काठमाडौँ। चाडपर्व नजिकिँदै गर्दा बजारमा चिनीको मूल्यवृद्धि र अभाव देखिएपछि सरकारले आपूर्ति व्यवस्थापनलाई तीव्रता दिएको छ। साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत दरमा चिनी बिक्री वितरण सुरु गरेका छन्।
साल्ट ट्रेडिङ कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार हाल संस्थासँग करिब ३२ देखि ३३ हजार बोरा चिनी मौज्दात छ। यसबाहेक स्वदेशी उद्योगबाट खरिद गरिएको १२ हजार मेट्रिक टन चिनी पनि आउने क्रममा छ। नागढुंगा-मुग्लिन सडक खण्डमा देखिएको अवरोधका कारण ढुवानीमा केही समस्या भए पनि साना ट्रकमार्फत चिनी काठमाडौँ भित्र्याइरहेको उनले बताए। साथै, भारतबाट ५० हजार बोरा चिनी वीरगन्ज नाका आइपुगेको छ भने थप १ लाख बोरा आयातको प्रक्रियामा छ। साल्ट ट्रेडिङले प्रतिकेजी १०५ रुपैयाँमा चिनी बिक्री गरिरहेको छ।
यसैगरी, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग २५ सय क्विन्टल आन्तरिक र १० हजार टन भारतीय चिनी मौज्दात रहेको छ। कम्पनीले काठमाडौँ उपत्यकामा प्रतिकेजी १०९ रुपैयाँ र उपत्यकाबाहिर ११० रुपैयाँमा चिनी बिक्री गरिरहेको छ। सूचना अधिकारी माधव मिश्रका अनुसार लागत मूल्यमै चिनी उपलब्ध गराइएको छ र दुर्गम जिल्लाहरूमा पनि पुर्याउने काम भइरहेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारको माग र आपूर्तिको सूक्ष्म विश्लेषण गरिरहेको छ। मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीले बजारमा चिनीको अभाव हुन नदिन तथ्याङ्क संकलन र अनुगमनको काम जारी रहेको बताए। भदौ १८ गतेको मन्त्रिपरिषद् बैठकले साल्ट ट्रेडिङ र खाद्य व्यवस्था कम्पनीलाई १ प्रतिशत भन्सार दरमा २५ हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति दिइसकेको छ। सरकारले चाडपर्वको समयमा बजारमा चिनीको सहज आपूर्ति हुने र कालोबजारी नियन्त्रण हुने दाबी गरेको छ।
