काठमाडौँ। एसीसी पुरुष प्रिमियर कपअन्तर्गत समूह चरणको दोस्रो खेलमा पनि नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गरेको छ। नेपालको धारिलो बलिङसामु निरिह बनेको आयोजक मलेसिया ३२.३ ओभरमा १०३ रनमै अलआउट भएको हो।
मलेसियास्थित युकेएम क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले सुरुआतदेखि नै नेपाली बलरको दबाब झेल्नुपरेको थियो। उसका लागि सायेद अजिजले सर्वाधिक ३० तथा अकिल वाहिदले २४ रन बनाए। अन्य ब्याटरले भने उल्लेख्य योगदान दिन सकेनन्।
नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै ७.३ ओभरमा २ मेडनसहित २३ रन खर्चेर ४ विकेट लिए। ललित राजवंशीले ६ ओभरमा १९ रन दिँदै २ विकेट लिए। सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र हेमन्त धामीले समान १ विकेट हात पारे।
नेपालले प्रतियोगिताको पहिलो खेलमा पनि बहराइनलाई ३६.२ ओभरमा ८७ रनमै अलआउट गरेको थियो। उक्त खेलमा कप्तान सन्दीप लामिछानेले १० ओभरमा ४ मेडनसहित १४ रन खर्चेर ५ विकेट लिएका थिए। करण केसीले २ तथा ललित राजवंशीले ३ विकेट लिएका थिए।
बहराइनले दिएको ८८ रनको लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको थियो।
लगातार दोस्रो खेलमा पनि विपक्षी टोलीलाई न्यून योगफलमा रोक्दै नेपालले बलिङमा आफ्नो दबदबा कायम राखेको छ। मलेसियालाई १०३ रनमै समेटेसँगै नेपाल लगातार दोस्रो जिततर्फ अग्रसर भएको छ।
