काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा त्रिशूली नदीको बाढीले सडक कटान गरेपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति प्रभावित भएको छ। सडक अवरुद्ध भएपछि नेपाल एलपी ग्यास उद्योग संघले वैकल्पिक मार्ग प्रयोग गरी ग्यास आपूर्ति गर्न उद्योगी तथा बिक्रेतालाई आग्रह गरेको छ।
बाढीका कारण काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा ग्यासको बिक्री–वितरणमा समस्या देखिएपछि नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघबीच भएको बैठकले वैकल्पिक व्यवस्थाबाट आपूर्ति गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धादिङमा रहेका ग्यास उद्योगबाट सिलिन्डर रिफिल गरी ट्रकमार्फत वैकल्पिक मार्ग हुँदै काठमाडौं उपत्यकामा ग्यास ल्याइनेछ। काठमाडौं उपत्यकामा रहेका उद्योगहरूले पनि आवश्यकताअनुसार सोही क्षेत्रका उद्योगबाट सिलिन्डर रिफिल गरी आपूर्ति गर्नुपर्नेछ।
संघका अनुसार हेटौंडाबाट काठमाडौंसम्म वैकल्पिक मार्ग प्रयोग गर्दा दूरी १३१ किलोमिटर पुग्ने भएकाले थप ढुवानी खर्च लाग्नेछ। नेपाल आयल निगमको निर्णयअनुसार हेटौंडास्थित सहारा ग्यास उद्योगबाट वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याउँदा थप ढुवानी भाडा प्रतिसिलिन्डर ९३ रुपैयाँ २६ पैसा र नियमानुसारको करसहित कुल १०५ रुपैयाँ ३८ पैसा कायम गरिएको छ।
यससँगै निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा उक्त अतिरिक्त ढुवानी खर्च जोड्दा काठमाडौं उपत्यकामा एलपी ग्यासको अधिकतम बिक्री मूल्य प्रतिसिलिन्डर २ हजार १६५ रुपैयाँ ३८ पैसा कायम भएको संघले जनाएको छ।
संघले उपत्यकामा एलपी ग्यास बजारीकरण गर्ने सबै उद्योग तथा बिक्रेतालाई सोभन्दा बढी मूल्य नलिई ग्यास बिक्री–वितरण गर्न आग्रह गरेको छ।
त्यस्तै, विपद्का कारण उत्पन्न असहज परिस्थितिमा नयाँ सिलिन्डरको बजारीकरण नगरी उपलब्ध सिलिन्डरबाटै आपूर्ति व्यवस्थालाई सहज बनाउन संघले उद्योगी तथा बिक्रेतालाई अनुरोध गरेको छ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दले उपभोक्तालाई ग्यासको अभाव हुन नदिन वैकल्पिक व्यवस्थामार्फत आपूर्ति निरन्तर राख्न उद्योगी तथा बिक्रेतालाई आग्रह गरेका छन्।
