काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी असोज ७ गतेदेखि दुबईका लागि सिधा उडान सुरु हुने भएको छ। फ्लाइ दुबईको जहाज सोही दिन साँझ ६ः१५ बजे पोखरामा अवतरण गर्ने तालिका सार्वजनिक भएको छ। पहिलो उडानको अवसरमा विमान र यात्रुलाई पानीको फोहरासहित स्वागत गरिने विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए।
फ्लाइ दुबईले एयर बस ३१९ र ३२० विमानमार्फत दैनिक उडान भर्नेछ। एयर बस ३१९ मा १४० देखि १५० र एयर बस ३२० मा १६० देखि १८० सम्म यात्रु क्षमता छ। उडान तालिकाअनुसार जहाज हरेक दिन साँझ ६ः१५ मा पोखरा अवतरण गर्ने र ७ः१५ मा दुबईका लागि प्रस्थान गर्नेछ। नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ २५ गते फ्लाइ दुबईलाई उडान अनुमति दिएको थियो।
फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीका अनुसार काठमाडौंको तुलनामा पोखराबाट हुने उडानको टिकट मूल्य पाँच हजार रुपैयाँसम्म सस्तो छ। यस उडानका लागि फ्लाइ दुबई र इमिरेट्स एयरलाइन्सबीच कोडसेयर साझेदारी भएको छ, जसले यात्रुलाई एउटै टिकटमा विश्वका विभिन्न गन्तव्यमा पुग्न सहज बनाउनेछ। कम्पनीले सन् २०२७ को मार्च २६ सम्मका लागि बुकिङ खुला गरिसकेको छ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले यस उडानले मुलुकको पर्यटन क्षेत्रमा प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे। पोखरा महानगरपालिकाले पनि पर्यटन प्रवर्द्धन र हवाई सम्पर्क विस्तारका लागि फ्लाइ दुबईसँग सहकार्य गर्ने समझदारी गरेको छ। यसअघि सन् २०२५ को मार्चमा हिमालय एयरलाइन्सले पोखरा-ल्हासा उडान सुरु गरे पनि हाल त्यो सेवा स्थगन छ। पोखरा-दुबई उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु हुन लागेको दोस्रो व्यावसायिक अन्तर्राष्ट्रिय सेवा हो।
