काठमाडौं। मुक्तिनाथ विकास बैंक र निर्माण उपकरण ‘बुल मेसिन’ को आधिकारिक बिक्रेता अटोवेज प्रालिबीच बुल मेसिन खरिद गर्ने ग्राहकलाई कर्जा सुविधा उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ।
उक्त समझदारी पत्रमा मुक्तिनाथ विकास बैंकका गण्डकी रिजन प्रमुख बाबुराम ढकाल र अटोवेज प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेलले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार बैंकले बुल मेसिनलाई नै धितो राखेर डिलरको इनभ्वाइस मूल्यको ५० प्रतिशतसम्म वित्तीय सुविधा प्रदान गर्न सक्ने जनाइएको छ। यसका साथै, ग्राहकले थप स्थिर सम्पत्ति धितो राखेको खण्डमा बैंकको कर्जा नीतिअनुसार इनभ्वाइस मूल्यको ८० प्रतिशतसम्म कर्जा सुविधा लिन सक्ने व्यवस्था गरिएको छ।
यो सहकार्यले निर्माण व्यवसायमा संलग्न ग्राहकलाई आवश्यक उपकरण खरिद गर्न सहज हुने बैंकले विश्वास लिएको छ।
