ताप्लेजुङ। भदौको पहिलो सातादेखि कारोबार सुरु भएको अलैँचीको मूल्यमा गिरावट आएको छ। नयाँ उत्पादन बजारमा आएसँगै अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम) ११ हजार रुपियाँले घटेको हो।
ताप्लेजुङको फुङ्लिङ बजारमा भदौको पहिलो र दोस्रो साता अलैँची प्रतिमन ९६ हजार रुपियाँमा कारोबार भएको थियो। अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रबिर रेग्मीका अनुसार भदौको तेस्रो साताबाट मूल्य निरन्तर घट्न थालेको हो। मूल्य घटेर ८३ हजार रुपियाँसम्म पुगेको थियो भने पछिल्लो चार-पाँच दिनयता दुई हजारले बढेर ८५ हजार रुपियाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारबाट माग नभएका कारण मूल्यमा गिरावट आएको व्यवसायी रेग्मीले बताए। गत वर्षको तुलनामा यस वर्ष सुरुवाती मूल्य १४ हजार रुपियाँले बढी थियो। गत वर्ष सुरुमा ८२ हजार रुपियाँमा कारोबार भएको अलैँची मुख्य सिजनमा एक लाख पाँच हजार रुपियाँभन्दा बढी पुगेको थियो। किसान तथा व्यवसायीहरूले यस वर्ष पनि मूल्य एक लाख रुपियाँ नाघ्ने अपेक्षा राखेका छन्।
रेग्मीका अनुसार दसैँ-तिहार नजिकिँदै गर्दा र अन्तर्राष्ट्रिय बजारमा माग बढेमा मूल्यमा पुनः वृद्धि हुने सम्भावना छ। अलैँचीको मुख्य सिजन असोज र कात्तिक महिनालाई मानिन्छ।
