काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्रको अन्तरदिवसीय कारोबार (इन्ट्राडे ट्रेडिङ) कार्यान्वयन सम्बन्धी अवधारणा पत्र, २०८३ सार्वजनिक गरेको छ। हाल डेलिभरीमा आधारित रहेको नेपालको शेयर बजारमा तरलता र मूल्य अन्वेषण सहज बनाउन उक्त प्रणालीको प्रस्ताव गरिएको हो।
प्रस्तावित अवधारणा अनुसार सुरुआती चरणमा ‘पहिले खरिद गरी पछि बिक्री गर्ने’ मोडेल मात्र लागू गरिनेछ। ‘पहिले बिक्री गरी पछि खरिद गर्ने’ वा सर्ट सेलिङ जस्ता व्यवस्थाका लागि आवश्यक कानुनी र प्राविधिक पूर्वाधार तयार भएपछि मात्र थप निर्णय गरिने बोर्डले जनाएको छ। इन्ट्राडे ट्रेडिङले बजारमा तरलता बढाउने अपेक्षा गरिए पनि कम तरलता भएका धितोपत्रमा यसले मूल्य अस्थिरता निम्त्याउन सक्ने जोखिम पनि औंल्याइएको छ। त्यसैले, सुरुमा सबै धितोपत्रमा नभई निश्चित मापदण्डका आधारमा ‘योग्य धितोपत्र’ मा मात्र यो प्रणाली लागू गरिनेछ।
लगानीकर्ताको सुरक्षाका लागि जोखिममा आधारित योग्यता निर्धारण गर्दै जोखिम प्रकटीकरण र अभिमुखीकरणलाई अनिवार्य बनाउने प्रस्ताव गरिएको छ। नेपालको बजारका लागि प्रस्तावित ‘नेपाल इन्ट्राडे ट्रेडिङ मोडल’ मा छुट्टै निकाय स्थापना नगरी सेबोन, नेप्से, सिडीएससी, ब्रोकर र बैंकिङ प्रणालीलाई प्रविधिमार्फत एकीकृत गरिनेछ।
नेपालको बजारलाई ‘सशर्त रूपमा तयार’ मानिए पनि ब्रोकरको आरएमएस-ओएमएस प्रणाली, वास्तविक समय निगरानी, साइबर सुरक्षा र कानुनी नियमावलीमा सुधार आवश्यक रहेको बोर्डले उल्लेख गरेको छ। पूर्ण प्रणाली लागू गर्नुअघि सीमित क्षेत्रमा ‘पाइलट परीक्षण’ गरिने र त्यसको नतिजाका आधारमा दायरा विस्तार गरिने योजना छ।
