काठमाडौं । अमेरिकामा डिजेलको औसत मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। सेप्टेम्बर ४ मा डिजेलको मूल्य प्रतिग्यालोन ५.८५ अमेरिकी डलर पुगेको हो।
यसअघि सन् २०२२ को जुनमा प्रतिग्यालोन ५.८१ डलर पुगेको थियो। पछिल्लो मूल्यले उक्त रेकर्ड तोडेको हो।
लेबर डे सप्ताहन्तअघि अमेरिकामा नियमित पेट्रोलको औसत मूल्य पनि प्रतिग्यालोन करिब ४.१५ डलर पुगेको छ। यो एक साताअघिको तुलनामा करिब ६ सेन्ट बढी हो।
सीबीएस न्युजका अनुसार अमेरिकी अटोमोबाइल संघ (एएए) ले यस वर्षको लेबर डे सप्ताहन्तमा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च हुन सक्ने जनाएको छ।
सामान्यतया लेबर डे सप्ताहन्तमा पेट्रोलको माग घट्ने भएकाले मूल्य पनि केही कम हुने गर्छ। तर यसपटक कच्चा तेलको मूल्य उच्च रहेकाले पेट्रोलको मूल्यमा त्यसको प्रत्यक्ष असर परेको एएएले जनाएको छ।
यसअघि अमेरिकामा लेबर डे सप्ताहन्तका क्रममा पेट्रोलको औसत मूल्य प्रतिग्यालोन ४ डलरभन्दा माथि पुगेको थिएन।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि उच्च छ। करिब एक सातासम्म लगातार बढेको बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य अहिले प्रतिब्यारेल करिब ९५ डलरमा स्थिर छ। यो मूल्य एक वर्षअघिको तुलनामा करिब ४५ प्रतिशत बढी हो।
यसैबीच, हर्मुज जलडमरूमध्यबाट हुने जहाज आवागमन युद्धअघि कायम रहेको स्तरभन्दा निकै घटेको छ। लोयड्स लिस्ट इन्टेलिजेन्सका अनुसार गत साता उक्त जलमार्गबाट १०२ वटा पानीजहाज गुज्रिएका थिए। अघिल्लो साता यो संख्या १२६ थियो।
युद्धअघि हर्मुज जलडमरूमध्यबाट दैनिक कम्तीमा १३० वटा तेलवाहक ट्यांकर आवतजावत गर्ने गरेका थिए।
यद्यपि, ठूलो परिमाणमा कच्चा तेल अझै पनि ओमानको तट नजिकको दक्षिणी समुद्री मार्ग हुँदै अमेरिकी सेनाको निगरानी र निर्देशनमा ट्यांकरमार्फत ढुवानी भइरहेको छ।
अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले इन्धनको मूल्य कहिले घट्न सक्छ भन्नेबारे कुनै निश्चित समयसीमा दिएका छैनन्।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै भेन्सले इरानसँगको युद्धमा अमेरिकाले गरिरहेको प्रयास नभएको भए इन्धनको मूल्य अझै माथि पुग्न सक्ने दाबी गरेका छन्।
भेन्सले वर्तमान अवस्थालाई आफूले ‘युद्ध’ भन्न नरुचाउने बताएका छन्। साथै, हर्मुज जलडमरूमध्य र आसपास पानीजहाजमाथिको आक्रमण रोक्न इरान तयार नभएसम्म नयाँ वार्ता नगर्ने बताएका छन्।
