हेटौँडा। भारत सरकारले बाढी प्रभावित क्षेत्रमा आवागमन सहज बनाउन नेपाललाई तीन वटा बेलिब्रिज सहयोग गरेको छ। भारतीय राजदूतावासका सचिव नारायण सिंहले शनिबार सडक डिभिजन कार्यालय मकवानपुरलाई पुल निर्माणका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको हो।
भारत सरकारले उपलब्ध गराएको ७० मिटर लामो यी तीन वटा सिङ्गल लेन पुलको भारवहन क्षमता २० टन रहेको छ। सडक डिभिजन कार्यालय हेटौँडाका अनुसार प्राप्त सामग्री शनिबार नै रसुवा पठाइएको छ। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले सो क्षेत्रका ३५ वटा पुल बगाएपछि राहत तथा अत्यावश्यक सामग्री ढुवानीमा समस्या हुँदै आएको थियो।
मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रकाश गौतमले नेपाल र भारतबीच कम्तीमा १५ वटा बेलिब्रिज सहयोग गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए। पुल हस्तान्तरण कार्यक्रममा सांसद गौतमले विपद्को समयमा छिमेकी राष्ट्रबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले यस्तो सहयोगले सडक सम्पर्क पुनःस्थापनामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
भारतीय राजदूतावासका सचिव सिंहले तत्कालका लागि तीन वटा बेलिब्रिज उपलब्ध गराइएको र आवश्यकताअनुसार थप सहयोग गर्ने प्रतिबद्धता जनाए। भारतले यसअघि पनि प्राकृतिक विपद्बाट क्षतिग्रस्त सडक सञ्जाल पुनः सञ्चालन गर्न नेपाललाई बेलिब्रिज सहयोग गर्दै आएको छ।
