लमजुङ। निर्माण व्यवसायीले समयमा काम नगर्दा बिचौर–भुम्लीचोक–फुलाङ्गिरी–जोर्ने–गौडाभञ्ज्याङ सडकको करिब आठ किलोमिटर खण्ड अलपत्र परेको छ।
निर्माण सुरु भएको तीन वर्ष बितिसक्दा पनि उक्त सडकखण्डको भौतिक प्रगति करिब ४७ प्रतिशत मात्र भएको सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी राजेन्द्र कार्कीले बताए। “समयमा निर्माण व्यवसायीले काम नगरेका कारण सडक निर्माणमा ढिलाइ भएको हो। अहिले पनि कामले अपेक्षित गति लिन सकेको छैन,” उनले भने।
निर्वाचन क्षेत्र रणनीतिक सडकअन्तर्गत अघि बढाइएको उक्त सडकको ताजी–ठूलोकाभ्रे खण्डलाई दुई लेनमा कालोपत्रे गर्ने काम भइरहेको छ। सडक स्तरोन्नतिको जिम्मा सर्व उद्धार–ज्वान्दनबा–अंशुबी जेभीले पाएको छ।
रु ४० करोड लागत अनुमान गरिएको उक्त सडक निर्माणका लागि रु २८ करोड ६५ लाखमा ठेक्का सम्झौता भएको हो। सम्झौताअनुसार विसं २०७९ असार २३ गतेदेखि निर्माण सुरु गरी २०८२ असारमा सम्पन्न गर्नुपर्ने थियो। निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि २०८२ पुससम्म म्याद थप गरिएको थियो।
थपिएको समयमा काम सम्पन्न हुन नसकेपछि निर्माण व्यवसायीले २०८४ असारसम्म म्याद थपको माग गरेको थियो। सडक डिभिजन कार्यालयले २०८३ चैतभित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी नयाँ मिति निर्धारण गरेको छ।
“निर्माण व्यवसायीले २०८४ असारसम्म म्याद थपको माग गरेको थियो। तर २०८३ चैतभित्र काम सक्ने गरी म्याद थप गर्ने निर्णय भएको छ,” उनले भने।
सूचना अधिकारी कार्कीका अनुसार सो सडकमा करिब ८०० मिटर आरसिसी ढलान गर्नुपर्नेमा हालसम्म ६५० मिटर सम्पन्न भएको छ। सडकका संरचना निर्माण, माटो सम्याउने, कटिङ गर्ने, सडक चौडा बनाउनेलगायतका काम पूरा भएको उनले बताए। हालसम्म रु १३ करोड १३ लाख भुक्तानी भइसकेको छ।
दूधपोखरी गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङले सडक निर्माणमा भइरहेको ढिलाइका कारण स्थानीयवासीले लामो समयदेखि समस्या भोग्दै आएको बताए। उनले सडक निर्माण समयमै सम्पन्न गर्न सम्बन्धित निकाय र निर्माण व्यवसायीलाई ताकेता गर्नुपर्ने अवस्था रहेको बताए।
उनका अनुसार सडक निर्माण सम्पन्न नहुँदा गाउँपालिकाका विभिन्न वडाका बासिन्दालाई आवतजावतमा समस्या हुनाका साथै स्थानीय उत्पादनको बजारीकरणमा कठिनाइ भइरहेको छ।
दूधपोखरी गाउँपालिका–३ का वडाध्यक्ष श्याम गुरुङका अनुसार, रणनीतिक महत्वको सडक भए पनि निर्माणले गति लिन सकेको छैन। गत वैशाखदेखि सडकमा खासै काम नभएको उनको भनाइ छ। वडाध्यक्ष गुरुङका अनुसार सडकमा केही कामदार परिचालित भए पनि निर्माण व्यवसायीले पारिश्रमिक नदिएको गुनासो आएको छ।
सडकको अवस्था जीर्ण हुँदा सवारी सञ्चालन तथा स्थानीयवासीको आवतजावतमा समस्या भइरहेको उनले बताए। सडक डिभिजन कार्यालय दमौलीले सडक निर्माणमा पर्याप्त ध्यान नदिएको उनको गुनासो छ। सडक निर्माण सम्पन्न भएपछि दूधपोखरी गाउँपालिकाका विभिन्न वडाका साथै आसपासका ग्रामीण क्षेत्रका बासिन्दालाई आवतजावत गर्न सहज हुने छ।
