काठमाडौं। भोटेकोशी बाढीपीडितलाई हङकङको राजनीतिक दल डिएबी (डेमोक्रेटिक एलाइन्स फर बेटरमेरन्ट) ले ४० लाख रुपैंयाँ राहत हस्तान्तरण गरेको छ ।
हङकङस्थित नेपाली महाबाणिज्य दूतावासका कार्यवाहक महाबाणिज्यदूत सतिस गुरुङलाई पार्टी अध्यक्ष गेरी चेनले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्।
डिएभी बेइजिङ समर्थक दल हो। नेपाली समुदायका स्थानीय नेता कुलप्रसाद गुरुङका अनुसार डिएबीले भोटेकोशी बाढीपीडितलाई पार्टीको कोषबाट उक्त रकम सहयोग गरेको हो।
हङकङको डिस्टिक काउन्सिलर अरुणा गुरुङकाअनुसार बाढीपीडितलाई राहत रकम हस्तान्तणमा अध्यक्ष गेरीसहित उपाध्यक्ष समेत रहेका सांसद होल्डेन चो, सांसद भिन्सेन्ट चेन, डिस्टिक काउन्सिलरद्धय अरुणा गुरुङ र बेनी यङ, कुलप्रसाद गुरुङ लगायतको उपस्थिति रहेको थियो।
कावा महाबाणिज्यदूत गुरुङले विपदमा सहयोग गर्नेलाई धन्यवाद दिदै प्राप्त सहयोग तत्काल नेपाल सरकारको एकद्धार नीतिअनुसार कोषमा जम्मा गर्ने जानकारी दिए। डिएवीले यसअघि ०७२ सालको भूकम्पमा आर्थिक सहयोग गरेको थियो।
