फ्रान्सको जुरा पर्वतीय क्षेत्रको एउटा सानो गाउँबाट सुरु भएको यात्रा आज विश्वको विलासी जीवनशैलीको सबैभन्दा चिनिने नाममा पुगिसकेको छ ।
यो यात्रा न त ठूलो पुँजीबाट सुरु भएको थियो, न त कुनै स्थापित व्यापारिक परिवारको विरासतबाट । एउटा सामान्य परिवारमा जन्मिएका किशोरले आफ्नो गाउँ छाड्दा उनीसँग ठूलो सपना बाहेक खासै केही थिएन ।
उमेर थियो १४ वर्ष ।
गन्तव्य थियो पेरिस । पैदलै ।
आज संसारभरका विलासिताप्रेमीले चिन्ने नाम लुई भुतोँ यही यात्राबाट जन्मिएको हो ।
सन् १८२१ अगस्ट ४ मा फ्रान्सको जुरा क्षेत्रको एन्चे गाउँमा जन्मिएका लुई भुतोँले १४ वर्षको उमेरमा आफ्नो घर छाडेर पेरिसतर्फ यात्रा थालेका थिए । दुई वर्ष लगाएर उनले करिब ४०० किलोमिटरको दूरी पार गरे ।
बाटोमा उनले मजदुरी, घोडा हेरचाह र काठ काट्ने जस्ता काम गरे । सन् १८३७ मा पेरिस पुगेपछि उनले प्रख्यात ट्रंक निर्माता तथा प्याकर रोम्याँ मारेचालको कार्यशालामा सिकारुको रूपमा काम सुरु गरे ।
त्यतिबेला पेरिस आधुनिक औद्योगिक तथा यातायात परिवर्तनको चरणमा थियो । रेलको विस्तार हुँदै थियो । धनी वर्गका मानिसहरू रेल, जहाज र घोडागाडीमार्फत लामो यात्रा गर्न थालेका थिए । तर यात्राका क्रममा सामान सुरक्षित राख्नु आफैंमा चुनौती थियो ।
लुई भुतोँले यही समस्यामा अवसर देखे । उनले फेसन बेच्न सुरु गरेका थिएनन् । उनले मानिसको समस्या समाधान गर्न थालेका थिए ।
यही एउटा सामान्य देखिने सोचले पछि विश्वकै सबैभन्दा चिनिने लक्जरी ब्रान्डमध्ये एकको जग बसाल्यो ।
एउटा शिल्पीको आँखामा देखिएको अवसर
रोम्याँ मारेचालको कार्यशालामा बिताएका १७ वर्ष लुईका लागि सामान्य जागिर थिएनन् । त्यो उनको व्यावसायिक विश्वविद्यालय थियो । उनले काठ, छाला, कपडा र धातुको प्रयोगसँगै ग्राहकको आवश्यकता बुझ्ने कला सिके ।
त्यो समय उच्च वर्गका यात्रुका लागि सामान प्याक गर्ने काम निकै महत्वपूर्ण मानिन्थ्यो । कपडा, गहना, पुस्तक, कागजातदेखि व्यक्तिगत सामग्रीसम्म विशेष ढंगले बक्समा राखिन्थ्यो । सामान महँगो हुन्थ्यो र यात्राका क्रममा त्यसलाई क्षति हुन सक्थ्यो ।
लुईले उत्पादनभन्दा पहिले ग्राहकको समस्या बुझ्न थाले । यही कारण उनले केवल राम्रो देखिने ट्रंक बनाउन खोजेनन् । उनले बलियो, हलुका, सुरक्षित र यात्रामा सहज हुने ट्रंक बनाउन खोजे ।
सन् १८५४ मा, ३३ वर्षको उमेरमा, उनले पेरिसको ४ रु नेउभ–दे–कापुसिनमा आफ्नै पसल तथा कार्यशाला खोले । यही वर्ष उनले क्लेमाँस–एमिली पारियूसँग विवाह गरेका थिए ।
यो कदम लुईको जीवनको निर्णायक मोड थियो । १७ वर्ष अरूका लागि काम गरेर सिकेको सीप अब आफ्नै नाममा प्रयोग हुने भयो ।
त्यतिबेला ब्रान्डको अर्थ आजजस्तो थिएन । सामाजिक प्रतिष्ठा र उत्पादनको गुणस्तर नै पहिचानको मुख्य आधार थियो । लुईले त्यही आधारमा आफ्नो नामलाई उत्पादनसँग जोड्न थाले ।
उनको ख्याति बढ्दै गयो । फ्रान्सेली अभिजात वर्गका ग्राहकहरू उनीकहाँ आउन थाले । तत्कालीन सम्राट नेपोलियन तृतीयकी पत्नी महारानी इयुजेनीले समेत उनलाई व्यक्तिगत प्याकर तथा बक्स निर्माता बनाएको तथ्य लुई भुतोँको प्रारम्भिक प्रतिष्ठाको महत्वपूर्ण प्रमाणका रूपमा प्रस्तुत गरिन्छ ।
तर उनको वास्तविक शक्ति राजकीय ग्राहकभन्दा पनि एउटा उत्पादनमा थियो । ट्रंक ।
गोलो ट्रंकलाई बनाइदिए आधुनिक
लुई भुतोँको समयका परम्परागत ट्रंकको ढकनी प्रायः गोलाकार हुन्थ्यो । त्यसको एउटा व्यावहारिक कारण थियो—यात्राका क्रममा पानी जम्न नदिनु । तर गोलो ढकनी भएको ट्रंकलाई रेल वा जहाजमा एकमाथि अर्को राख्न कठिन हुन्थ्यो ।
लुईले यही समस्या समाधान गर्ने प्रयास गरे । उनले समतल ढकनी भएको ट्रंक विकास गरे । त्यसमा हलुका पप्लर काठ प्रयोग गरियो र बाहिरी भागमा तेलले रंगाइएको क्यानभास प्रयोग गरियो । पछि यो खैरो रङको ‘ट्रियानोन ग्रे’ क्यानभासका रूपमा चिनियो । नयाँ डिजाइन हलुका, टिकाउ र एकमाथि अर्को राख्न सजिलो थियो ।
यो सानो डिजाइन परिवर्तन वास्तवमा ठूलो व्यवसायिक नवप्रवर्तन थियो ।
उनले फेसनको ट्रेन्ड पछ्याएका थिएनन् । उनले यात्राको बदलिँदो प्रविधि बुझेका थिए । रेलको विस्तारसँगै यात्रा बढ्दै थियो । जहाजमार्फत लामो दूरीको आवागमन बढ्दै थियो । यात्रुहरूलाई धेरै सामान बोक्नुपर्ने अवस्था थियो । त्यसैले सामान राख्ने संरचनालाई पनि नयाँ यात्राको शैलीअनुसार परिवर्तन गर्न आवश्यक थियो ।
लुईले यही परिवर्तन पहिचान गरे । उनको ट्रंकको माग बढ्दै गएपछि पेरिसको कार्यशाला साँघुरो हुन थाल्यो । सन् १८५९ मा उनले पेरिसको उत्तरपश्चिममा पर्ने आस्नियर्स–सुर–सेनमा नयाँ कार्यशाला स्थापना गरे । करिब १,०८० वर्गमिटर क्षेत्रफलमा सुरु भएको उक्त स्थानमा सुरुमा २० जना कर्मचारी थिए ।
आस्नियर्स पछि लुई भुतोँको उत्पादनको केन्द्र मात्र बनेन, परिवारको घरसमेत बन्यो । आज पनि यही स्थान ब्रान्डको ऐतिहासिक शिल्पकारीसँग जोडिएको छ । त्यहाँ परम्परागत ट्रंक, विशेष अर्डर र केही उत्कृष्ट छालाका उत्पादन निर्माण गरिन्छ ।
गुणस्तरबाट जन्मिएको प्रतिष्ठा
लुई भुतोँले एउटा महत्वपूर्ण कुरा सुरुमै बुझेका थिए-धनी ग्राहकलाई सामान मात्र बेचेर दीर्घकालीन व्यवसाय बनाउन सकिँदैन ।
उनीहरूलाई विश्वास बेच्नुपर्छ । उनका ग्राहकले महँगो ट्रंक किन्थे, तर त्यससँगै उनीहरूले आफ्नो बहुमूल्य सामान सुरक्षित रहने विश्वास पनि किन्थे ।
त्यसैले लुईको व्यवसायमा गुणस्तर मुख्य प्रतिस्पर्धात्मक शक्ति बन्यो ।
काठको छनोटदेखि कपडाको प्रयोग, निर्माणको तरिकादेखि प्याकिङसम्म हरेक चरणमा शिल्पकारीलाई महत्व दिइयो । उत्पादनको दीर्घायु र प्रयोगमा सहजता उनको डिजाइनको केन्द्रमा रह्यो ।
यही कारण उनको नाम बिस्तारै पेरिसको अभिजात वर्गसँग जोडियो । तर सफलता आएपछि अर्को समस्या आयो । नक्कली उत्पादन ।
लुई भुतोँका उत्पादनको माग बढ्दै गएपछि उनका डिजाइन पनि नक्कल हुन थाले । उनले डिजाइनलाई केवल सौन्दर्यका लागि होइन, पहिचान र सुरक्षा दुवैका लागि प्रयोग गर्न थाले ।
यही रणनीतिले पछि लुई भुतोँलाई विश्वकै सबैभन्दा चिनिने दृश्य पहिचान भएका ब्रान्डमध्ये एक बनायो ।
जर्ज भुतोँले थपे सुरक्षा र पहिचान
लुईका एक मात्र छोरा जर्ज भुतोँ सन् १८५७ मा जन्मिएका थिए । किशोर अवस्थामै उनी आस्नियर्सको कार्यशालामा प्रवेश गरे र १६ वर्षको उमेरमा त्यहाँ प्रशिक्षार्थी बने । सन् १८८० मा उनले पेरिसको रु स्क्रिबस्थित पसलको व्यवस्थापन सम्हाले ।
जर्जले बुबाको शिल्पकारी विरासतलाई नयाँ व्यवसायिक सोचसँग जोड्न थाले । सन् १८८५ मा उनले लन्डनको अक्सफोर्ड स्ट्रिटमा लुई भुतोँको पहिलो अन्तर्राष्ट्रिय पसल खोले । यसपछि ब्रान्डले फ्रान्सबाहिर विस्तारको बाटो समात्यो ।
तर उनको सबैभन्दा महत्वपूर्ण योगदान उत्पादनको सुरक्षा र ब्रान्ड पहिचानसँग सम्बन्धित थियो ।
सन् १८८८ मा जर्जले ‘डामियर’ क्यानभास सार्वजनिक गरे । चेकर्ड ढाँचामा आधारित उक्त डिजाइनमा पहिलोपटक ट्रंकको बाहिरी भागमा लुई भुतोँको नामसमेत राखिएको थियो । नक्कली उत्पादनसँग जुध्न डिजाइनलाई नै ब्रान्डको सुरक्षा कवच बनाउने प्रयास थियो यो ।
त्यसको अर्को वर्ष, सन् १८८९ मा, उनले बहु–टम्बलर लक प्रणालीको पेटेन्ट दर्ता गरे । यसलाई सामान सुरक्षाका लागि निकै नवीन प्रणाली मानिएको थियो ।
लुई भुतोँको लकको चर्चासँग अमेरिकी भाग्ने कलाकार ह्यारी हाउडिनीको नाम पनि जोडिन्छ । जर्जले हाउडिनीलाई लुई भुतोँको लक भएको ट्रंकबाट बाहिर निस्कने चुनौती दिएको कथाले ब्रान्डको सुरक्षा दाबीलाई लोकप्रिय बनायो । यद्यपि हाउडिनीले चुनौती स्वीकार नगरेको विवरण पाइन्छ ।
यस घटनाले एउटा महत्वपूर्ण कुरा देखायो । ब्रान्डको कथा उत्पादनभन्दा बाहिर पनि बनाउन सकिन्छ । सुरक्षा, चुनौती, रहस्य र विशिष्टताको कथा जोडिँदा साधारण ट्रंक पनि प्रतिष्ठाको वस्तु बन्न सक्छ ।
‘एलभी’ बन्यो संसारकै चिनिने संकेत
लुई भुतोँको निधन सन् १८९२ मा भयो ।
त्यसपछि जर्जले परिवारको व्यवसाय सम्हाले । अब चुनौती थियो—बुबाले निर्माण गरेको प्रतिष्ठालाई अन्तर्राष्ट्रिय ब्रान्डमा बदल्ने ।
सन् १८९६ मा उनले आज विश्वभर चिनिने ‘एलभी मोनोग्राम’ डिजाइन प्रस्तुत गरे । ज्यामितीय फूलका आकृति र ‘एलभी’ अक्षर समेटिएको यो डिजाइन बुबाको सम्मानमा तयार गरिएको थियो । यसको प्रेरणामा आर्ट नोवो, जापानी कला र गोथिक हेराल्डिक शैलीको प्रभाव रहेको लुई भुतोँको आधिकारिक इतिहासमा उल्लेख छ ।
मोनोग्रामको मूल उद्देश्य केवल सुन्दरता थिएन । नक्कली उत्पादन रोक्नु थियो । तर इतिहासमा कहिलेकाहीँ व्यवसायिक समस्याको समाधान आफैंमा सांस्कृतिक प्रतीक बन्छ ।
एलभी मोनोग्राम त्यस्तै भयो । बिस्तारै यो ट्रंकको पहिचानबाट बाहिर निस्कियो । झोला, वालेट, कपडा, जुत्ता, घडी, गरगहना र अन्य उत्पादनमा फैलियो । पछि यही मोनोग्राम लुई भुतोँको सबैभन्दा शक्तिशाली दृश्य सम्पत्ति बन्यो ।
आज कुनै उत्पादनमा ‘एलभी’ देखिँदा नाम लेखिरहनुपर्दैन । यही हो ब्रान्ड इक्विटीको वास्तविक शक्ति ।

ट्रंकबाट फेसनको संसारसम्म
लुई भुतोँ लामो समयसम्म यात्राका सामान बनाउने घरका रूपमा परिचित थियो । तर २०औँ शताब्दीमा यात्रा गर्ने मानिसको जीवनशैली बदलियो ।
ट्रंकको आवश्यकता थियो, तर ग्राहकको चाहना ट्रंकमा मात्र सीमित रहेन । यात्रा फेसनसँग जोडिन थाल्यो । लुई भुतोँले पनि आफ्नो उत्पादनको दायरा विस्तार गर्दै लग्यो । किपोल, स्पिडी, नोए र अल्माजस्ता डिजाइनहरूले यात्राका सामानलाई दैनिक जीवनको फेसनसँग जोड्न थाले ।
विशेषगरी स्पिडीले लुई भुतोँलाई आधुनिक सहरी जीवनसँग जोड्न महत्वपूर्ण भूमिका खेल्यो । अमेरिकी अभिनेत्री अड्री हेपबर्नसँग यसको लोकप्रियता जोडिएपछि स्पिडीको सांस्कृतिक प्रभाव अझ बढ्यो ।
यसअघि सामान बोक्ने झोला उपयोगिताको वस्तु थियो । लुई भुतोँले त्यसलाई पहिचानको वस्तु बनायो । यो परिवर्तन व्यवसायिक रूपमा निकै महत्वपूर्ण थियो ।
ग्राहकले अब उत्पादनको उपयोगिता मात्र किन्न थालेनन् । उनीहरूले त्यसमा कथा, इतिहास र प्रतिष्ठा पनि किन्न थाले । यहीँबाट लुई भुतोँको व्यापार ‘लगेज’बाट ‘लाइफस्टाइल’तर्फ सर्न थाल्यो ।
सन् १९५९ मा मोनोग्राम क्यानभासलाई थप लचिलो बनाउँदै झोला तथा साना छालाका सामानमा विस्तार गरिएको थियो । यही अवधिमा स्पिडी, किपोल र नोएजस्ता आइकनिक उत्पादनले नयाँ ग्राहक पुस्तामाझ ब्रान्डलाई स्थापित गरे ।
कलासँगको सहकार्यले बदलेको लक्जरी
लुई भुतोँले पुरानो पहिचान जोगाएर नयाँ पुस्तासँग सम्बन्ध निर्माण गर्ने रणनीति अपनायो । यसमा कलाकार र डिजाइनरसँगको सहकार्य महत्वपूर्ण बन्यो ।
स्टीफन स्प्राउसले मोनोग्राममा ग्राफिटी शैली प्रयोग गरे । जापानी कलाकार ताकाशी मुराकामीले रंगीन र पप शैलीका मोनोग्राम प्रस्तुत गरे । पछि सुप्रिम र जेफ कुन्सलगायतसँगको सहकार्यले पनि ब्रान्डलाई फेसन, कला र लोकप्रिय संस्कृतिको संगममा पुर्यायो ।
यसको व्यवसायिक अर्थ गहिरो थियो । पुरानो ग्राहकका लागि लुई भुतोँको इतिहास र शिल्पकारी महत्वपूर्ण थियो । नयाँ पुस्ताका लागि त्यससँगै सिर्जनशीलता, संस्कृति र समकालीन डिजाइन आवश्यक थियो ।
ब्रान्डले दुवैलाई एउटै पहिचानभित्र राख्यो । पुरानो मोनोग्रामलाई नफालेर नयाँ कलाकारलाई त्यसमा काम गर्न दिइयो ।
यही कारण ब्रान्ड पुरानो भएर पनि पुरानो देखिएन ।
एलभीएमएचले बनायो अर्को शक्ति
लुई भुतोँको अर्को ठूलो व्यवसायिक मोड सन् १९८७ मा आयो । लुई भुतोँ र मोएट हेनेसीबीच विलय भएर एलभीएमएच बनेको थियो । त्यसबेला समूहसँग १० वटा लक्जरी घर, १२ हजार कर्मचारी र करिब ३ अर्ब युरो बराबरको बिक्री थियो ।
सन् १९८९ देखि बर्नार्ड आर्नोले समूहको नेतृत्व सम्हालेपछि एलभीएमएचको विस्तारले तीव्र गति लियो । उनको रणनीति विभिन्न प्रतिष्ठित ब्रान्डलाई एउटै समूहभित्र राखेर उनीहरूको अलग पहिचान जोगाउँदै वित्त, व्यवस्थापन, वितरण र विश्वव्यापी विस्तारको शक्ति उपलब्ध गराउनु थियो ।
लुई भुतोँका लागि यसको अर्थ अझ ठूलो बजार थियो । अब यो केवल एउटा परिवारले चलाएको ट्रंक व्यवसाय रहेन ।
यो विश्वव्यापी लक्जरी समूहको प्रमुख घर बन्यो । तर एलभीएमएचभित्र प्रवेश गरे पनि लुई भुतोँले आफ्नो अलग पहिचान कायम राख्यो ।
यही लक्जरी व्यवसायको महत्वपूर्ण रणनीति हो-ठूलो कर्पोरेट संरचनाको स्रोत उपयोग गर्ने तर ब्रान्डको विशिष्टता नहराउने ।
मार्क ज्याकोब्स र फेसनको नयाँ अध्याय
सन् १९९७ मा अमेरिकी डिजाइनर मार्क ज्याकोब्स लुई भुतोँको कलात्मक निर्देशक बने । यो लुई भुतोँको इतिहासमा अर्को ठूलो परिवर्तन थियो ।
लगेज र छालाका सामानका लागि प्रसिद्ध ब्रान्ड अब पूर्ण फेसन हाउस बन्ने दिशामा अघि बढ्यो । ज्याकोब्सको नेतृत्वमा रेडी–टु–वेयर, जुत्ता र अन्य फेसन उत्पादनमा ब्रान्डको विस्तार भयो । उनी १९९७ देखि २०१३ सम्म लुई भुतोँसँग जोडिएका थिए ।
यसले एउटा पुरानो ब्रान्डलाई नयाँ पुस्तासँग जोड्यो । लुई भुतोँको शक्ति अब ट्रंकमा मात्र थिएन । उससँग इतिहास थियो । मोनोग्राम थियो । शिल्पकारी थियो । फेसन थियो ।
कलासँग सहकार्य गर्ने क्षमता थियो । र सबैभन्दा महत्वपूर्ण, उच्च मूल्य तिर्न तयार ग्राहकको विश्वव्यापी समुदाय थियो ।
महँगो किन हुन्छ लुई भुतोँ ?
लुई भुतोँको मूल्यबारे सबैभन्दा सामान्य प्रश्न यही हो-एउटा झोलाको मूल्य यति धेरै किन ?
यसको उत्तर केवल कच्चा पदार्थ वा उत्पादन लागतमा खोजेर पुग्दैन । लक्जरी व्यवसायमा ग्राहकले वस्तुसँगै ब्रान्डको इतिहास, डिजाइन, दुर्लभता, शिल्पकारी, वितरण नियन्त्रण र सामाजिक प्रतिष्ठा पनि खरिद गर्छ ।
लुई भुतोँले यही अवधारणालाई अत्यन्त सफलतापूर्वक निर्माण गरेको छ । ब्रान्डले ठूलो मात्रामा उत्पादन गरेर सस्तोमा बेच्ने रणनीति अपनाउँदैन । उत्पादनको वितरण, मूल्य निर्धारण र ब्रान्डको दृश्य पहिचानमा कडा नियन्त्रण राखिन्छ ।
यसले ग्राहकको मनमा ‘सबैले पाउन नसक्ने वस्तु’को धारणा निर्माण गर्छ ।
तर दुर्लभता मात्रै पर्याप्त हुँदैन । दुर्लभ वस्तु खराब गुणस्तरको भयो भने ग्राहक फर्किँदैन । त्यसैले लुई भुतोँले शिल्पकारीलाई ब्रान्डको केन्द्रमा राखेको छ ।
आस्नियर्सको ऐतिहासिक कार्यशालामा आज पनि विशेष ट्रंक, विदेशी छालाका सामान र ग्राहकका विशेष अर्डर निर्माण गरिन्छ । त्यहाँको शिल्पकारी पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको छ ।
यसरी १९औँ शताब्दीमा निर्माण भएको सीप २१औँ शताब्दीमा पनि ब्रान्डको मूल्यको आधार बनेको छ ।
परम्परा बेचेर भविष्य बनाउने रणनीति
लुई भुतोँको सबैभन्दा ठूलो व्यवसायिक उपलब्धि सायद यही हो—उसले आफ्नो इतिहासलाई संग्रहालयमा थन्क्याएन ।
उसले इतिहासलाई व्यापारिक सम्पत्तिमा बदल्यो । पुरानो ट्रंकको डिजाइन आज पनि प्रेरणाको स्रोत छ ।
मोनोग्राम आज पनि नयाँ डिजाइनमा प्रयोग हुन्छ । आस्नियर्सको कार्यशाला अझै सक्रिय छ । हस्तकलाको कथा आज पनि ब्रान्डको प्रचारको हिस्सा छ । तर उत्पादन भने समयअनुसार बदलिएको छ ।
आज लुई भुतोँको संसारमा झोला मात्र छैन । कपडा, जुत्ता, इत्र, चस्मा, घडी, गरगहना, यात्रा सामग्री र अन्य विलासी उत्पादनसम्म यसको दायरा पुगेको छ ।
यही व्यवसायिक दर्शनले ब्रान्डलाई एउटा उत्पादनको बजारमा निर्भर हुनबाट जोगाएको छ । ग्राहकले पहिलोपटक लुई भुतोँको झोला किनेपछि त्यही ग्राहक अर्को चरणमा वालेट, जुत्ता, चस्मा, इत्र वा गरगहना किन्न सक्छ ।
अर्थात् एउटै ग्राहकसँगको सम्बन्धलाई विभिन्न उत्पादन श्रेणीमा विस्तार गर्ने रणनीति । लक्जरी क्षेत्रमा यसलाई ग्राहकको ‘लाइफस्टाइल’ कब्जा गर्ने रणनीतिको रूपमा बुझ्न सकिन्छ ।
ब्रान्डभन्दा ठूलो बनेको प्रतीक
लुई भुतोँको नाम अहिले केवल कम्पनीको नाम होइन । यो एउटा सामाजिक संकेत हो ।
‘एलभी’ देख्दा मानिसले उत्पादनको नाम पढ्नुपर्दैन । मोनोग्राम आफैंमा परिचय बनेको छ । यस्तो ब्रान्ड पहिचान निर्माण गर्न सयौँ वर्ष लाग्छ ।
तर लुई भुतोँले त्यो पहिचानलाई समयअनुसार पुनःव्याख्या गर्दै आएको छ । १९औँ शताब्दीमा यसको मूल ग्राहक यात्रारत अभिजात वर्ग थियो । २०औँ शताब्दीमा यो फेसन र सेलिब्रिटी संस्कृतिसँग जोडियो ।
२१औँ शताब्दीमा यो डिजिटल संस्कृति, कला, संगीत, खेल र युवा पुस्ताको लोकप्रिय संस्कृतिसँग समेत जोडिएको छ । तर मूल पहिचान भने उस्तै छ ।
उत्कृष्टता । शिल्पकारी । यात्रा । नवीनता । विशिष्टता ।
यही निरन्तरताले लुई भुतोँलाई अरू धेरै पुराना ब्रान्डभन्दा फरक बनाएको छ ।
गाउँको किशोरदेखि विश्व ब्रान्डसम्म
लुई भुतोँको जीवनकथा अन्ततः एउटा उद्यमीको कथा हो । उनले ठूलो व्यवसायिक साम्राज्यको सपना बोकेर गाउँ छाडेका थिए भन्ने प्रमाण छैन । उनले केवल आफ्नो जीवनको बाटो खोजिरहेका थिए । पेरिस पुग्दा उनको उमेर १६ वर्ष थियो । उनी ट्रंक बनाउने कार्यशालामा सिकारु बने ।
तर त्यहाँ उनले एउटा सीप मात्र सिकेनन् । उनले ग्राहक बुझ्न सिके । यात्राको परिवर्तन बुझ्न सिके । सामानको सुरक्षा बुझ्न सिके ।
काठ र कपडाको सम्भावना बुझ्न सिके । र सबैभन्दा महत्वपूर्ण, आफ्नो नामलाई गुणस्तरको पर्याय बनाउन सिके ।
सन् १८५४ मा आफ्नै नाममा पसल खोल्दा उनले भविष्यको विश्वव्यापी लक्जरी साम्राज्यको कल्पना गरेका थिए कि थिएनन्, त्यो इतिहासले बताउँदैन । तर उनले एउटा यस्तो उत्पादन निर्माण गरे जसको उपयोगिता र सौन्दर्य दुवै समयसँगै बढ्दै गयो ।
उनको मृत्यु सन् १८९२ मा भयो । तर उनको नाम त्यहीँ रोकिएन । छोरा जर्जले ब्रान्डलाई अन्तर्राष्ट्रिय बजारमा लगे । डामियरले पहिचान बलियो बनायो ।
लकले सुरक्षा थप्यो । मोनोग्रामले दृश्य साम्राज्य निर्माण गर्यो । फेसन डिजाइनरहरूले ब्रान्डलाई नयाँ पुस्तामा पुर्याए । एलभीएमएचले विश्वव्यापी कर्पोरेट शक्ति थप्यो ।
कलाकारसँगको सहकार्यले पुरानो प्रतीकलाई नयाँ अर्थ दियो । र आस्नियर्सको कार्यशालाले पुरानो शिल्पकारीको निरन्तरता कायम राख्यो ।
यसरी एउटा व्यक्तिको सीप पुस्तौँ लामो संस्थागत शक्तिमा बदलियो ।
लुई भुतोँको सबैभन्दा ठूलो उपलब्धि महँगो झोला बनाउनु होइन । उसले एउटा नामलाई मूल्यमा बदल्यो । उसले उत्पादनलाई पहिचानमा बदल्यो । उसले इतिहासलाई व्यापारिक सम्पत्तिमा बदल्यो । र उसले शिल्पलाई विश्वव्यापी लक्जरी व्यवसायको आधार बनाउन सफल भयो ।
आज लुई भुतोँको एउटा झोला वा ट्रंकको मूल्य त्यसमा प्रयोग भएको काठ, छाला वा कपडाले मात्र निर्धारण गर्दैन ।
त्यसको मूल्यभित्र १९औँ शताब्दीको एउटा किशोरको संघर्ष, पेरिसको एउटा सानो कार्यशालामा सिकेको शिल्प, यात्राको बदलिँदो प्रविधि, परिवारले पुस्तौँसम्म जोगाएको सीप, नक्कली उत्पादनविरुद्धको संघर्ष, अन्तर्राष्ट्रिय विस्तार, कलाकारसँगको सहकार्य र दशकौँमा निर्माण भएको ब्रान्ड प्रतिष्ठा मिसिएको हुन्छ ।
त्यसैले लुई भुतोँको कथा केवल फेसन ब्रान्डको कथा होइन । यो एउटा सामान्य मानिसले आफ्नो सीपलाई कसरी सम्पत्तिमा, आफ्नो नामलाई कसरी ब्रान्डमा र एउटा उत्पादनलाई कसरी सांस्कृतिक प्रतीकमा बदल्न सक्छ भन्ने उद्यमशीलताको कथा हो ।
फ्रान्सको एउटा सानो गाउँबाट १४ वर्षको उमेरमा पैदल निस्किएको त्यो किशोर पेरिस पुग्दा उसको हातमा साम्राज्य थिएन ।
सीप सिक्ने इच्छा थियो । आज त्यही नाम विश्व विलासिताको सबैभन्दा शक्तिशाली प्रतीकमध्ये एक बनेको छ ।
लुई भुतोँको यात्राको सबैभन्दा ठूलो पाठ यही हो—सामान्य सुरुवातले असाधारण भविष्य रोक्दैन । सही सीप, निरन्तर नवीनता र आफ्नो पहिचानप्रतिको अटल विश्वासले एउटा व्यक्तिको नामलाई पुस्तौँसम्म टिक्ने साम्राज्यमा बदल्न सक्छ ।
