काठमाडौं। डिजिटल विज्ञापन र इन्फ्लुएन्सर मार्केटिङलाई व्यवस्थित बनाउने उद्देश्यले एआईमा आधारित नयाँ प्लेटफर्म ‘इनमार्क’ (Inmark.ai) औपचारिक रूपमा सञ्चालनमा आएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको यो प्लेटफर्मले कन्टेन्ट क्रिएटर र व्यावसायिक ब्रान्डहरूबीचको सहकार्यलाई आधुनिक बनाउने दाबी गरेको छ।
विश्वभर ४०० अर्ब डलरभन्दा बढीको आकार ओगटेको क्रिएटर इकोनोमी अझै पनि धेरै हदसम्म म्यानुअल प्रक्रियामा निर्भर छ। यसले गर्दा क्रिएटरहरूले स्पोन्सरसिप पाउन र पारिश्रमिकमा मोलमोलाइ गर्न विभिन्न झन्झट व्यहोर्दै आएका छन्। इनमार्कले डेटा र एआईको प्रयोग गरी यी समस्या समाधान गर्ने र दुवै पक्षलाई सीधै जोड्ने काम गर्नेछ।
कम्पनीका अनुसार यो प्लेटफर्ममा आबद्ध भएपछि क्रिएटरहरूले काम खोज्न समय खर्चिनु पर्दैन। प्लेटफर्मको एआईले क्रिएटरको कन्टेन्ट शैली, पुराना क्याम्पेन र दर्शकको विश्लेषण गरी उपयुक्त ब्रान्डहरूसामु प्रोफाइल पुर्याउनेछ। साथै, स्क्रिप्ट लेखन, कन्टेन्ट अप्टिमाइजेसन, एसईओ तथा स्वचालित रिपोर्टिङमा समेत एआईले सहजीकरण गर्नेछ। यसबाट क्रिएटरहरूले ब्रान्ड सहकार्यमार्फत नियमित आम्दानी गर्न सक्ने कम्पनीले जनाएको छ।
ब्रान्ड तथा मार्केटिङ एजेन्सीहरूका लागि पनि यो प्लेटफर्म प्रभावकारी हुनेछ। ‘एआई फिट स्कोर’का आधारमा ब्रान्डको बजेट र लक्षित दर्शकसँग मेल खाने क्रिएटरहरू सिफारिस हुनेछन्। ब्रान्डहरूले भिडियो वा भ्वाइस नोट रेकर्ड गरेकै भरमा एआईमार्फत क्याम्पेनको ब्रिफ तथा ह्यासट्यागहरू तयार पार्न सक्नेछन्। साथै, सयौँ क्रिएटरले बनाएका कन्टेन्टहरू निर्धारित स्क्रिप्ट अनुसार छन् वा छैनन् भनी एआईमार्फत एकैपटक अडिट गर्न सकिने व्यवस्था गरिएको छ। यसले विज्ञापन सही दर्शकसम्म पुगी लगानीको उचित प्रतिफल सुनिश्चित हुने कम्पनीको दाबी छ। क्रिएटर र ब्रान्ड दुवैले सामाजिक सञ्जाल अकाउन्टमार्फत ‘वान-क्लिक’ लगइन गरी यो सेवा लिन सक्नेछन्।
