काठमाडौं। बाढी तथा विपद्पछि प्रभावित जलविद्युत् आयोजनाका टनेलमा खोज तथा उद्धार जारी रहेको नेपाली सेनाले जनाएका छ।
नेपाली सेनाले हवाई तथा स्थल माध्यमबाट उद्धारलाई तीव्रता दिएको जनाएको छ। सैनिक जनसम्पर्क निर्देशनलायले जारी गरेको विज्ञप्तीअनुसार चिलिमे जलविद्युत् आयोजनामा विदेशी विज्ञसहितको संयुक्त खोज तथा उद्धार टोली टनेलभित्र करिब ५० मिटरसम्म प्रवेश गरी खोजी गरिरहेको छ।
त्यस्तै, लाङटाङ जलविद्युत् आयोजनामा टोली करिब १५० मिटरसम्म टनेलभित्र प्रवेश गरेको छ। अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा पनि संयुक्त टोली करिब २०० मिटरसम्म प्रवेश गरी खोजी तथा उद्धार कार्यमा जुटेको छ। त्रिशूली–३ ए आयोजनामा टनेलको हेड पहिचान गरी कम्प्रेसरमार्फत टनेलभित्र हावा पठाउने काम भइरहेको सेनाले जनाएको छ।
टनेलभित्र जमेको पानी निकाल्ने कार्यसमेत जारी छ। तीनवटा एक्स्काभेटर प्रयोग गरी पछाडितर्फको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको छ भने रक ब्रेकर प्रयोग गरी टनेलभित्र प्रवेश गर्ने स्थान बनाउन ढुङ्गा फुटाउने काम भइरहेको नेपाली सेनाको भनाई छ।
त्रिशूली–३ बी आयोजनामा विज्ञसहितको टोली परिचालन गरी टनेल प्रवेशद्वार पत्ता लगाइएको छ। प्रवेशद्वारबाट टनेलभित्र एक्स्काभेटरसमेत प्रयोग गरी खन्ने कार्य जारी छ।
बाढीपछि तत्काल उद्धारका क्रममा विभिन्न जलविद्युत् आयोजना क्षेत्रबाट २७९ जनाको जीवित उद्धार गरिएको र उद्धार गरिएकामध्ये रसुवागढीबाट २, अपर त्रिशूली–१ बाट ३३, अपर त्रिशूली–३ एबाट २२१, अपर त्रिशूली–३ बीबाट २, मैलुङबाट ९, नुवाकोट सौर्य विद्युत् आयोजनाबाट ४, त्रिशूली जलविद्युत्बाट ३ र देवघाट जलविद्युत् आयोजनाबाट ५ जना रहेको सेनाको विज्ञप्तीमा जनाइएको छ।
स्थल खोज तथा उद्धारअन्तर्गत प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला तथा बस्तीमा नेपाली सेनाले पैदल गस्ती गरिरहेको जनाएको छ। स्थानीय बासिन्दालाई सुरक्षा प्रत्याभूति दिलाउँदै उद्धार आवश्यकताको मूल्याङ्कन तथा अवस्थाबारे जानकारी सङ्कलन भइरहेको सेनाले जनाएको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म ९ हजार २ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन गरिएको सैनिक मुख्यालयले जनाएको छ।
