काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले कार्यकारिणी समिति सदस्य बटु लामिछानेलाई नवीकरणीय एवं ऊर्जा समितिको सभापतिमा मनोनयन गरेको छ। महासंघको २०८३ जेठ ८ गते बसेको दोस्रो कार्यकारिणी समितिको बैठकले विधानको दफा ३७ बमोजिम लामिछानेलाई उक्त जिम्मेवारी दिएको हो।
लामिछाने बिजी ग्रुप नेपालका कार्यकारी अध्यक्ष हुन्। उनी आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजना र विभिन्न उद्योग सञ्चालनमा सक्रिय छन्। ऊर्जा तथा औद्योगिक क्षेत्रमा रहेको उनको लामो अनुभवले समितिको नेतृत्वमा प्रभावकारी भूमिका खेल्ने विश्वास महासंघले लिएको छ।
महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले ऊर्जा क्षेत्र नेपालको आर्थिक विकास र औद्योगिकीकरणको महत्वपूर्ण आधार बन्दै गएको उल्लेख गर्दै लामिछानेको नेतृत्वमा समितिले जिम्मेवारीपूर्वक काम गर्ने विश्वास व्यक्त गरेका छन्। समितिले नवीकरणीय ऊर्जासम्बन्धी नीति तथा कार्यभारलाई अघि बढाउने अपेक्षा गरिएको छ। महासंघले समितिको कामको त्रैमासिक रूपमा पुनरावलोकन र मूल्यांकन गरिने व्यवस्था रहेको समेत जानकारी गराएको छ।
