तर उनीहरूबीचको सम्बन्धको शक्ति उनीहरूको समानतामा भन्दा भिन्नतामा थियो।
५ जुलाई १९९१ मा उनीहरू पहिलोपटक भेटेपछि यी दुईबीच बनेको सम्बन्धले एउटा रोचक व्यापारिक सत्य देखायो-सफलताका लागि एउटै प्रकारको दिमाग आवश्यक हुँदैन; फरक प्रकारका दिमाग एकअर्काका लागि अझ उपयोगी हुन सक्छन्।
उनीहरूको पहिलो भेट सियाटल नजिक गेट्सकी आमाको निमन्त्रणामा भएको थियो। गेट्स सुरुमा दुई घण्टाभन्दा बढी बस्ने सोचमा थिएनन्। तर बफेटले सफ्टवेयर व्यवसायबारे यस्ता प्रश्नहरू सोधे, जुन गेट्सलाई अरूले सोधेका थिएनन्। दुई घण्टा बित्यो, त्यसपछि अझै घण्टौं कुराकानी चल्यो। गेट्सका अनुसार त्यही पहिलो भेटबाट गहिरो मित्रता सुरु भयो।
त्यो मित्रताको शक्ति उनीहरूको समानतामा होइन, भिन्नतामा थियो। गेट्सको दिमाग प्रविधिले संसारलाई कहाँ पुर्याउन सक्छ भन्नेमा केन्द्रित थियो। बफेटको दिमाग भने कुनै पनि व्यवसायमा एउटा सरल प्रश्न खोज्थ्यो-यसले दीर्घकालमा वास्तविक मूल्य कसरी सिर्जना गर्छ?
गेट्सका लागि बफेट केवल सफल लगानीकर्ता थिएनन्; उनी दीर्घकालीन सोच, पूँजीको अनुशासन र सरल प्रश्नबाट जटिल व्यवसाय बुझ्ने क्षमताका शिक्षक बने। गेट्सले पछि बफेटले आफूलाई जीवनमा दुई कुरा अझ राम्रोसँग गर्न सिकाएको बताएका थिए-अझ धेरै सिक्न र अझ धेरै हाँस्न।

गेट्सले बफेटबाट लगानी मात्र सिकेनन्। उनले धैर्य, पूँजीको अनुशासन र मानिस तथा व्यवसायको गुणस्तर पहिचान गर्ने दृष्टि सिके। बफेटका लागि पनि गेट्स एउटा नयाँ संसारको झ्याल थिए। प्रविधिको तीव्र परिवर्तनलाई नजिकबाट बुझ्ने अवसरले उनको परम्परागत लगानी दृष्टिलाई फराकिलो बनायो। एकले भविष्य कति छिटो आउँदैछ भनेर देखे। अर्काले राम्रो निर्णयलाई समय दिनुपर्ने कुरा सम्झाए।
यही सम्बन्धले उनीहरूलाई व्यवसायभन्दा बाहिर पनि जोड्यो।
दुवैले धनलाई अन्तिम गन्तव्य मानेनन्। उनीहरूको दृष्टिमा सम्पत्ति केवल व्यक्तिगत उपभोग वा उत्तराधिकारका लागि जम्मा गरिने वस्तु थिएन; त्यसलाई ठूलो सामाजिक समस्यामा लगानी गर्न सकिने पूँजीका रूपमा पनि हेर्न सकिन्थ्यो।
गेट्सले बफेटबाट पैसा कसरी लगानी गर्नेभन्दा पनि समय कसरी लगानी गर्ने सिके। बफेटले गेट्सबाट प्रविधि कसरी बनाउनेभन्दा पनि प्रविधिले भविष्यका व्यवसायहरूको संरचना कसरी बदल्न सक्छ भन्ने नजिकबाट देखे।
सन् २००६ मा बफेटले आफ्नो सम्पत्तिको ठूलो हिस्सा परोपकारमा दिने घोषणा गरे। त्यसको ठूलो भाग गेट्स फाउन्डेसनतर्फ जाने थियो। यो आधुनिक परोपकारको इतिहासमा एउटा निर्णायक क्षण थियो। संसारका धनी व्यक्तिले आफ्नो सम्पत्तिको ठूलो हिस्सा अर्को पुस्तालाई हस्तान्तरण गर्नुको सट्टा जीवनकालमै सार्वजनिक हितमा प्रयोग गर्ने विचार अझ शक्तिशाली रूपमा अगाडि आयो।
त्यसपछि गेट्स, मेलिन्डा फ्रेन्च गेट्स र बफेटले सन् २०१० मा गिभिङ प्लेज सुरु गरे। यसको उद्देश्य विश्वका अत्यन्त धनी व्यक्तिहरूलाई आफ्नो सम्पत्तिको ठूलो हिस्सा परोपकारमा दिने सार्वजनिक प्रतिबद्धतातर्फ प्रेरित गर्नु थियो।
यसले एउटा नयाँ प्रश्न पनि जन्मायो। यदि निजी सम्पत्तिले सार्वजनिक समस्याको समाधान गर्न सक्छ भने, त्यस सम्पत्तिसँगै सार्वजनिक नीतिमाथिको प्रभाव पनि निजी हातमा सर्दैन र?
गेट्स फाउन्डेसनले विश्वव्यापी स्वास्थ्य, खोप, शिक्षा र विकासका क्षेत्रमा ठूलो लगानी गरेको छ। तर यसको आकार र प्रभावले आलोचनालाई पनि निम्त्याएको छ।
आलोचकहरूको प्रश्न छ-संसारका अत्यन्त धनी व्यक्तिले आफ्नो निजी सम्पत्तिबाट सार्वजनिक प्राथमिकतामा यति ठूलो प्रभाव पार्नु लोकतान्त्रिक रूपमा कति उचित हो? निजी फाउन्डेसनले सरकारका प्राथमिकता प्रभावित गर्न सक्छ भने त्यसको जवाफदेहिता कसप्रति हुनुपर्छ?
यी प्रश्नलाई गेट्सको कथाबाट अलग गर्न मिल्दैन। किनभने आधुनिक परोपकारको एउटा असहज विरोधाभास यही हो-पूँजीवादबाट सिर्जित विशाल निजी सम्पत्तिलाई फेरि त्यही पूँजीवादले सिर्जना गरेका सामाजिक असमानता र सार्वजनिक समस्यालाई सम्बोधन गर्न प्रयोग गरिन्छ।
यसमा गेट्स-बफेट सम्बन्ध अझ रोचक देखिन्छ। बफेटले पूँजी कसरी बढाउने भन्ने खेलमा दशकौं बिताए। गेट्सले प्रविधिलाई विश्वव्यापी रूपमा विस्तार गर्ने खेल खेले। पछि दुवैले अर्को प्रश्नतर्फ ध्यान दिए-त्यो सम्पत्तिको अन्तिम उपयोग के हुनुपर्छ?
त्यसैले गेट्स र बफेटको सम्बन्धलाई केवल दुई अर्बपतिको मित्रता भनेर बुझ्नु अपूरो हुन्छ। यो प्रविधि र पूँजी, गति र धैर्य, नवप्रवर्तन र मूल्याङ्कनबीचको असाधारण बौद्धिक साझेदारी थियो।
गेट्सले बफेटबाट पैसा मात्र होइन, समयको शक्ति सिके। बफेटले गेट्सबाट प्रविधिको शक्ति अझ नजिकबाट बुझे। र उनीहरूको परोपकारी यात्राले आधुनिक पूँजीवादको एउटा ठूलो प्रश्नलाई केन्द्रमा ल्यायो-धन कमाउने शक्ति जति महत्वपूर्ण छ, त्यसलाई समाजमा कहाँ, कसरी र कसको हितमा प्रयोग गर्ने शक्ति पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
परोपकार
बिल गेट्सले माइक्रोसफ्टबाट सम्पत्ति बनाए। त्यसपछि उनले त्यही सम्पत्तिलाई अर्को किसिमको प्रयोगमा लगाए-संसारका सबैभन्दा कठिन समस्यामा पूँजी, विज्ञान र व्यवस्थापनको शक्ति लगाउने। गेट्सले माइक्रोसफ्टबाट बजारको संरचना बदल्ने प्रयास गरे। अब परोपकारमार्फत उनी समाजका समस्याको संरचना बदल्ने प्रयास गरिरहेका छन्।
२००० मा स्थापना भएको गेट्स फाउन्डेसनले विश्व स्वास्थ्य, पोषण, शिक्षा र गरिबी न्यूनीकरणलाई आफ्नो मुख्य क्षेत्रमा राख्यो। यसको दृष्टिकोण परम्परागत दानभन्दा फरक थियो। पैसा बाँड्नेभन्दा खोप, औषधि, स्वास्थ्य प्रविधि र शिक्षा प्रणालीमा ठूलो मात्रामा दोहोर्याउन सकिने समाधान खोज्ने प्रयास गरियो।
फाउन्डेसनको सबैभन्दा ठूलो प्रयोग विश्व स्वास्थ्यमा भयो। पोलियो, मलेरिया, क्षयरोग, एचआईभी, खोप, मातृ तथा शिशु स्वास्थ्यजस्ता क्षेत्रमा फाउन्डेसनले अर्बौं डलर लगानी गरेको छ।
२०२५ मा मात्रै यसको परोपकारी सहायता ८.४७ अर्ब डलर पुगेको थियो। त्यसमा पोलियोका लागि ७४९ मिलियन, खोपका लागि ४७४ मिलियन र मलेरियाका लागि ३२१ मिलियन डलर छुट्याइएको थियो।
यसको प्रभाव नेपालसम्म पनि पुगेको छ। गेट्स फाउन्डेसनले नेपालमा बाल तथा मातृ स्वास्थ्य र पोषणसम्बन्धी कामलाई सहयोग गरेको छ। फाउन्डेसनको अभिलेखमा बालियो नेपाल न्यूट्रिसन इनिसिएटिभलाई २०२१ मा ७३०,५८६ डलरको अनुदान दिइएको देखिन्छ, जसको उद्देश्य मातृ, नवजात र बाल पोषण तथा स्वास्थ्य थियो।
नेपालमा गेट्स फाउन्डेसनको प्रभाव प्रत्यक्ष अनुदानमा मात्र सीमित छैन। युनिसेफ नेपालका साझेदारमध्ये गेट्स फाउन्डेसन पनि एक हो, जसले बालबालिका, किशोरकिशोरी र महिलाका कार्यक्रमलाई सहयोग गर्छ। शिक्षा क्षेत्रमा यस्ता साझेदारीले प्रारम्भिक सिकाइ, विद्यालय पहुँच र विशेषतः सीमान्तकृत बालबालिकासम्म कार्यक्रम पुर्याउने प्रयासलाई बल दिएको छ।
तर गेट्सको परोपकारको वास्तविक आकार नेपालभन्दा धेरै ठूलो छ। विश्वव्यापी रूपमा खोप, पोलियो उन्मूलन, मलेरिया, मातृ तथा नवजात स्वास्थ्य र पोषणमा उनको फाउन्डेसनले अर्बौं डलर लगानी गरेको छ। यसको लक्ष्य केवल आज एउटा बच्चालाई सहयोग गर्नु होइन; भोलि त्यही समस्या कम महँगो र ठूलो परिमाणमा समाधान गर्न सकिने प्रणाली बनाउनु हो।
२०२४ मा गेट्सले २०४५ सम्म आफ्नो लगभग सम्पूर्ण सम्पत्ति गेट्स फाउन्डेसनमार्फत खर्च गर्ने योजना घोषणा गरे। यसको अर्थ उनको जीवनको दोस्रो चरण पनि पहिलो चरणजस्तै एउटा ठूलो प्रयोग हो-माइक्रोसफ्टमा प्रविधिको स्केल प्रयोग गरे; परोपकारमा पूँजी, विज्ञान र संस्थागत साझेदारीको स्केल प्रयोग गर्ने।
गेट्सको असली सम्पत्ति: जिज्ञासा
बिल गेट्सको सफलताको कथा कम्प्युटरबाट सुरु भएपनि सफलताको श्रेय भने जिझासा हो। बाल्यकालदेखि नै गेट्स असाधारण रूपमा पढ्थे।
उनले आफ्नो बाल्यकालको घरमा रहेको ‘वर्ल्ड बुक इन्साइक्लोपीडिया’ अक्षरक्रममा पढेको बताएका छन्। उनी वर्षमा करिब ५० पुस्तक, अर्थात् हप्तामा लगभग एउटा पुस्तक पढ्छन्। उनका लागि पढ्नु मनोरञ्जन मात्र होइन-नयाँ कुरा सिक्ने, फरक दृष्टिकोण बुझ्ने र आफ्नो सोचलाई चुनौती दिने माध्यम हो।
उनको रोजाइ पनि यही स्वभावको छ। विज्ञान र प्रविधिदेखि इतिहास, अर्थतन्त्र, स्वास्थ्य र संस्मरणसम्म उनका पुस्तक सूची फैलिएका छन्। ‘द बेटर एन्जल्स अफ आवर नेचर’, ‘एजुकेटेड’ र ‘बिजनेस एडभेन्चर्स’ उनका चर्चित सिफारिसमध्ये हुन्। किशोरावस्थामा उनी विज्ञान-कथाका पुस्तकतर्फ पनि आकर्षित थिए।
गेट्स पढेर मात्र छाड्दैनन्। पुस्तकका महत्वपूर्ण ठाउँमा टिप्पणी गर्छन्, विचारहरूबीच सम्बन्ध खोज्छन् र त्यसपछि आफ्ना ‘गेट्स नोट्स’मा समीक्षा र निष्कर्ष सार्वजनिक गर्छन्। उनले पढाइलाई आफ्नो सबैभन्दा महत्वपूर्ण सिकाइको माध्यमका रूपमा वर्णन गरेका छन्।
माइक्रोसफ्टको नेतृत्वमा उनको प्रसिद्ध ‘थिङ्क विक’ पनि यही चरित्रको परिणाम थियो। वर्षमा केही समय उनी कम्पनीको दैनिक दौडधुपबाट अलग भएर पुस्तक, अनुसन्धानपत्र र नयाँ प्रविधिको अध्ययन गर्थे। उद्देश्य तत्काल निर्णय गर्नु थिएन; भोलिको महत्वपूर्ण विषय आजै बुझ्नु थियो।
गेट्सको चरित्रमा अर्को कुरा पनि उल्लेखनीय थियो-बौद्धिक असन्तुष्टि। उनी सजिलै उत्तर स्वीकार गर्ने व्यक्ति थिएनन्। प्रश्न गर्थे, तथ्य खोज्थे, तर्कमाथि चुनौती दिन्थे र आफू गलत हुन सक्ने सम्भावनालाई पनि खुला राख्थे।
२०२५ मा प्रकाशित उनको पहिलो संस्मरण ‘सोर्स कोड: माइ बिगिनिङ्स’ले बाल्यकाल, परिवार, हार्वर्ड, पल एलेन र माइक्रोसफ्टको सुरुवाती यात्रालाई व्यक्तिगत दृष्टिले फर्केर हेर्छ। पुस्तकबाट प्राप्त आम्दानी परोपकारी काममा दिने घोषणा पनि उनले गरेका छन्।
यसले गेट्सको एउटा महत्वपूर्ण विशेषता देखाउँछ-सफल भएपछि पनि आफूलाई विद्यार्थी ठानिरहनु। माइक्रोसफ्टले उनलाई धन दियो। जिज्ञासाले उनलाई नयाँ विषयतर्फ लैजायो।
पढ्ने बानीले उनलाई आफ्नै सफलताको कैदी बन्न दिएन।
उत्पादन पुरानो हुन सक्छ। बजार बदलिन सक्छ। पूँजी गुम्न सक्छ। तर सिक्ने क्षमता कायम रहेसम्म मानिस फेरि नयाँ खेलमा प्रवेश गर्न सक्छ। गेट्सको सबैभन्दा उपयोगी पाठ त्यसैले सरल छ- सफलता गन्तव्य होइन; आफूलाई सधैं विद्यार्थी बनाइराख्ने क्षमता हो।
