लमजुङ। डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत तनहुँको भानु नगरपालिका–३ चाम्बासदेखि बाइसजाँघरसम्म सडक विस्तारको काम भइरहेको छ। उक्त खण्डमा करिब ८९ किलोमिटर सडक विस्तार एवं कालोपत्रेको काम धमाधम अघि बढेको छ।
उक्त सडक निर्माणको जिम्मा पिके निर्माण सेवा दाङले लिएको छ। रु ६२ करोडमा ठेक्का सम्झौता भएको सडक खण्डको हालसम्म करिब ३२ प्रतिशत भौतिक प्रगति भएको डुम्रे–बेँसीसहर सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिए।
आयोजनाका अनुसार २०८२ साल जेठमा सम्झौता भएको उक्त सडकखण्ड २०८४ जेठसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ। हाल सडक चौडा बनाउने, पर्खाल तथा नाली निर्माण र बेस तयार गर्ने काम भइरहेको छ। कालोपत्रे, कल्भर्ट निर्माण तथा रङरोगन गर्न बाँकी छ।
त्यसैगरी, चालु आर्थिक वर्षमा तनहुँको बाइसजाँगरदेखि लमजुङ–तनहुँ सिमाना हुँदै लमजुङको सुन्दरबजार नगरपालिका–७ पाउँदीसम्मको करिब ६।५ किलोमिटर सडक दुई लेनमा विस्तार गर्न रु ६८ करोड बजेट विनियोजन भएको छ। सो सडक खण्डको ठेक्का आह्वान भइसकेको र ठेकेदार छनोट प्रक्रिया अघि बढेको आयोजनाले जनाएको छ।
लमजुङ, मनाङलगायतका जिल्लालाई जोड्ने प्रमुख मार्गका रूपमा रहेको उक्त सडक हुँदै अन्नपूर्ण पदमार्गमा जाने आन्तरिक तथा विदेशी पर्यटक आवतजावत गर्ने गरेका छन्। सडक दुई लेनमा विस्तार भएपछि यातायात सहज हुनुका साथै पर्यटन आवागमनमा वृद्धि हुने अपेक्षा छ।
