काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सक्रियतासँगै केही दिनयता शेयर बजारमा सुधारको संकेत देखिएको छ। भदौ १६ गतेदेखि उकालो लाग्न थालेको नेप्से सूचक पछिल्लो समय सकारात्मक लयमा देखिएको छ। बीचमा दुई दिन सामान्य गिरावट आए पनि पछिल्लो ६ कारोबार दिनमा सूचक १०० अंकभन्दा बढीले वृद्धि भएको छ।
विशेष गरी भदौ २२ गते अर्थमन्त्री वाग्लेले नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकका उच्च पदाधिकारीहरूलाई सिंहदरबार बोलाएर पुँजीबजार सुधारका लागि तत्काल कानुनी उपायहरू पेस गर्न निर्देशन दिएका थिए। सो अवसरमा उनले पुँजीबजारसम्बन्धी १० देखि १२ बुँदे योजना ल्याउने घोषणा गरेका थिए।
विश्लेषक मुक्ति आचार्यले अर्थमन्त्रीको उक्त घोषणा र प्रतिबद्धताका कारण लगानीकर्तामा विश्वास बढेको र बजारले सकारात्मक लय लिएको बताए। बजारका अर्का विश्लेषक छोटेलाल रौनियारले विगत एक वर्षदेखि पेनिक अवस्थामा रहेको बजारमा अर्थमन्त्रीको सक्रियताले उत्साह थपेको उल्लेख गरे। उनले भने, ‘अब बजार तल झर्ने ठाउँ नै छैन। धेरै तल झरिसकेकाले पनि अब पुँजीबजार पुनः उकालो लाग्नुको विकल्प छैन।’
ब्रोकर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाटले पनि बजारको वृद्धि स्वाभाविक रहेको बताए। उनले भने, ‘बजार घटेर २५ सयको विन्दुमा झरिसकेको छ। अब बढ्नुको विकल्प छैन। रसुवा बाढीको त्राससमेत सामान्य बन्दै गएको अवस्थामा अब लगानीकर्ताहरू आफ्नै गतिमा फर्किसकेका छन्।’
पछिल्लो समय नयाँ आर्थिक वर्षको पहिलो त्रैमाससँगै विभिन्न कम्पनीहरूले लाभांश घोषणा गर्न थालेका छन्। लाभांशको लोभमा लगानीकर्ताहरूले शेयर होल्ड गरिरहँदा पनि बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ। सरकारले पुँजीबजार सुधारका लागि जनाएको प्रतिबद्धता अनुसार काम अघि बढे बजार पुरानै लयमा फर्किने विश्वास लगानीकर्ताहरूमा छ।
