धनकुटा। धनकुटा नगरपालिका-९, बेलहराका किसानले सिँचाइ सुविधा नभएका पाखोबारीमा धान खेती सुरु गरेका छन्। परम्परागत रूपमा मकै र कोदो लगाइने यी सुख्खा जमिनमा अहिले धानका बाला लहलह झुलेका छन्।
स्थानीय किसान मेहरमान बस्नेतले करिब नौ रोपनी पाखोबारीमा धान लगाउनुभएको छ। उहाँका अनुसार कम पानीमा पनि यो धानको उत्पादन राम्रो हुने गरेको छ। अर्का किसान भीमप्रसाद रोईलाले चार रोपनी जमिनमा धान खेती गर्नुभएको छ। उहाँले खेतमा लगाइने धानभन्दा पाखोबारीको धान स्वादिलो र बास्नादार हुने तथा यसको पराल गाईवस्तुले समेत रुचाउने बताउनुभयो।
बेलहरा क्षेत्र सुख्खाग्रस्त भएकाले वडा कार्यालयले ५५२ परिवारलाई ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण गरेको थियो। वडा कार्यालयका अनुसार पानीको अभावमा धान खेती गर्न नसकिने स्थानमा पनि अहिले किसानको आकर्षण बढेको छ। गत वर्षको तुलनामा यस वर्ष पाखोबारीमा धान लगाउने किसानको संख्यामा वृद्धि भएको छ।
कृषि ज्ञान केन्द्र, धनकुटाका अनुसार यो धान हाइब्रिड र शङ्खर जातको हो, जसका लागि नियमित सिँचाइ आवश्यक पर्दैन। सुख्खा क्षेत्रमा पनि धान फल्न थालेपछि किसानका लागि यो खेती एक भरपर्दो विकल्प बनेको छ। जिल्लामा हाल करिब चार हजार नौ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ।
