काठमाडौं- पाँचथरको याङवारक गाउँपालिका-२ स्थित बर्मेगाउँ विकास र आधारभूत सुविधाको अभावमा रित्तिँदै गएको छ। कुनै समय २७ घरधुरी रहेको यो गाउँमा अहिले १२ घरमा मात्र मानिस बसोबास गर्छन्। बाँकी १५ घरमा ताला लागेका छन् भने केही घरहरू गोठमा परिणत भएका छन्। गाउँमा ६३ जना बासिन्दा बाँकी रहेका छन्।
सडक, स्वास्थ्य संस्था र माध्यमिक तहको विद्यालयको अभावले स्थानीयको दैनिक जीवन कष्टकर बनेको छ। स्थानीय अगुवा प्रेम राईका अनुसार गाउँमा ढुवानी महँगो हुँदा चामल प्रतिकिलो १०० रुपियाँ, नुन ४० रुपियाँ र खानेतेल प्रतिलिटर ४०० रुपियाँसम्म पर्छ। यहाँका बासिन्दाले सामान्य उपचार वा शिक्षाका लागि पाँच घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपबहादुर राईले पाँच कक्षा उत्तीर्ण गरेपछि माध्यमिक शिक्षाका लागि गङ्गवाको नारायणी मावि पुग्न पाँच घण्टा लाग्ने भएकाले धेरै बालबालिकाले पढाइ छाड्ने वा अभिभावकले नै बसाइँ सर्नुपर्ने अवस्था रहेको बताए। स्वास्थ्य संस्था नहुँदा गर्भवती महिला र बिरामीहरू जोखिम मोलेरै लामो दुरी पार गर्न बाध्य छन्।
पछिल्ला वर्षहरूमा बसाइँ सर्ने क्रम तीव्र छ। २०७१ सालसम्म २७ घर रहेकोमा २०७९ र २०८० मा गरी धेरै परिवारले गाउँ छाडेका छन्। बसाइँ सरेकाहरू अधिकांश च्याङथापु, फलैँचा, थर्पु, फिदिम र झापा पुगेका छन्।
याङवारक-२ का वडाध्यक्ष देउकुमार योङहाङका अनुसार कठिन भूगोल र बजेटको अभावले सडक निर्माणमा ढिलाइ भएको छ। चिङ्मादेखि बर्मेसम्म २० किलोमिटर सडक निर्माण गर्न करिब २० करोड रुपियाँ आवश्यक पर्ने पूर्वाधार विकास कार्यालयको अनुमान छ। वडाध्यक्ष योङहाङले सडक पुर्याउन स्थानीयको पहलमा आर्थिक सङ्कलन भइरहेको र स्वास्थ्य एकाइ तथा मतदान केन्द्र स्थापनाका लागि सम्बन्धित निकायसँग संवाद भइरहेको जानकारी दिए। स्थानीय बासिन्दा भने आफूहरूले निर्वाचित गरेका जनप्रतिनिधिले समस्या बुझे पनि संसदीय निर्वाचनका उम्मेदवारहरू गाउँ नफर्किने गरेको गुनासो गर्छन्।
