काठमाडौँ। प्रमुख चाडपर्व नजिकिँदै गर्दा चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी बाढीले ध्वस्त भएपछि नेपालमा आयात हुने वस्तुको आपूर्ति र मूल्यमा थप दबाब पर्ने जोखिम बढेको छ।
भोटेकोशी र लेन्दे खोलाको बाढीले रसुवागढी भन्सार क्षेत्र, मितेरी पुल तथा सीमा क्षेत्रका संरचनामा ठूलो क्षति पुर्याएको छ। बेत्रावती–रसुवागढी करिब ४२ किलोमिटर सडक विभिन्न स्थानमा बगाएको छ भने स्याफ्रुबेसी–सीमा थप १६ किलोमिटर सडकको क्षतिको विवरण संकलन भइरहेको छ।
नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीका अनुसार बाढीले २०० भन्दा बढी मालवाहक र करिब २०० खाली कन्टेनर बगाएको छ। केरुङमा १७६ कन्टेनर र ७७ चालक अलपत्र छन्।
रसुवागढीबाट चाडपर्वका लागि चीनबाट लत्ताकपडा, जुत्ता–चप्पल, विद्युतीय सामग्री, फलफूल, लसुन र अदुवालगायत वस्तु आयात हुन्छन्। नाका लामो समय अवरुद्ध भए वैकल्पिक मार्गबाट सामान ल्याउँदा ढुवानी समय र लागत बढ्ने र त्यसको भार अन्ततः उपभोक्ता मूल्यमा पर्ने व्यवसायीको भनाइ छ।
गत वर्षको बाढीबाट क्षतिग्रस्त मितेरी पुल र सडकको मर्मत पूरा नहुँदै फेरि ठूलो क्षति भएको हो। स्याफ्रुबेसी–रसुवागढी १६ किलोमिटर सडकलाई चिनियाँ अनुदानमा दुई लेनमा स्तरोन्नति गर्ने कामसमेत प्रभावित भएको छ।
चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार हो। चालु वर्षको साउनमा चीनतर्फ २१ करोड २६ लाख रुपैयाँको निर्यात हुँदा ३१ अर्ब ७४ करोड रुपैयाँको आयात भएको थियो। सोही महिनामा चीनसँग नेपालको व्यापार घाटा ३१ अर्ब ५३ करोड रुपैयाँ पुगेको थियो।
व्यवसायीहरूले रसुवागढीको पुनर्निर्माणलाई राहत र उद्धारमा मात्र सीमित नगरी आपूर्ति सुरक्षा, व्यापार निरन्तरता र मूल्य स्थिरतासँग जोड्नुपर्ने बताएका छन्। तत्काल वैकल्पिक व्यापारिक मार्गको क्षमता बढाउन तथा दीर्घकालमा बाढी–पहिरो प्रतिरोधी उत्तरी व्यापारिक पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ।
