महोत्तरी। महोत्तरीको रामगोपालपुर नगरपालिकाले रसुवा बाढी प्रभावितलाई करिब ३१ लाख रुपैंयाँ सहयोग गर्ने निर्णय गरेको छ।
बाढी प्रभावितको राहत, उद्धार एवं पुनःस्थापनामा ३१ लाख ३५ हजार १३४ रुपैंयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय गरेको नगरपालिका प्रमुख रामदुलार साहले जानकारी दिए।
“राहतका लागि नगर बजेटको आन्तरिक स्रोत, जनप्रतिनिधि, कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकको योगदान रहेको छ”, नगर प्रमुख साहले भने, “यस्ता विपद्मा मन खोलेर सहयोग गर्न सबै पक्षसँग अपिल गरेका छौं।”
यसअघि गौशाला, बर्दिबास, भङ्गाहा, औरही र मटिहानी नगरपालिकाले बाढी प्रभावितको सहयोगका लागि ४७ लाख ५० हजार रुपैंयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइसकेको जानकारी दिइएको छ। महोत्तरी जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिका छन्।
