काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि नेपाली समाज भारतले २१ लाख २१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बाढीका कारण टिमुरे, रसुवागढी र त्रिशूली क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त रकम संकलन गरिएको हो।
नेपाली समाज भारतको पहलमा भारतका विभिन्न राज्य तथा नगर समितिका सदस्य, शुभेच्छुक र नेपाली समुदायबाट संकलित सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
रकम हस्तान्तरणका लागि नेपाली समाज भारतको प्रतिनिधिमण्डल नयाँ दिल्लीस्थित नेपाली राजदूतावास पुगेको थियो। प्रतिनिधिमण्डलले कार्यवाहक नेपाली राजदूत डा. सुरेन्द्र थापामार्फत उक्त सहयोग रकम हस्तान्तरण गरेको हो।
प्रतिनिधिमण्डलको नेतृत्व नेपाली समाज भारतका केन्द्रीय सहसंयोजक आरबी खड्काले गरेका थिए। टोलीमा सहसंयोजक वेदप्रकाश भण्डारी, सदस्यहरू मानु श्रेष्ठ, नारायण विक, दीपक जिसी, माइकल क्षेत्री, नारायण विष्ट र समाजसेवी लक्ष्मी रावतको उपस्थिति थियो।
विपद्को यस घडीमा प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्नु आफ्नो सामाजिक दायित्व रहेको संस्थाले जनाएको छ। साथै, बेपत्ताहरूको खोजी र प्रभावित परिवारलाई राहत उपलब्ध गराउने कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि संस्थाले व्यक्त गरेको छ।
नेपाली समाज भारतले यस अभियानमा साथ दिने सम्पूर्ण सहयोगी, संगठनका सदस्य र नेपाली समुदायप्रति आभार व्यक्त गरेको छ। नेपाली राजदूतावासले पनि राहत तथा पुनःस्थापनाका लागि सहयोग गरेकोमा नेपाली समाज भारत र सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरेको छ।
